१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २३ शनिबार o७:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली भन्छन्–मैले सार्वजनिक गराएर भेटेँ, प्रचण्डले गोप्य मन्त्रणा गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २३ शनिबार o७:५६:oo

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई सार्वजनिक जानकारी गराएर भेटेको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमणका क्रममा गरेको भेट गोप्य राखेको आरोप लगाएका छन् । आफूले ‘रअ’का तत्कालीन प्रमुख सामन्त गोयलसँग भेट्दा देशहितबारे आफूले कुराकानी गरेको, तर प्रधानमन्त्री प्रचण्डले दिल्लीमा गोप्य मन्त्रणा गरेर पनि देश र जनतालाई लुकाएको ओलीको आरोप छ । 

‘भारतबाट ‘रअ’का प्रमुख आएर मसँग भेट्छु भनेँ, नेपाल आएर भेट्छु भन्दा मैले भेट दिएँ, त्यो कुरा कुनै गोप्य होइन, मैले सार्वजनिक ढंगले भेटेँ, सार्वजनिक ढंगले कुरा गरेँ, सार्वजनिक ढंगले फिर्ता गरेँ,’ शुक्रबार अनेरास्ववियुको कार्यक्रममा ओलीले भने, ‘यसपटक प्रचण्डजी दिल्ली जानुभो, उनको निवासमा भेटेर गोप्य मन्त्रणा गरेर आउनुभो । उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभो ? उहाँ भेटेको कुरा पनि स्वीकार गर्न सक्नुहुन्न ।’

ओली प्रधानमन्त्री हुँदा मध्यरातमा गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । त्यसलाई लिएर तत्कालीन नेकपामा बबन्डर भएको थियो भने नेपालको राजनीतिमा संसद् विघटनलगायतका असर पनि देखिएका थिए । माओवादी नेता कृष्णबहादुर महराले बिहीबार निकालेको विज्ञप्तिमा मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर ओलीले पटक–पटक संसद् विघटन गरेको आरोप लगाएका थिए । 

त्यसैबीच ओलीले भारतीय नागरिक प्रितम सिंहको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको विषय संसद्मै ‘फेस’ गर्ने सत्तारूढ गठबन्धनको निर्णयलाई गठबन्धनले चुनौतीको भाषा बोलेर भिड्न खोजेको आरोप लगाए । ‘राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाइएको छ । हामीले राजीनामा माग गर्‍यौँ । संविधान र संसद्को अपमान भयो । सार्वभौमसत्ताको मजाक उडाइयो अति भयो भनेर । यो कुरा मामुली कुरा होइन,’ ओलीले भने, ‘उहाँहरूले वार्ता गर्छौँ भन्नुभएन, सामना गर्छौँ भन्नुभएको छ । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु– सत्तापक्ष पार्लियामेन्टमा मात्रै होइन । जहाँ भन्छ त्यहीँ तयार छौँ । जहाँ भन्छ त्यहीँ । स्पट तोकेर बोलाए हुन्छ ।’

ओलीले सिंहलाई अनावश्यक रूपमा मुछेर प्रधानमन्त्रीले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि प्रहार गरेको आरोप पनि लगाए । ‘भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन,’ ओलीले भने, ‘दिल्लीले भन्दैन, तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् ।’