केही महिनामै माइक्रोसफ्टले जुन गतिमा च्याटजिपिटीलाई स्थापित गर्यो, त्यसले कीर्तिमान कायम गरेको छ । ऊ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा १० अर्ब डलर लगानी गर्ने योजनामा छ ।
टेक जायन्ट त्रय माइक्रोसफ्ट, अल्फाबेट र गुगलले हाम्रो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रधान भविष्यलाई आकार दिने गरी नेतृत्वदायी भूमिकामा कब्जा जमाएका छन्, जुन सुखद समाचार होइन । इतिहासले हामीलाई के देखाएको छ भने जब सूचनाको वितरण केही व्यक्तिको हातमा पुग्छ तब त्यसको परिणाम राजनीतिक र आर्थिक दमन एवं शोषण नै हुन्छ । पर्याप्त हस्तक्षेपको अभावमा इतिहास दोहोरिने देखिँदै छ ।
केही महिनामै माइक्रोसफ्टले जुन गतिमा च्याटजिपिटीलाई स्थापित गर्यो त्यसले कीर्तिमानी कायम गरेको छ । ऊ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा १० अर्ब डलर लगानी गर्ने योजनामा छ । गत महिना अल्फाबेट/गुगलका सिइओ सुन्दर पिचाईले इमेल, स्प्रेडसिटलगायत सबै प्रकारका टेक्स्ट मस्यौदा गर्न सक्ने एउटा एआई उपकरण– बार्ड अनावरण गरे । आफ्नो एआई कम्प्युटर कोड साझा गर्ने मेटाको निर्णयले एआईको प्रगतिलाई गति दिन्छ वा दिँदैन भनेर केही चर्चा चलेको भए पनि वास्तविकताचाहिँ के छ भने अल्फाबेट र माइक्रोसफ्टका प्रतिस्पर्धीहरू उनीहरूभन्दा धेरै पछाडि छन् ।
नियमनको अभावमा यी कम्पनीले एकअर्कालाई उछिन्ने प्रयास गरिरहेका छन् । रोजगारी, गोपनीयता र साइबर सुरक्षामा एआईले ठूलो क्षति पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दा यो तथ्य हाम्रा लागि चिन्ताको विषय हो । बेलगाम हतियारको दौडले सामान्यतः नतिजा राम्रो दिँदैन । इतिहासले शक्तिमा को रहने र उसले शक्तिलाई कसरी उपयोग गर्छ भन्नेमा सूचनामाथिको नियन्त्रणको केन्द्रीय भूमिका रहने त बारम्बार उजागर गरेकै छ । शिक्षा महँगो हुँदा प्राचीन मेसोपोटामियामा लेखनको सुरुवाती दिनमा अधिकांश लेखनदास कुलीन परिवारका छोरा नै थिए । मध्ययुगीन युरोपमा पादरी र कुलीनवर्ग साधारण मानिसभन्दा साक्षर हुने सम्भावना धेरै थियो । तिनले यो लाभलाई आफ्नो सामाजिक प्रतिष्ठा र वैधतालाई बलियो बनाउन प्रयोग गरेका थिए ।
औद्योगीकरणसँगै साक्षरतादर पनि बढ्यो । यद्यपि, अखबारहरूले के छाप्ने, रेडियो र त्यसपछि टेलिभिजनबाट के पस्किने भनेर निर्णय गर्नेहरू अत्यन्त शक्तिशाली नै थिए । वैज्ञानिक ज्ञानको उदय र दूरसञ्चारको फैलावटसँगै सूचनाका स्रोतहरू बढे । तथ्यको प्रशोधन र तिनको उपयोगमा थुप्रै प्रतिस्पर्धी तरिका आए । बाहिरी विश्वका सूचना एवं जानकारीको पहुँचले गर्दा अन्ततः पोल्यान्ड, हंगेरी, पूर्वी जर्मनी तथा अन्य तत्कालीन प्रभाव क्षेत्रमाथिको सोभियत नियन्त्रण नष्ट गर्न मद्दत गर्यो ।
सन् १९९० को दशकबाट इन्टरनेटले विचार प्रसार गर्ने कम खर्चिलो उपाय दिएको छ । तर, समयक्रमसँगै सञ्चारका यी च्यानल फेसबुकलगायत केही हातमा केन्द्रित भए । यिनका एल्गोरिदमले राजनीतिक ध्रुवीकरणलाई बढवा दिएको छ भने केही मामलामा जातीय घृणाको ज्वालालाई दन्काएको छ । चीनजस्ता अधिनायकवादी शासनमा यही प्रविधि अधिनायकवादी नियन्त्रणको औजारमा परिणत भयो । एआईको उदयसँगै हाम्रो गति अझ पश्चगामी भएको छ । योकुरा प्रविधिको प्रकृतिसँग पनि केही हदसम्म सम्बन्धित छ । थुप्रै स्रोतको मूल्यांकन गर्नुको सट्टा, मानिस एकल र निश्चित उत्तर प्रदान गर्न नवीनतम टेक्नोलोजीमा भर पर्न थालेका छन् ।
एआई टेक्नोलोजी दुई कम्पनीको हातमा पुगेको छ र यी कम्पनी वैचारिक रूपले ‘मेसिन इन्टेलिजेन्स’को अवधारणामा आधारित छन, जुन सोचले कम्प्युटरसँग निहित केही विशिष्ट गतिविधिमा मानिसलाई पछि पार्ने क्षमतालाई जोड दिन्छ । गुगल स्वामित्वको कम्पनी डिप माइन्ड आफूले ‘चेस’ र ‘गो’जस्ता खेलमा निपुण मानिसहरूलाई हराउन सक्ने एल्गोरिदम विकास गरिरहेकोमा गर्व गर्छ ।
यो दर्शनले स्वाभाविक रूपमा कर्पाेरेसनको एक मात्र उद्देश्य सेयरधनीहरूको मुनाफा अधिकतम पार्नु हो भन्ने आर्थिक (खराब) अवधारणलाई नै बढवा दिन्छ । यस्ता सोचले एआईका सबैभन्दा उत्पादक अनुप्रयोग (एप्लिकेसन)ले मानिसलाई प्रतिस्थापन गर्नेछन् भन्ने धारणालाई नै बलियो बनाइरहेका छन् । खुद्रा स्टोरको सेल्समा मानव कर्मचारीको सट्टा एआई नियुक्त गर्दा त्यसले उत्पादकत्वमा त खासै वृद्धि गराउँदैन, तर ग्राहकलाई भने अप्ठ्यारो बनाउनेछ र सन्तुष्टि पनि दिनेछैन । तर, कामदारहरूलाई बर्खास्त गर्न र शक्ति सन्तुलनलाई व्यवस्थापनको पक्षमा अझ बढी झुकाउन भने यसले सम्भव तुल्याउनेछ ।
शताब्दीअघि कार्ल माक्र्सले गरेका डरलाग्दा भविष्यवाणीलाई एआई क्रान्तिले थप सहज बनाउँछ भन्ने हाम्रो विश्वास छ । यी जर्मन दार्शनिक पुँजीवादले स्वाभाविक रूपमा उत्पादनका साधनमाथि एकाधिकार कायम गर्ने र कुलीनहरूले आफ्नो आर्थिक शक्तिलाई राजनीतिक प्रणाली चलाउन र श्रमिकहरूलाई गरिबीमै राख्न उपयोग गर्नेमा विश्वस्त थिए ।
सौभाग्यवश, माक्र्स आफू बाँचेको १९औँ शताब्दीको औद्योगिक युगबारे गलत थिए । उद्योगहरूको उदय उनले अपेक्षा गरेभन्दा धेरै छिटो भयो र नयाँ कम्पनीले आर्थिक शक्तिको संरचनालाई खलबल्याए । ट्रेड युनियन व्यापक समाजका वास्तविक राजनीतिक प्रतिनिधित्वको रूपमा विकसित भए । सरकारहरूले औद्योगिक ज्यादतीलाई नियमन गर्ने आफ्नो क्षमता विकास गरे । फलस्वरूप प्रतिस्पर्धा बढ्यो, ज्याला उच्च भयो र लोकतन्त्र थप बलिया भयो ।
आज, ती प्रतिरोधकारी शक्तिहरू या त अस्तित्वमा छैनन् वा धेरै कमजोर भएका छन् । जेनेरेटिभ एआईका निम्ति कपडा कारखाना तथा स्टिल मिलभन्दा गह्रुँगो खल्ती चाहिन्छ । फलस्वरूप, यसका अधिकांश अवसर माइक्रोसफ्टको हातमा परिसकेको छ । एआई उद्योगको अहिले बजार पुँजीकरण २४ खर्ब डलर रहेको छ । जायन्ट प्रविधि कम्पनी अल्फाबेटकै बजार पुँजीकरण १६ खर्ब डलर छ ।
ट्रेड युनियनजस्ता शक्तिहरू ४० वर्षे अनियमनका (रोनाल्ड रेगन, मार्गरेट थ्याचर, बुसद्वय र बिल क्लिन्टनसमेत)का कारण कमजोर भएका छन् । यसैले अमेरिकी सरकारको कुनै पनि वस्तुलाई नियमन गर्ने क्षमता निम्छरो भएर गएको छ । चरम ध्रुवीकरण र चन्दादाता गुम्ने भएका कारण कंग्रेसका अधिकांश सदस्य अझै पनि नियमनका लागि तयार छैनन् ।
डाटा एकाधिकारलाई हाम्रो जीवन बर्बाद गर्नबाट रोक्न हामीले प्रभावकारी काउन्टरभेलिङ शक्ति परिचालन गर्न आवश्यक छ । कंग्रेसले एआई प्रणाली निर्माणका आधार रहेका अन्तर्निहित डेटामा व्यक्तिगत स्वामित्वलाई स्थापित गर्न आवश्यक छ । यदि भीमकाय एआई कम्पनीले हाम्रो डेटा प्रयोग गर्न चाहन्छ भने बदलामा उसबाट हामीले पनि केही पाउनुपर्छ । उसले समुदायले परिभाषित गरेका समस्यालाई सम्बोधन गर्न र कामदारको साँच्चै उत्पादकत्व बढाउनुपर्छ । हामीलाई ‘मेसिन इन्टेलिजेन्स’को सट्टा ‘मेसिनको उपयोगिता’ चाहिएको छ । यो अवधारणाले मानव क्षमतालाई विस्तार गरिदिने कम्प्युटरको क्षमतामा जोड दिन्छ । उत्पादकत्व वृद्धिमा यो धेरै फलदायी दिशाबोध हुनेछ । श्रमिकहरूलाई सशक्तीकरण गरेर र उत्पादन प्रक्रियामा मानवीय निर्णय प्रक्रियालाई सुदृढ गरेर ठूला टेक कम्पनीहरूको विरुद्धमा खडा हुन सक्ने सामाजिक शक्तिहरूलाई पनि यसले बलियो बनाउनेछ । यसका निम्ति नयाँ टेक्नोलोजीप्रतिको दृष्टिकोणमा थप विविधता पनि आवश्यक पर्नेछ, ताकि ठूला एआईको एकाधिकार तोड्न सकियोस् ।
हामीलाई नियमनको पनि आवश्यकता छ जसले गोपनीयताको रक्षा गरोस् र निगरानी पुँजीवादका विरूद्ध काम गर्न सकोस् । हामी के गर्छाै भनेर निगरानी गर्न टेक्नोलोजीको व्यापक प्रयोग हुन थालेको छ । एआईमार्फत वास्तविक समयमै हाम्रो निगरानी एवं मूल्यांकन गर्न सकिन्छ । हाम्रो छनोटमा हेराफेरी गर्न र जीवनलाई बिगार्न एआई प्रयोग हुन सक्ने वास्तविक खतरा छ ।
अन्तमा, हामीलाई प्रगतिशील कर्पाेरेट कर प्रणाली चाहिन्छ, ताकि कम्पनीहरूले अधिक नाफा कमाउँदा तिनलाई लाग्ने करका दर पनि उच्च हुँदै जाऊन् । यस्तो कर प्रणालीले टेक टाइटनलाई विभाजन हुन दबाब दिनेछ, ताकि करको दर प्रभावकारी रूपमा कम गर्न सकून् । अधिक प्रतिस्पर्धाले विचारमा विविधता सिर्जना गर्दै डिजिटल टेक्नोलोजीलाई मानवहितको दिशा विकास गर्ने थप अवसर सिर्जना गर्न पनि मद्दत गर्नेछ ।
यदि यी कम्पनी आफू एउटै भीमकाय कम्पनीका रूपमा रहन रुचाउँछन् भने, उनीहरूको मुनाफामा लाग्ने उच्च करले सार्वजनिक वस्तु, विशेषगरी शिक्षालाई वित्त पोषण गर्न सक्छ । त्यो शिक्षाले मानिसहरूलाई नयाँ प्रविधिको सामना र प्रविधि, काम र लोकतन्त्रलाई अधिक मानवपक्षीय दिशा दिन सहयोग गर्नेछ । हामीले हाम्रो भविष्य हाम्रो सामूहिक डेटा प्रयोग गरेर विना कुनै संकोच र क्षतिपूर्ति भीमकाय विश्वव्यापी साम्राज्य निर्माण गरेका दुई शक्तिशाली कम्पनीको हातमा छोड्नु हुँदैन ।
(एसिमोग्लु र जोन्सन म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का प्राध्यापक हुन् । उनीहरूले ‘पावर एन्ड प्रोग्रेस ः आवर थाउजन्ड इअर स्ट्रगल ओभर टेक्निोलोजी एन्ड प्रोस्पेरिटी’ नामक पुस्तक लेखेका छन् ।) – न्युयोर्क टाइम्स