मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Wednesday, 18 December, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o श्रावण १ सोमबार o७:५३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ वर्षपछि बैंकहरू प्रतिस्पर्धामा

चार वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेप खोसिने चिन्तामा १५ बैंक, १० ले ब्याजदर घटाउँदा पाँच बैंक तटस्थ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार o७:५३:oo

करिब डेढ वर्षको भद्र सहमति तोड्दै साउनदेखि वाणिज्य बैंकहरू प्रतिस्पर्धामा उत्रिएका छन् । असारसम्म निक्षेपमा एउटै दरमा ब्याजदर पाइरहेका निक्षेपकर्ताले साउनदेखि अलग–अलग दरमा ब्याजदर पाउने भएका छन् । १९ वाणिज्य बैंकहरूमध्ये चारवटाले मुद्दती निक्षेपमा ब्याजदर बढाएका छन् । सीमित बैंकहरूले ब्याजदर बढाउँदा अधिकांश बैंकहरूको निक्षेप खोसिने जोखिम बढेको बैंकरहरू बताउँछन् । यसरी सीमित बैंकहरूमा निक्षेप थुप्रिएमा बाँकी बैंकहरूलाई तरलता व्यवस्थापन र कर्जाको ब्याजदर घटाउन सकस पर्ने उनीहरूको भनाइ छ । 

भद्र सहमतिलाई स्थगन गरेर बैंकहरू प्रतिस्पर्धामा जानु सकारात्मक भए पनि ब्याजदरको स्थायित्व पुनः संकटमा पर्ने जोखिम बढेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । ‘धेरैपछि बैंकहरू प्रतिस्पर्धामा गएको ठीक हो । तर, अब ब्याजदर घट्ने बजारको जुन अपेक्षा थियो, त्यो पूरा नहुने जोखिम बढ्यो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घटाउने बैंकहरूलाई कर्जाको ब्याजदर घटाउन मद्दत त पुग्ने भयो । तर, बढी ब्याजदर दिने सीमित बैंकहरूमा निक्षेप थुप्रिने भयो । निक्षेपको ब्याजदर सस्तो बनाउने बैंकहरूलाई कर्जाको ब्याजदर घटाउन झनै समस्या पर्ने देखिन्छ ।’
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल भने ब्याजदरलाई सकेसम्म बजारमै छाड्नुपर्ने बताउँछन् । विगतमा ब्याजदरलाई स्थायित्व दिन भद्र सहमति गर्नुपर्ने बाध्यता थियो भने अहिले सहज हुँदै गइरहेको अवस्थामा बजारमा छोड्नु स्वाभाविक भएको उनको भनाइ छ । 

०७५ मा निक्षेप खोसाखोस हुने स्थिति बनेपछि तत्कालीन गभर्नर चिरञ्जीवी नेपालले बैंकका सिइओहरूलाई बोलाएरै ध्यानाकर्षण गराएका थिए । ०७५ पुससम्ममा मुद्रास्फीति ४.६ प्रतिशतसम्म पुगेको थियो । मुद्रास्फीति न्यून रहेको समयमा पनि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गरेर १० देखि १३ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकले बैंकरहरूलाई सतर्क गराएको थियो । केन्द्रीय बैंकबाट चासो बढेपछि बैंकरहरूले ब्याजदरमा मिलेमतो गर्ने भद्र सहमति गरे ।  दाहाल भन्छन्, ‘ब्याजदर सकेसम्म बजारलाई नै छाड्ने हो । अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग चार खर्ब २० अर्बको कर्जा प्रवाह गर्ने क्षमता छ । 

केही बैंकहरूलाई ब्याजदर बढाएर निक्षेप आकर्षित गर्ने ठूलो अवसर प्राप्त भएको छ ।’ राष्ट्र बैंकले प्रत्येक महिना मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दा अघिल्लो महिना सबै वाणिज्य बैंकले दिएको ब्याजदरको औसतमा १० प्रतिशत मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।  

 चार वाणिज्य बैंकले ब्याजदर बढाए
ब्याजदर बढाउनेमा एनएमबि बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक र कुमारी बैंक छन् । सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकले मुद्दती निक्षेपमा १०.९८ प्रतिशतसम्म दिएको छ ।  मुद्दती बचतमा ब्याजदर बढाउनेमा दोस्रोमा एनआइसी एसियाले १०.९३६ प्रतिशतसम्म दिएको छ । तेस्रो स्थानमा रहेको नबिलले अधिकतम १०.४९ प्रतिशत ब्याजदर दिने भएको छ । कुमारी बैंकले १०.०१ प्रतिशत पुर्‍याएको छ । रेमिट्यान्स मुद्दती खातामा निक्षेप जम्मा गरेमा बैंकहरूले १ प्रतिशत विन्दुका दरले थपेर ब्याजदर दिनेछन् ।

साधारण बचत खातामा दिने ब्याजदरमा चार वाणिज्य बैंकहरूले वृद्धि गरेका छन् । साबिकमा सबै वाणिज्य बैंकहरूले ७.४ प्रतिशत दिइरहेका थिए । सबैभन्दा बढी एनआइसी एसियाले ८.०७३ प्रतिशतसम्म पुर्‍याएको छ । त्यसपछि एनएमबि बैंकले ७.९८ प्रतिशत, नबिल बैंकले ७.९ प्रतिशत प्रभु बैंकले ७.५ प्रतिशत पुर्‍याएको छ । 

 पाँच बैंक तटस्थ
मुद्दती खातामा दिने ब्याजदरमा पाँच वाणिज्य बैंक तटस्थ देखिएका छन् । मुद्दती खातामा ब्याजदर यथावत् राख्नेमा लक्ष्मी सन्राइज बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक र नेपाल इनभेष्टमेन्ट मेगा बैंक हुन् । उनीहरूले साबिकको ९.९९ प्रतिशतलाई नै निरन्तरता दिएका हुन् ।साधारण बचतको ब्याजदर यथावत् राख्नेमा कुमारी बैंक, लक्ष्मी सन्राइज बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंक छन् । उनीहरूले ७.४ प्रतिशतको ब्याजदरलाई नै निरन्तरता दिएका हुन् । 

 १० बैंकले घटाए ब्याजदर
साउनदेखि लागू हुने गरी १० वाणिज्य बैंकले निक्षेपमा ब्याजदर घटाएका छन् । मुद्दती निक्षेपमा ब्याजदर घटाउनेतर्फ सानिमा बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । 

अत्यधिक ब्याजदर घटाउनेमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड छन् । यी तीनवटै बैंकहरूले १० प्रतिशतका दरले ब्याजदर घटाएका हुन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर अधिकतम ८.९९ प्रतिशत कायम भएको छ भने स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर ८.९५ प्रतिशत पुगेको छ । 

माछापुच्छ्रे बैंकले ९.९० प्रतिशतले ब्याजदर घटाएर अधिकतम ब्याजदर ९ प्रतिशत कायम राखेको छ । सानिमा बैंकको अधिकतम ब्याजदर ९.५२ प्रतिशत छ । कृषि विकास बैंकले ४.८ प्रतिशतले ब्याजदर घटाएर ९.५१ प्रतिशत कायम गरेको छ । प्रभु बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले ४.९ प्रतिशतले ब्याजदर घटाएर ९.५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, हिमालयन बैंकले ५ प्रतिशतले ब्याजदर घटाएर ९.४९ प्रतिशत कायम गरेको छ । 

साधारण बचततर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले १० प्रतिशतभन्दा बढी दरले ब्याजदर घटाएका छन् । स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर १२.८३ प्रतिशतले घटेर ६.४५ प्रतिशत कायम भएको छ भने नेपाल एसबिआई बैंकको ब्याजदर १३.५१ प्रतिशतले घटेर ४ प्रतिशत कायम भएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर भने १० प्रतिशतको सीमामै रहेर घटाइएको छ । एभरेष्ट बैंकले ८.७८ प्रतिशतले ब्याजदर घटाएर ६.७५ प्रतिशत कायम गरेको छ भने माछापुच्छ्रे बैंकले ७.४३ प्रतिशतले घटाएको छ । 

बचत खातामा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको एउटै दरमा ब्याज पाइन्छ । उनीहरूले ५.४० प्रतिशतले ब्याजदर घटाएर ७ प्रतिशतको ब्याजदर कायम गरेका छन् । सानिमा बैंकले २.७ प्रतिशतले ब्याजदर घटाएर ७.२ प्रतिशत कायम गरेका छन् ।