१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १७ आइतबार ११:५८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा आत्मविश्वास  बढाउने केही उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार ११:५८:oo

आत्मविश्वास भएकाहरू सधैँ नयाँ चुनौती स्विकार्न, नयाँ प्रयोग गर्न र असफलतामा पनि सम्हालिन तयार हुन्छन् । त्यसैले हरेक अभिभावक आफ्ना बच्चा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । 

बालबालिकाको मनोविज्ञानबारे धेरै पुस्तक लेखिसकेका मनोविद् कार्लहार्डट भन्छन्, ‘आत्मविश्वासको कमी भएका बच्चाहरू नयाँ प्रयोग गर्न वा चुनौती स्विकार्न चाहँदैनन्, किनकि, उनीहरू असफल भइने वा अरूलाई असर गर्ने कुराले तर्सिरहेका हुन्छन् ।’ 

बच्चालाई आत्मविश्वासी बनाउनका लागि अभिभावकले केही कुरामा ख्याल गर्नुपर्ने हुन्छ । पहिलो कुरा, उनीहरूलाई बेहिसाब माया गर्नुपर्छ । जब अभिभावकले अति माया गर्छन्, तब बच्चामा पनि आत्मविश्वास विकास हुन्छ । जस्तोसुकै नयाँ काम गर्दा पनि कसैले गाली गर्दैन भन्ने पर्छ । नयाँ चुनौती र कामका लागि तयार हुन्छन् । 

बालबालिकाले के गर्दै छन् भन्नेबारे जानकार हुनु राम्रो हो । तर, उनीहरूलाई अति निगरानीमा राख्नु पनि राम्रो हुँदैन । उमेर बढ्दै गएपछि बिस्तारै उनीहरूलाई केही न केही काममा संलग्न गराउँदै लैजानुपर्छ । उनीहरूका सबै जिम्मेवारी अभिभावकले मात्रै काँधमा लिएर पनि हुँदैन । कुनै कुरामा उनीहरूलाई अप्ठ्यारो परे तपाईंको सहयोग माग्नु स्वाभाविक हो । तर, कुनै कुरा गर्न नसक्दा वा बिग्रँदा पनि त्यसबाट उनीहरूले केही न केही सिकेका हुन्छन् । त्यसैले उनीहरूलाई आत्मनिर्भर बनाउने कुरामा जोड दिनुपर्छ । सानैदेखि ब्रस गर्ने, हात धुनेलगायत काम आफैँ गर्न उत्प्रेरित गर्नुपर्छ । 

बच्चाले गरेका कामको प्रशंसा गर्न सक्नुपर्छ । कहिलेकाहीँ तपाईंलाई नराम्रो लागेका कुरा सीधै भनिदिँदा उसले गलत बुझ्न सक्छ र आत्मविश्वास कम हुन सक्छ । उदाहरणका लागि भर्खरै स्कुल गएको एउटा बच्चाले आफूले बनाएको चित्र बोकेर बाबुलाई देखाउन ल्याउन सक्छ । यो चित्र राम्रो नहुन पनि सक्छ । तर, तपाईंले त्यसलाई नराम्रो भन्नु हुँदैन । राम्रो छ भने प्रशंसा गर्नुपर्छ । प्रशंसासँगै चित्रकलालाई थप कसरी राम्रो बनाउन सकिन्छ भनेर उसलाई सिकाउन पनि सकिन्छ । वा, उसले आफैँ भविष्यमा सुधार गर्ने आशा राख्न सकिन्छ । 

बच्चाहरू धेरै जिज्ञासु हुन्छन् । उनीहरूले सोधका कुराले कहिलेकाहीँ अभिभावकलाई झर्को पनि लाग्न सक्छ । तर, त्यसरी झर्को लागेजस्तो व्यवहार देखाउनुहुँदैन । आवश्यक होस् वा अनावश्यक, बच्चाले राखेका हरेक जिज्ञासाको जवाफ दिने कोसिस गर्नुपर्छ । उनीहरूका कुरा नसुन्नु वा आफ्ना कुरा मात्रै सुनाउन खोज्नु राम्रो होइन । यसले बच्चाको भावना र आत्मविश्वास कम गराउन सक्छ । 

बच्चाको पहिलो शिक्षक नै अभिभावक हुन् । जीवनमा सफलता र असफलता चलिरहन्छ भनेर उनीहरूलाई सानैदेखि बुझाउन जरुरी छ । कुनै कुरा असफल भए पनि त्यसलाई सुधार्न र सम्हाल्न सकिन्छ भनेर बुझाउन जरुरी छ । उनीहरूलाई निरन्तर आफ्नो लक्ष्यमा लाग्नका लागि उत्प्रेरित गर्नुपर्छ । 

बच्चाको समग्र विकासमा इन्टरनेट वा मोबाइलको अत्यधिक प्रयोगले पनि समस्या सिर्जना गरिरहेको हुन सक्छ । यसले उनीहरूको कल्पनाशक्तिलाई सीमित गरिदिन्छ, जसकारण उनीहरूको सिर्जनात्मक क्षमता विकास हुन पाउँदैन । त्यसैले उनीहरूलाई सधैँ इन्टरनेट वा मोबाइल चलाउन दिनुहुँदैन । दिनमा थोरै समय मोबाइल चलाउन दिन सकिन्छ । बाँकी समय शारीरिक गतिविधिमा नै संलग्न हुन उत्प्रेरित गर्नुपर्छ ।