१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हिउँदमा भरिभराउ हुने होमस्टे बर्खाका कारण सुनसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१२:oo

पर्यटकको चहलपहल हुने लमजुङका होमस्टे गाउँ बर्खाका कारण यतिवेला सुनसान छन् । नेपालकै पहिलो स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा केही दिनअघिसम्म पनि दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेका थिए । तीन सातायता भने पर्यटक आगमन स्वात्तै घटेको घलेगाउँ पर्यटन व्यवस्थापन समीतिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनका अनुसार अहिले दैनिक ५–७ जना मात्र पर्यटक आउने गरेका छन् । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव दर्घ घलेले असार महिनाको सुरुवातदेखि गाउँमा पर्यटकको चहलपहल छैन । होमस्टेसम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने भएकाले यात्रा कठिन हुनुका साथै अन्य विभिन्न समस्याका कारण पर्यटकलाई सास्ती हुने भएकाले पर्यटक आवागमन घटेको हो । 

यस्तै, सदरमुकामबाट नजिकै रहेको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन घटेको होमस्टे सञ्चालक कवीन्द्र गुरुङले बताए । उनले भने, ‘असार लागेसँगै पर्यटक आगमन घट्न थालेको हो । अहिले त दैनिक ५–१० जनामा सीमित भएको छ ।’ 

त्यस्तै, जिल्लाको राइनासकोट सामुदायिक होमस्टेमा पर्यटक आगमन संख्यामा कमी आएको छ । ‘बर्खाकै कारण पर्यटक आउन छाडे,’ होमस्टे सञ्चालक विष्णु गुरुङले भनिन्, ‘एक महिनाअघि मात्रै गाउँमा घुम्न र फोटो खिच्न आउने पर्यटकको भिड लाग्ने गथ्र्यो ।’ उनका अनुसार दैनिक ४०–५० जना पर्यटक आउने राइनासकोटमा अहिले ९–१० जना मात्र पर्यटक आउने गरेका छन् । 

बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि जिल्लाका पर्यटकीय गाउँ सिउरुङ, भुजुङ, खासुर, भुष्मे, नरुवाल, तुर्लुङकोट, घनपोखरा, पसगाउँ, मिप्रालगायत गाउँका होमस्टे पनि सुनसान भएका छन् । 

बर्खायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य अवलोकनमा स्पष्टता नहुनेलगायतका कारण असार लागेदेखि जिल्लामा सञ्चालित पर्यटकीय गाउँहरू सुनसान भएको होमस्टे सञ्चालकहरू बताउँछन् । 

ad
ad