विशेष अदालतले शुक्रबार गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका दुई प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।
नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले र उनकी श्रीमती सुशीला काफ्लेले सफाइ पाएका हुन् । मुद्दा दायर भएको तीन वर्षपछि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबीबमोजिम कसुर कायम नहुने फैसला गरेको हो ।
अख्तियारले २७ जेठ ०७७ मा मुद्दा दायर गरेको थियो । काफ्ले ०५४ पुसमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता ०७६ वैशाखसम्मको सम्पत्ति छानबिन गर्दा गैरकानुनी आर्जन गरेको भेटिएको थियो ।
उनले भक्तपुर र काभ्रेपलाञ्चोकमा आफू र श्रीमतीका नाममा ३३ कित्ताभन्दा बढी जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । उक्त जग्गा खरिद गर्दा रजिस्ट्रेसन लिखतमा न्यून रकम देखाई जग्गाधनीहरूलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख थियो ।
जग्गा बिक्रेताहरूले अनुसन्धानका क्रममा दिएको बयान र भुक्तानीका लागि प्रयोग भएका चेक तथा बैंक स्टेटमेन्टबाट सो कुरा पुष्टि भएको दाबी गरिएको थियो । यस क्रममा पाँच करोड ४३ लाख रुपैयाँभन्दा ठूलो रकमबराबर भ्रष्टाचार भएको अभियोग दाबी सरकारी पक्षको थियो ।
काफ्लेदम्पतीको वैध आय एक करोड ७४ लाख हुनुपर्नेमा व्यय भने सात करोड १७ लाखभन्दा बढी देखिएको थियो । उनीहरूले अवैध आय गरी अस्वाभाविक जीवनयापन गरेको र अमिल्दो आर्जन देखिएको भन्दै मुद्दा चलाइएको थियो । जसमा दुवैजनाले सफाइ पाएका हुन् ।