
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताएका हुन्। दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने जहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ थियो।
‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरू निर्माण भएका छन् । तर, त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने जहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन,’ उनले भने।
निजी क्षेत्र दुर्गममा उडान सञ्चालन गर्न आकर्षित नदेखिएकाले नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको प्रस्ट पारे। कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने कुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै उनले आफूले प्रचलित कानुनअनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए।