बेल्जियमको एन्टवर्प सहर विश्वकै हिरा व्यापार केन्द्रका रूपमा चिनिन्छ, तर अधिकांश कच्चा हिरा भने रुस र अफ्रिकाबाट उत्खनन गरिन्छ । तर, भारतको मुम्बईबाट करिब १५० माइल उत्तरमा खासै चर्चामा नआएको सहर सुरत छ, जसलाई जवाहरतको पनि राजधानी भनिन्छ । यो सहरमा विश्वको करिब ९० प्रतिशत हिरा काटिन्छ ।
अहिले, औद्योगिक राज्य गुजरातको यो सहरमा विशाल र भव्य भवनहरूको निर्माणले पनि नयाँ कीर्तिमानी कायम गर्न थालेको छ । यी विशाल र भव्य भवनहरू विशाल हिरा उद्योगलाई लक्षित गरेर बनाइएका हुन् । हालैबाट सञ्चालनमा आएको ‘सुरत डायमन्ड बोर्स’लाई हिरा काट्ने र त्यसलाई चम्काउने कालिगढ तथा हिराका व्यापारीहरूसहितका ६५ हजारभन्दा बढी हिरा व्यवसायीको ‘वन–स्टप डेस्टिनेस’को रूपमा प्रचार गरिएको छ ।
३५ एकड (करिब २०७ रोपनी)को जमिनमा बनेको यो १५ तले कम्प्लेक्स नौवटा आयातकार संरचनायुक्त छ । कम्प्लेक्सका वस्तुकलाविद्हरूका अनुसार यो भवनमा ७१ लाख स्क्वायर फिट व्यापारिक स्थल उपलब्ध छ, यस हिसाबमा संसारको सबैभन्दा ठूलो कार्यालय भवनको रूपमा रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई पनि यो कम्प्लेक्सले उछिनेको छ । यो परियोजनाको पहिलो कम्प्लेक्स नोभेम्बरसम्ममा पूरै सञ्चालनमा आइसक्ने छ । गुजरातमै जन्मेका र यसअघि त्यहाँको मुख्यमन्त्रीसमेत रहिसकेका प्रधानमन्त्री नरेन्द्र मोदीबाट यसै वर्षको अन्त्यमा कम्प्लेक्सको औपचारिक उद्घाटन गर्ने योजना रहेको छ ।
महँगो सिंगमरमरयुक्त भुइँ र हरेक अफिस स्पेसमा पर्याप्त प्राकृतिक उज्यालो प्रवेश गर्ने गरी डिजाइन गरिएको यो कम्प्लेक्समा ४७ सयवटा अफिस स्पेसका लागि पर्याप्त स्थान रहेको छ, जसलाई सानो खालका साढे आठ हजार वर्कसप कवलमा विकास गर्न सकिन्छ । ३२ अर्ब भारतीय रुपैयाँ (३३ करोड ८० लाख अमेरिकी डलर)मा निर्मित यो कम्प्लेक्समा एक सय ३१ वटा विद्युतीय भर्याङका साथै कामदारहरूका लागि डाइनिङ, खुद्रा बिक्री केन्द्र, वेलनेस सेन्टर, सभा हलसहितका सुविधा उपलब्ध छन् ।
कम्प्लेक्सका वस्तुकलाविद्हरूका अनुसार यो भवनमा ७१ लाख स्क्वायर फिट व्यापारिक स्थल उपलब्ध छ, यस हिसाबमा संसारको सबैभन्दा ठूलो कार्यालय भवनको रूपमा रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई पनि यो कम्प्लेक्सले उछिनेको छ ।
परियोजनाका सिइओ महेश गाढ्भीका अनुसार सुरत डायमन्ड बोर्सको निर्माणसँगै अब हजारौँ मानिसलाई आफ्नो काम गर्न मुम्बईदेखि दिनहुँ रेलमार्फत लामो यात्रा गर्नुपर्नेछैन । ‘हिराको काम वा व्यापार गर्ने मानिसहरूले आफ्नो घरबाट अफिस आउजाउ गर्न दिनहुँ साढे तीनदेखि चार घन्टा खर्च गर्नुपथ्र्याे,’ हिरा व्यवसायलाई सुरतमा स्थानान्तरण गर्ने यस कदमको विस्तार लगाउँदै उनले भने, ‘यो अब राम्रो विकल्प हुनेछ ।’
‘लोकतान्त्रिक’ डिजाइन
डिजाइनको एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि भारतीय आर्किटेक्चर फर्म मोर्फोजेनेसिसले यो कम्प्लेक्स निर्माणको परियोजना हात पारेको थियो । ‘उक्त प्रतिस्पर्धाको उद्देश्य कार्यालय क्षेत्रफलमा पेन्टागनलाई उछिन्ने थिएन,’ गाढ्भीले भने, ‘यो परियोजनाको आकार उद्योगको मागअनुसार निर्धारण गरिएको थियो । कम्प्लेक्सका सम्पूर्ण कार्यालय स्थल हिरा कम्पनीहरूबाट निर्माणअघि नै खरिद भइसकेको छ ।’
भवनको लेआउटले साना र ठूला दुवैखाले व्यवसायका लागि ‘समान सुविधा’ सिर्जना गर्छ । आर्किटेक्चर फर्मका सह–संस्थापक सोनाली रस्तोगीका अनुसार सबै कार्यालय समान रूपले बीचमा अवस्थित सेन्ट्रल करिडोरद्वारा जोडिएका छन् (एयरपोर्ट टर्मिनलको सम्झना दिलाउने कन्फिगरेसनसहित) र डिजाइनमा यहाँका सबैलाई सुविधामा समान पहुँच सुनिश्चित गरिएको छ, । उनी यो कम्प्लेक्सको डिजाइनलाई ‘लोकतान्त्रिक’ डिजाइन भन्छिन् ।
प्रवेशद्वाराबाट कम्प्लेक्सको कुनै पनि भागमा पुग्न सात मिनेटभन्दा बढी नलाग्ने गरी डिजाइन गरिएको छ । गाढ्भीले कार्यालय स्थलको वितरण पनि लोकतान्त्रिक तरिकाले नै गरिएको बताए । ‘कसलाई कुन स्थान दिने भन्ने निर्णयमा चिट्ठा प्रणाली प्रयोग गरिएको थियो,’ उनले भने । मोर्फोजेनेसिसले भारतीय हिरा व्यापार कसरी सञ्चालन हुन्छ भनेर गरेको अनुसन्धानबाट पनि यसको डिजाइन प्रभावित छ । रस्तोगीले साढे एक एकड (करिब १३ रोपनी) क्षेत्रफलका नौवटा आँगनको निर्माणतर्फ ध्यानाकर्षण गरिन् । हरेक परिसर कुर्सी र वाटर फाउन्टेनले सजिएका छन्, जसलाई व्यापारीहरूले अनौपचारिक भेटघाट स्थलको रूपमा प्रयोग गर्न सक्नेछन् । रस्तोगी यी परिसरलाई ‘परम्परागत हाट बजार’सँग तुलना गर्छिन् ।
‘इमेल अर्डरहरू त निश्चय नै कार्यालयभित्रैबाट गरिन्छन्, तर मानिस–मानिसबीचको अन्तत्र्रिmया लगभग सधैँ नै बाहिर हुन्छ,’ कार्यलय परिसरको वर्णन गर्दै उनले भनिन्,’ यी परिसर सार्वजनिक पार्कजस्तै छन् ।’
रूपान्तरणको योजना
भीमकाय यो भवनवरपर अहिले उल्लेखनीय रूपमा थोरै तलाका भवन मात्रै रहेको सुरत डायमन्ड बोर्सको हवाई तस्बिरले देखाउँछ । तर, ७० लाख मानिसको बसोवास रहेको यस ड्रिम सिटीको यो चिनारी अब परिवर्तन हुन सक्छ । प्रधानमन्त्री मोदीले सार्वजनिक रूपमा प्रशंसा गरेको यो महत्वाकांक्षी योजनाले दक्षिणी सुरतको लगभग सात सय हेक्टर (करिब २७ सय बिघा)मा एउटा ‘स्मार्ट’ सहर निर्माण गर्ने लक्ष्य राखेको छ । गाढ्भीले यो नयाँ डायमन्ड हबले यो क्षेत्रका महत्वपूर्ण व्यापारिक केन्द्रको रूपमा काम गर्ने बताए ।
मोर्फोजेनेसिसले डिजाइनका कारण यो भवनले ५० प्रतिशत कम ऊर्जा खपत गर्ने दाबी गरेको छ । गुजरातको गर्मीलाई मध्यनजर गर्दै भवनलाई प्राकृतिक रूपले वातानुकूलित हुने गरी डिजाइन गरिएको छ । कम्प्लेक्समा सबैतिर हावाको प्रवाह हुन्छ भने भुइँलाई चिसो राख्न ‘रेडियन्ट कुलिङ’को प्रबन्ध मिलाइएको छ, जसअनुसार भुइँमुनिबाट निरन्तर चिसो पानी प्रवाहित भइरहन्छ । भवनको आधा भागलाई प्राकृतिक भेन्टिलेसनको प्रयोग गरेर वातानुकूलित बनाउन खोजिएको छ भने साझा क्षेत्रहरूलाई सौर्य ऊर्जाले वातानुकूलित राख्नेछन् ।
सिएनएनका लागि ओस्कार हल्यान्डको रिपोर्ट