मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार o८:४३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंमा ५० प्रतिशतले बढ्यो अपराध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार o८:४३:oo

बैंकिङ कसुरसम्बन्धी अपराध शतप्रतिशतले वृद्धि, एकै वर्ष सात हजारभन्दा बढी बैंकिङ कसुर 

काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा ९१ प्रतिशतले बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा पछिल्लो एक वर्षमा दर्ता भएका अपराध तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा काठमाडौंपरिसरमा मात्रै बैंकिङ कसुरसम्बन्धी अपराध सात हजार एक सय एक दर्ता भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा त्यस्ता अपराध तीन हजार सात सय १५ दर्ता भएका थिए । यो संख्या अघिल्लो वर्षको भन्दा ९१.१४ प्रतिशतले बढी हो । 

काठमाडौंभित्र भएका कुल अपराध संख्या विश्लेषण गर्ने हो भने बैंकिङ कसुरसम्बन्धी अपराधको हिस्सा ४७.२५ प्रतिशत हुन आउँछ । वर्ष दिनमा काठमाडौंभित्र मात्रै कुल १३ हजार चार सय ६४ अपराध भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौंमा बैंकिङ कसुरसँग सम्बन्धित अपराध चुनौतीको विषय बनेको बताए । उनले भने, ‘विगतका वर्षको तुलनामा बैंकिङ कसुरसँग सम्बन्धित अपराध ९१ प्रतिशतले बढेको देखिन्छ । कुल अपराध तथ्यांकसँग तुलना गर्दा यसको हिस्सा झन्डै ५० प्रतिशत रहेको देखिन्छ ।’

परिसरको तथ्यांकअनुसार काठमाडौंमा चोरीका घटना विगतको तुलनामा बढे पनि ठगीसँग सम्बन्धित कसुर भने नाटकीय ढंगले घटेको छ । गत वर्ष काठमाडौंमा चोरीका चार सय ६० घटना भएका थिए । यो संख्या बढेर यस वर्ष ६ सय ४७ पुगेको छ । यो गत वर्षको तुलनामा ४०.६५ प्रतिशतले बढी हो । तर, ठगीका घटना भने गत वर्षको तुलनामा ४९.०१ प्रतिशतले कम हो । गत वर्ष ठगीका आठ सय १२ घटना भएका थिए । जबकि यस वर्ष यस्ता घटना घटेर चार सय १४ मा मात्रै छ । 

काठमाडौं परिसर प्रमुख एसएसपी कार्कीले भने, ‘चोरीका घटना बढेका छन् । तर, ठगीसँग सम्बन्धित घटना भने घटेको देखिन्छ । यस विषयमा प्रहरीले अध्ययन गरिरहेको छ ।’

काठमाडौंमा सुविधासँगै अपराधको ग्राफ पनि नाटकीय ढंगले उकालो लागेको देखिएको छ । काठमाडौंपरिसरको तथ्यांक विश्लेषण गर्दा काठमाडौंभित्र अपराधका घटना गत वर्षको तुलनामा करिब ५० प्रतिशतले बढेको छ । गत वर्ष काठमाडौंपरिसरमा अपराधका आठ हजार नौ सय ७७ घटना मात्रै दर्ता भएका थिए । तर, यस वर्ष बढेर १३ हजार चार सय ६४ पुगेको छ । यो गत वर्षको तुलनामा ४९.९८ प्रतिशतले धेरै हो । तथ्यांकअनुसार यस अवधिमा विशेष गरी बैंकिङ कसुर, अभद्र व्यवहार, चोरी, लागुऔषध, सवारी ज्यान, साइबर अपराधसँग सम्बन्धित अपराध बढेका छन् ।