मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Wednesday, 18 December, 2024
सिना सुद
२o८o असार १४ बिहीबार १o:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

योगका नाममा हिन्दू सर्वोच्चतावादमाथि ढाकछोप

Read Time : > 2 मिनेट
सिना सुद
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १o:३९:oo

सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्र संघको महासभालाई पहिलोपटक सम्बोधन गर्न आए, तब उनले एक उद्देश्य बोकेका थिए । उनले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस र भारतलाई योगको आध्यात्मिक जन्मस्थलका रूपमा मान्यता दिनुपर्ने प्रस्ताव गरेका थिए । करिब दुई सय राजनीतिक नेतामाझ मोदीले उत्साहपूर्वक ‘(भारतको) पुरातन परम्पराको अमूल्य उपहार’ भन्दै योगको चित्रण गरेका थिए । उनले योगलाई सम्मान गर्दा विश्व शान्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण र विद्यमान सशस्त्र हिंसाविरुद्ध लड्न मद्दत पुग्ने सुझाब दिएका थिए । लगत्तै अर्को वर्ष विश्वले पहिलोपटक योग दिवस मनायो । 

अघिल्लो बुधबार (२१ जुन) राष्ट्र संघले यस वर्षको योग दिवसको नेतृत्व गर्न मोदीलाई आफ्नो मुख्यालयमा स्वागत गरेको छ । प्रश्न उठ्छ, मोदीले भारतको कुन संस्करणलाई संसारमा व्यक्त गरे ? स्वभावतः मोदीले मूलधारकै भारतीय संस्करणको प्रतिनिधित्व गरेका छन् । उनले भारत विश्वकै सबैभन्दा ठूलो धर्मनिरपेक्ष लोकतन्त्र भएको र यसको अर्थतन्त्र द्रुत गतिमा अगाडि बढिरहेको बताएका थिए । अर्थात् बढ्दो अधिनायकवाद, हिन्दू राष्ट्रवाद र जात–आधारित सर्वोच्चतावादले तहसनहस भइरहेको लोकतन्त्रिक भारतको उच्चारण भएन ।

भाजपाका नेता बनेदेखि मोदी र उनका आध्यात्मिक सहयोगीले योगलाई हिन्दू राष्ट्रवाद र दक्षिणपन्थी नीति फैलाउने प्रोपगान्डाका रूपमा दुरुपयोग गर्दै आएका छन् । सरल भाषामा भन्ने हो भने योगलाई मोदीले उत्पीडित अल्पसंख्यकमाथि गरिएको राजनीतिक एवं संरचनागत हिंसा छोप्ने संयन्त्र बनाएका छन् । योग दिवसमा मोदीले विश्वका नेता र योगका अनुयायीसामु आफूले गरेका अत्याचारलाई लुकाएका हुन् । यो ढाकछोपयुक्त तमासालाई म जातीय–राष्ट्रवादी राज्यको हिंसालाई ॐको प्रयोग गरेर लिपपोत गर्ने राजनीति अर्थात् ‘ॐ वासिङ’ भन्न रुचाउँछु । तर, यसलाई विश्वमा योगलाई वास्तविक रूपमै न्याय, एकता र मुक्तिका लागि प्रयोग गर्ने अठोट लिनेहरूमाथिको आक्षेपका रूपमा भने लिनु हुँदैन भन्ने आग्रह गर्छु । 


विश्वशान्तिको ढोंग :  प्राचीन भारतीय संस्कृति ‘वसुधैव कुटुम्बकम्’ हो भन्दै मोदी बारम्बार उल्लिखित यौगिक दर्शनलाई भारतभित्र र विश्व साझेदारमाझ लोकतन्त्रको प्रोत्साहनका लागि मार्गदर्शनका रूपमा लिनुपर्ने बताउँछन् । तर, भारतमै लोकतन्त्र ओरालो लाग्ने क्रममा छ । मोदी सत्तामा आएदेखि नै मुलुकमा मुसलमान, इसाई, दलित र अन्य उत्पीडित अल्पसंख्यकमाथि हुने राज्य–प्रायोजित र भिजलान्ते आक्रमण तीव्र बढेको छ । 

मोदी र उनका आध्यात्मिक सहयोगीले योगलाई हिन्दू राष्ट्रवाद र दक्षिणपन्थी नीति फैलाउने प्रोपगान्डाका रूपमा दुरुपयोग गर्दै आएका छन् 

मोदीले हिन्दू राष्ट्रवादीलाई सीमान्तकृत जनतामाथि आक्रमण गर्ने वैधानिकता मात्रै दिएका छैनन, उनको सरकारले न्यायपालिकालगायत भारतीय लोकतन्त्रका स्वतन्त्र संस्थालाई पनि कमजोर बनाएको छ । विश्वव्यापी रूपमा मोदी सरकारले इजरायल, फ्रान्स र अमेरिकाजस्ता राज्यसँगको सैन्य साझेदारीलाई बलियो बनाएको छ । स्मरण रहोस्, यी राज्य विश्वस्तरमा हुने इस्लामद्वेष र युद्ध राजनीतिमा लगानी गर्ने राज्य हुन् ।  

जलवायु परिवर्तन रोक्ने कसरी ? :  मोदीले योगलाई विश्व तापमान वृद्धिलाई रोक्ने र वातावरणीय दिगोपनालाई प्रोत्साहन गर्ने जन–अभियानको संज्ञा दिँदै सन् २०७० भित्र भारतमा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता जनाएका छन्, सँगसँगै जलावायु योगीलाई आफ्नो व्यवहार परिवर्तन गर्दै योगदान दिन आग्रह गरेका छन् । निश्चय नै योगलाई जलवायु परिवर्तनको प्रतिरोध गर्न प्रयोग गर्न सकिन्छ । तर, मोदीले जीवाश्म–इन्धन उद्योगमा लगानी जारी राख्नु र सैन्यक्षेत्रबाट हुने उत्सर्जनलाई उत्सर्जनका रूपमा सन्धि–सम्झौतामा नमानिने अवस्थामा सेनामा पनि लगानी गर्नुले मोदीको वाचा झुटो हो भन्ने देखिन्छ ।   

जलवायु वैज्ञानिक र वातावरणीय अभियन्ताले जलवायु कहरबाट जोगिन उपभोक्तावादमा आधारित पुँजीवादी अर्थव्यवस्थामा आमूल रूपमा विनिवेश आवश्यक हुने तर्क गर्छन् । तर, मोदी व्यक्तिवादी समाधानका लागि प्रतिबद्ध छन् । अर्थात्, उनी अर्थतन्त्रको संरचनामा आमूल परिवर्तन नगर्ने र ग्रहलाई सक्रिय रूपमा तहसनहस पार्ने कार्यक्रमलाई अगाडि बढाउँदै तथाकथित हरित नीतिलाई समर्थन गरेजस्तो गर्ने आफ्नो एजेन्डालाई पोसिरहेका छन् । 

आतंकवादविरुद्धको लडाइँ :  सन् २०१४ को राष्ट्र संघ भाषणमा मोदीले विश्व नेताले एक ठाउँ आएर ‘आतंकवाद र उग्रवाद’विरुद्ध लड्नुपर्ने बताएका थिए । यद्यपि, मोदी राज्य–अनुमोदित सैन्यवादलाई अदृश्य बनाउने गरी ‘वार अन टेरर’को इस्लामद्वेषी संकथनको प्रयोग गर्छन् ।

अगस्ट २०१९ मा मोदी सरकारले सन् १९४७ पछिको नयाँ भारतको एक मात्र मुसलमानबहुल राज्य जम्मू–कस्मिरको अर्ध–स्वायत्त हैसियतलाई खारेज गरेको थियो । तत्पश्चात् सो क्षेत्रमा तीव्र राजनीतिक दमन भएको थियो, जहाँ राजनीतिक गतिविधिमा प्रतिबन्ध लाग्यो, नेता नजरबन्दमा राखिए, इन्टरनेट अवरुद्ध गरियो र पहिलेदेखि नै अत्यधिक सैन्य परिचालन भएको यस क्षेत्रमा थप सेना तैनाथ गरियो । 

भारतीय सेनाले योगाभ्यास गरिरहेको जवानका तस्बिर सामाजिक सञ्जालमा साझा गरिरहँदा भारतीय सेनाले कस्मिरमा गरेको मानवअधिकार उल्लंघनमाथि लिपपोत भइरहेको थियो । अर्थात्, मोदी र उनका साझेदारले कस्मिरमाथि भारतको कीर्तिमानी नृशंस अत्याचारलाई चोख्याउँदै ॐ वासिङ गरिरहेको प्रस्ट छ । 

टाइम्स स्क्वायर र सामाजिक सञ्जालका मञ्चमा योग दिवसका दिन मोदीको प्रदर्शन प्रत्यक्ष प्रसारण भइरहँदा राजनीतिक रूपमा तटस्थ हजारौँ सहभागी यसमा सामेल हुन सक्छन् भन्ने मलाई लाग्छ । आखिर मोदीसँग योग गर्दा के नै क्षति हुन्छ र ? सहभागिता जनाउँदैमा मोदीको राजनीतिक एजेन्डालाई समर्थन गर्‍यो भन्ने हुँदैन, तर म सहभागीलाई यस्ता कार्यक्रममा सहभागी हुनु भनेको हिन्दू सर्वोच्चतावादी विचारलाई लिपपोत गर्ने मोदीको ॐ वासिङलाई प्रोत्साहन पुग्छ कि भनेर सचेत हुन आग्रह गर्छु । 

(सुद समाजशास्त्री, शिक्षक एवं योग प्रशिक्षक हुन्) अलजजिराबाट