मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Thursday, 19 December, 2024
चिरञ्जीवी घिमिरे माङसेबुङ (इलाम)
२o८o असार २७ बुधबार o७:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्खा लागेपछि खानेपानीको संकट

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, माङसेबुङ (इलाम)
नयाँ पत्रिका
२o८o असार २७ बुधबार o७:o१:oo

इलाम माङसेबुङ– ५ भालुटारकी कविता सेलिङ होटेल व्यवसाय गर्छिन् । उनलाई दैनिक करिब पाँच सय लिटर पानी आवश्यक पर्छ । हिउँदमा पुरानो धाराबाट पानी आउँछ । तर, बर्खा लाग्नेबित्तिकै भेल पसेर कहिले धारा बिग्रन्छ त कहिले धमिलो पानी आउँछ । बर्खा लागेपछि पानी बोक्नुको विकल्प रहँदैन ।

झन्डै १५ मिनेटको दूरीमा रहेको मुहानमा गएर पानी बोक्नुपर्ने बाध्यता रहेको सेलिङले बताइन् । ‘हाम्रा लागि सबैभन्दा समस्या खानेपानीको छ । हरेक बर्खामा खानेपानीको समस्या हुने गरेको छ,’ उनले भनिन् । ‘कहिलेकाहीँ धारामा आउने धमिलो पानी र आकाशबाट आएको पानी शौचालयमा प्रयोग गर्छौँ । खानका लागि झन्डै १० गाग्री पानी दिनहुँ बोक्नुपर्छ ।’

माङसेबुङ– ५ मा बर्खा लागेसँगै खानेपानी अभाव सुरु भइसकेको छ । चार दशकअघिदेखि विभिन्न संघसंस्थाको सहयोगमा मुहानबाट पाइपको माध्यमबाट तानिएको खानेपानी बर्खा लाग्नेबित्तिकै मुहानमा भेल पस्ने गरेको छ । जसका कारण खान योग्य पानी आउँदैन । लेदोसहितको पानी आउँदा समस्या हुने गरेको स्थानीय मनमाया लिम्बू बताउँछिन् । बर्खा लागेपछि पानी बोकेर खानुपर्ने उनको भनाइ छ । ‘पानी पर्नेबित्तिकै मुहानमा भेल पस्छ । बनायो, फेरि उस्तै हुन्छ । बर्खामा त हामीलाई साह्रै समस्या हुन्छ,’ उनले भनिन्, ‘गाउँमा युवा छैनन् । सबै विदेशतिर कि त सहरतिर छन् । पानी बनाउन जाने मान्छे पनि पाइँदैन ।’

माङसेबुङ– ५ र यो वडाको सीमामा रहेको माङसेबुङ– ३ नम्बरको तल्लो भेगमा खानेपानीको चर्को अभाव रहेको माङसेबुङ– ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए । बर्खाको समयमा खानेपानी अभाव हुँदा स्थानीयले पुराना कुवा, खोला, खोल्सी र मुहानबाट पानी खाइरहेको उनले बताए । ‘दमक–चिसापानी सडक समयमा निर्माण नसकिँदा त्यहाँको लेदो हाम्रो मुहानमा पुग्ने गरेको छ । त्यो लेदोका कारण बर्खामा खानयोग्य पानी आउँदैन । घरसम्मको धारामा लेदो नै आउँछ,’ उनले भने, ‘बर्खामा त पानीको असाध्यै दुःख हुन्छ । वडाले पुराना कुवा संरक्षण गरेको छ । त्यसबाट डोकोमा उकालोमा पानी बोकेर खानुपर्ने बाध्यता छ ।’ माङसेबुङ– ३ र ५ का स्थानीयको खानेपानी समस्या समाधान गर्न सरकारले रतुवाबाट पम्पिङ खानेपानी आयोजना निर्माण कार्य धमाधम गरिरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका अनुसार माङसेबुङ पम्पिङ खानेपानी योजनाको काम करिब ८० प्रतिशत सकिएको छ । यो खानेपानीले माङसेबुङ– ३ र ५ का एक हजार ६५ घर लाभान्वित हुने आयोजनाले जनाएको छ । यो आयोजनाअन्तर्गत रतुवा खोलाबाट चार किलोमिरटर माथि लगेर खानेपानी वितरण गरिनेछ । 

२४ असार ०७८ मा १३ करोड ३९ लाखमा स्वामीनारायण निर्माण सेवाले ठेक्का लिएको यो खानेपानी आयोजना ३० पुस ०८० सम्म सम्पन्न गर्नुपर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम इन्जिनियर रूपक पराजुलीले जानकारी दिए । ‘यो खानेपानी आयोजना समयमै सम्पन्न हुन्छ । आउँदो पुससम्म उपभोक्ताको घरघरमा खानेपानी पुग्छ,’ उनले भने, ‘८० प्रतिशत काम सकिएको छ र यसवेला पानी परीक्षण गर्नुपर्ने थियो । तर, बर्खाका कारण बाटो बि(ग्रिएकाले परीक्षण गर्न सकेका छैनौँ ।’