मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Thursday, 19 December, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८o असार ३१ आइतबार o९:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रशोधित तेलको निर्यात दुईतिहाइ घट्यो 

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार o९:o९:oo

सात वर्षमा साढे तीन खर्बको कच्चा तेल आयात हुँदा सवा दुई खर्बको प्रशोधित तेल निर्यात

नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा स्वात्तै घटेको छ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालको कुल निर्यातमा प्रशोधित तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल)को हिस्सा झन्डै दुईतिहाइले घटेर १९.७९ प्रतिशतमा झरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा करिब ५१ प्रतिशत थियो । 

पछिल्ला ६ वर्षमा प्रशोधित तेलको निर्यात उच्चदरमा वृद्धि हुँदै करिब ६० प्रतिशतसम्म हिस्सा ओगटेको थियो । तर, चालू आर्थिक वर्षमा भने प्रशोधित तेलको निर्यात तीव्र रूपमा घटिरहेको छ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले २८ अर्ब ४२ करोडबराबरको प्रशोधित तेल निर्यात गरेको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा ६१ अर्ब ७४ करोडले कमी हो । आर्थिक वर्ष ०७८/७९ को ११ महिनामा नेपालले ९० अर्ब १६ करोडबराबरको प्रशोधित तेल निर्यात गरेको थियो । 

प्रशोधित तेलको निर्यात उच्चदरमा घटेसँगै कुल निर्यातमा यसको हिस्सासमेत घटेको हो । चालू आवको ११ महिनामा कुल निर्यात २२.७ प्रतिशतले घटेको छ । तर, प्रशोधित तेलको निर्यात भने औसत ७४.२६ प्रतिशतले घटेको छ । यो ११ महिनामा गएको आवको सोही अवधिको तुलनामा पामतेलको निर्यात ५० प्रतिशतल, भटमासको तेल ८१.८ प्रतिशत र सूर्यमुखी तेलको निर्यात ९१ प्रतिशतले घटेको छ । प्रशोधित तेलसँगै कुल निर्यातसमेत घटेपछि निर्यातको वास्तविक चित्र देखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘प्रशोधित तेलले निर्यात सुन्निएको थियो,’ उनले भने, ‘प्रशोधित तेलको निर्यात घटेपछि हाम्रो निर्यात साइजमा आउन थालेको छ ।’ नेपालमा मूल्य अभिवृद्धि अत्यन्तै न्यून हुने भएकाले प्रशोधित तेलको निर्यात घट्दा त्यसले ठूलो प्रभाव नपार्ने उनको भनाइ छ । 

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)का कार्यकारी निर्देशक शरदविक्रम रानाले प्रशोधित तेलको निर्यात दिगो नभएकै कारण अस्थिर भइरहेको बताए । ‘प्रशोधित तेल कच्चा पदार्थमा आधारित होइन, करमा पाउने छुटको लाभ उठाएर त्यो निर्यात भइरहेको थियो,’ उनले भने, ‘त्यसैले अन्य देशले लिने नीतिले यसको निर्यात प्रभावित हुन्छ, कहिले घट्छ कहिले बढ्छ ।’ खासै मूल्य अभिवृद्धि नहुने भएकाले त्यसबाट नेपाललाई ‘व्यापार सन्तुलनको देखाउने अंक’बाहेक अरू लाभ नभएको उनले बताए ।  

नेपालले इन्डोनेसिया, मलेसियालगात तेस्रो मुलुकबाट कच्चा पदार्थ (क्रुड आयल) ल्याएर प्रशोधन गर्दै भारत निकासी गर्ने गरेको छ । भारतमा अन्य मुलुकबाट भन्दा नेपालबाट निकासी गर्दा भन्सार कम लाग्ने भएकाले भारतीय र नेपाली व्यवसायीले त्यसको लाभ उठाइरहेका छन् । नेपालमा करिब २० प्रशोधित आयल उद्योग छन्  । 

प्रशोधित तेलको व्यापारमा घाटा
नेपालले प्रशोधित तेलको व्यापारमा पनि घाटा व्यहोर्दै आएको छ । पछिल्ला सात वर्षमा नेपालले तीन खर्ब ६३ अर्ब रुपैयाँबराबरको क्रुड (कच्चा) तेल आयात गरेको छ । सोही अवधिमा नेपालले दुई खर्ब ३० अर्बबराबरको प्रशोधित तेल निर्यात गर्न सकेको छ । यस अवधिमा नेपलालाई पाम, सोया र सूर्यमुखी तेलको व्यापारमा एक खर्ब ३३ अर्ब नोक्सान भएको देखिन्छ । 

चालू आर्थिक वर्ष ०७९/८० मा पनि नेपालले प्रशोधित तेलमा ठूलो व्यापार घाटा व्यहोरिरहेको छ । चालू आवको ११ महिनामा नेपालले ७५ अर्ब ४२ करोडबराबरको क्रुड आयाल आयात गरेको छ । यस अवधिमा नेपालले २८ अर्ब ४२ करोडको प्रशोधित तेल निर्यात गरेको छ । जसबाट नेपाललाई ४७ अर्ब नोक्सान भएको छ ।