मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
रेशमबहादुर खड्का जाजरकोट
२o८१ पौष ९ मंगलबार o९:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटका ग्रामीण सडक मर्मत नहुँदा नागरिकलाई सास्ती

Read Time : > 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ पौष ९ मंगलबार o९:३४:oo

जाजरकोटको जुनीचाँदे गाउँपालिकाले ग्रामीण सडक नियमित नगर्दा नागरिकले सास्ती खेप्न बाध्य भएका छन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ग्रामीण सडकहरू मर्मत नगर्दा यहाँका नागरिकहरूले सास्ती खेप्नुपरेकाे छ । मानिस बिरामी हुँदा बाेकेर अस्पताल पुर्‍याउनुपरेकाे छ ।

गाउँपालिकाले ०८१ असोज १४ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर २ अनुसार, गाउँपालिकाभित्रका सडकको सरसफाइ तथा मर्मत दसैँ-तिहारअगाडि नै सम्पन्न गर्न निर्देशन दिएको थियो।

उक्त निर्णयअनुसार प्राविधिक मूल्यांकन गरी लागतअनुसार भुक्तानी दिने र गाउँपालिकाको लोडर प्रयोग गरी अवरोध हटाउने योजना बनाइएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क परियारले समेत सात दिनभित्र सबै सडक सञ्चालनमा ल्याउने दाबीसमेत गरेका थिए।

तर, कार्यपालिकाको निर्णय र प्रशासकीय दाबीविपरीत नरमरा-लुहादह-आदर्श मावि कोर्ताङ सडकखण्ड हालसम्म पनि मर्मत हुन सकेको छैन। आफ्नो पहुँच भएको ठाउँमा मात्र सडक नियमित गरे पनि यस क्षेत्रमा अहिलेसम्म स्थानीय सरकारको लापरबाहीले यस क्षेत्रका नागरिक अहिले सास्ती खेप्न बाध्य भएको जुनीचाँदे- ४ का दीपक खड्काले बताए ।

करिब तीन किलोमिटर लामो यो सडकखण्ड मर्मत अभावले जुनीचाँदे गाउँपालिका ४, ११, ८, ७, र ५ का नागरिकलाई सास्ती झेल्न बाध्य भएको जुनीचाँदे गाउँपालिका- ४ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए । सडक मर्मतका लागि वडाले छुट्याएको चार लाख रुपैयाँ खर्च गर्न गाउँपालिकाले नदिएको उनको गुनासो छ।

स्थानीय तहले गरेको यो व्यवहारलाई वडाध्यक्ष खड्काले नियोजित अवरोधको संज्ञा दिएका छन्। वर्षौँदेखि बाटोको पर्खाइमा रहेका नागरिक सरकारको उदासीनताबाट निराश रहेको उनको भनाइ छ । फरक आस्थाको आधारमा गाउँपालिकाले विकास निर्माणमा प्रतिशाेध साधेको उनको आरोप छ ।

सडक मर्मतका लागि असोजदेखि आग्रह गर्दासमेत गाउँपालिकाको अटेरीले सर्वसाधारण, ज्येष्ठ नागरिक, बिरामी र सुत्केरीहरूलाई घण्टौँ पैदल यात्रा गर्न बाध्य भएको अध्यक्ष खड्काको भनाइ रहेको छ। उनले गाउँपालिकाकाे नेतृत्वलाई चेतावनी दिँदै भने, ‘घरमा उत्पादित भट्ट, टिमुर, घिउ र खसी बेचेर गाडीमा यात्रा गर्ने नागरिकहरूको अधिकार सुनिश्चित होस् ।’ नागरिकहरू अझै पनि बाटो खुल्ने आसमा छन्। चर्को जनविरोधका बाबजुद सरोकारवाला निकायहरू कानमा तेल हालेर बसेकोप्रति नागरिक आक्रोशित छन्।