
कांग्रेसले संविधान संशोधनको एजेन्डासहित मुलुक र नेतृत्व परिवर्तनको झन्डा उचालेर आफूलाई परिवर्तन गर्न सक्दा मात्र मुलुकमा राजनीतिक स्थायित्व सम्भव छ
केन्द्रीय सत्ता तथा राजनीतिको केन्द्रभागमा आज कांग्रेस छ । प्रदेश तथा स्थानीय तहमा समेत प्रमुख उपस्थिति कांग्रेसकै छ । संसद्को ठूलो दल पनि आज कांग्रेस नै हो । सबैतिर हराभरा देखिएको कांग्रेसभित्र भने ‘उत्साह’भन्दा ‘निराशा’ ज्यादा छ । घरझगडा भुसको आगोझैँ भित्रभित्रै सल्किएको छ । गुटमा अदलीबदली राम्रै छ । विश्वासभन्दा ज्यादा अविश्वास चौतर्फी फैलिएको छ ।
राजनीतिक सभाहरूमा ‘छेडखानी’ चलेकै छ । संस्थापनइतर समूह संस्थापन पक्षका गतिविधिबाट पार्टी मौलाउनेभन्दा पनि कार्यकर्ता पलायन हुने निष्कर्षमा पुगेको छ । उता संस्थापन पक्ष भने संगठन चलायमान नहुनुको दोष ‘इतर पक्ष’माथि थोपर्दै सडकमा विद्रोहको आवाज निकाल्दै हिँडे ‘मुठभेड’ हुन सक्ने ‘मनोवैज्ञानिक धम्की’ दिन उद्यत् देखिन्छ । संस्थापन इतरपक्षका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच ‘लय’ मिलेकै छ ।
कांग्रेसका माध्यमबाट देशको चित्र बदल्ने ‘विराट् परिकल्पना’ सार्वजनिक गर्नुका साथै आन्तरिक पुस्तान्तरणसहित रूपान्तरणको मार्गचित्र युवा नेताहरूले प्रस्तुत गर्न सक्दा मात्र ‘कांग्रेस र लोकतान्त्रिक व्यवस्था’ जीवन्त रहन सम्भव छ । तसर्थ, ‘अर्ली महाधिवेशन’को तहमा नपुगी कांग्रेसमा रूपान्तरण खोज्नु भनेको कासी जान कुतीको यात्रा तय गर्नुबराबर हो।
आशालाग्दा युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले शालीनतापूर्वक गरिएको पार्टी रूपान्तरणको ‘एजेन्डा’लाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेकै कारण आज पार्टी धरापको स्थितिमा पुगेको हो । त्यसैले, युवा महामन्त्रीद्वय ‘गम्भीर रणनीति’ निर्माणमा व्यस्त देखिन्छन् । यसबाट निचोड निकाल्न सकिन्छ– कांग्रेस यतिवेला भयानक आँधीअघिको सन्नाटाको अवस्थामा उभिएको छ ।
प्रश्न कांग्रेसभित्रको आजको झगडाको हुँदै होइन । प्रश्न त भोलिको कांग्रेस कस्तो बन्ने र कसको हातमा पुग्ने भन्ने नै हो । यथास्थितिमा पनि कांग्रेस चलिराखेकै छ भन्नुचाहिँ ‘फिस्टे चरा’को उखान जस्तै हो । ‘स्टन्ट’ नै सही, ठूलै हंगामाका साथ विषयवस्तु उठान गर्ने भन्दै ‘हवाई दल’हरू जोडतोडसाथ आई नै सके ! एकल बहुमतको सरकार दिनुस्, त्यो पनि एक सय दिनका लागि हामी मुलुकमा कायापलट गरेरै देखाइदिन्छौँ भनी नै सके ! हिजो केपी ओलीले त मूर्त रूपमा ‘चीनबाट चुच्चे रेल ल्याउनेदेखि ग्यासको पाइप घरघरमा पुर्याउनेसम्मका गफ दिए । उनले भातै खान त काम गर्नै पर्दैन सम्म भन्न भ्याए । अहिलेका नयाँ दलले त अमूर्त रूपमा रामराज्य स्थापना गर्ने बताएर ‘पान्डोरा बक्स’को झल्को दिँदै छन् ! तैपनि, नेपाली जनता उक्त बक्सको कथा पत्याउन तयार नै छन् ।
कांग्रेसभित्र यतिवेला नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिन पुगेका नेताको निलम्बन, भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनसँगै पार्टीका विभागको गठन तथा पूर्णताको विषयमा त चर्चा छँदै छ । त्योभन्दा ज्यादा चर्चा संस्थापन इतरपक्षका नेता डा. शेखर कोइरालाको ‘रणनीतिक मुभ’ र युवा नेताहरू ‘गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल’हरूको भावी रणनीति के हुने हो भन्ने विषयमा केन्द्रित छ । कांग्रेसभित्र आज देखिएको ‘चालबाजी’मा कोही पछाडि हट्न सक्ने अवस्था देखिँदैन । केन्द्रीय समिति तथा संसदीय दलमा बहुमतमा देखिएका देउवालाई ‘देउवा गुट’ले नै ‘लचक’ हुन दिने कुरै छैन ।
हेर्दाहेर्दै कांग्रेस कमजोर हुँदै गएको मात्र नभई ०८४ सम्म पुग्दा एक्लै चुनावमा जानै नसक्ने बनाउन लागिएको चिन्ताले पिरोलिएका युवा नेतासमेत पार्टीभित्र कार्यकारी अधिकार नभएकैले ‘बिलखबन्द’मा परेका देखिँदै छन् । यो ‘टिठ’लाग्दो परिस्थितिको कांग्रेसलाई आजको ‘चक्रव्यूह’बाट कसले र कसरी बाहिर निकाल्न सक्षम होला ? यो नै आजको यक्षप्रश्न हो ।
डा. कोइराला स्वयं आफैँ ‘रणनीतिक मुभ’अन्तर्गत देउवासामु पुगेकैले देउवा समूह मात्र नभई कोइरालासँग रहेर ‘राष्ट्रिय झन्डा’ हल्लाउन पाएकासमेत खुसी साट्दै ‘मौन’ छन् । उता हेर्दाहेर्दै कांग्रेस कमजोर हुँदै गएको मात्र नभई ०८४ सम्म पुग्दा पुनः एक्लै चुनावमा जानै नसक्ने बनाउन लागिएको चिन्ताले पिरोलिएका युवा नेतासमेत पार्टीभित्र कार्यकारी अधिकार नभएकैले ‘विलखबन्द’मा परेका देखिँदै छन् । यो ‘टिठ’ लाग्दो परिस्थितिको कांग्रेसलाई आजको ‘चक्रव्यूह’बाट कसले र कसरी बाहिर निकाल्न सक्षम होला भन्ने नै आजको अहं सवाल हो ।
राजनीतिक बजारमा आज कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरिँदै छ, मुलुकले धर्मसापेक्षताको बाटो लिने नै भयो, संघीयता खारेजको विषयमा समेत संविधान संशोधन हुँदै छ भन्नेजस्ता अनेकानेक विषयले ‘बजार’ तताएका छन् । तर, आफूलाई गणतन्त्रका संवाहक दाबी गर्ने ‘कांग्रेस, एमाले, माओवादी’ जस्ता दलका भनाइ र गराइले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा प्रश्नचिह्न भने खडा भएको छ । नेपाली राजनीतिलाई सुधारको बाटोमा लैजानुपूर्व कांग्रेस सुध्रिनुपर्ने हुन्छ । सँगै, कांग्रेस सुध्रिनुपूर्व कांग्रेसमा ‘नेतृत्व परिवर्तन’ अवश्यंभावी छ । त्यसका निम्ति कांग्रेस सभापति शेरबहादुर देउवाले ७०–७५ वर्षदेखि बोकेर ल्याएको ‘नेचर’मा आज एकाएक परिवर्तन खोजिनु आफैँमा अकल्पनीय विषय हो ।
कांग्रेसभित्रको प्रतिकूलताका कठिन, कठोर र निरश विवरण माथि उल्लेख भए । अब कांग्रेसका माध्यमबाट देशको चित्र बदल्ने ‘विराट् परिकल्पना’ सार्वजनिक गर्नुका साथै कांग्रेसमा आन्तरिक पुस्तान्तरणसहित रुपान्तरणको मार्गचित्र युवा नेताहरूले प्रस्तुत गर्न सक्दा मात्र ‘कांग्रेस र लोकतान्त्रिक व्यवस्था’ जीवन्त रहन सम्भव छ ।
तसर्थ, ‘अर्ली महाधिवेशन’को तहमा पुग्दै नपुगी कांग्रेसमा रुपान्तरण खोज्नु भनेको कासी जानका निम्ति कुतीको यात्रा तय गर्नुबराबर हो । अरू त अरू, डा. शेखर कोइरालाले समेत यतिवेला तमाम ‘परिवर्तनकारी युवा नेताको अभिभावक’ बन्ने सुवर्ण अवसर गुमाएर आफूलाई विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र रामचन्द्र पौडेल हुँदै कृष्णप्रसाद सिटौलाकै लाइनमा लामबद्ध गराएर उभ्याउनु होला कि भन्ने चासो र चिन्ता सो पार्टीका कार्यकर्ता पंक्तिमा पाइन्छ ।
तसर्थ, डा. कोइरालासामु यतिवेला त्यागको राजनीति गरेर ‘गणेशमान सिंह’ बन्ने विराट् सम्भावना बाँकी नै छ । तर, नियतिले उहाँलाई भोलि पुनः विधान संशोधन गरेर पार्टी सभापतिमा शेरबहादुर देउवा स्वयं लड्न पुग्दा तिनै देउवाको प्रस्तावकमा त पुर्याउने होइन भन्ने ‘संशय’ले घेरा हालेको छ । यस सन्दर्भमा आफ्नो बाटो तय गर्ने दायित्व स्वयं कोइरालाकै हो । तर, त्यतिवेला देउवालाई साथ दिँदै गर्दा ‘देउवाले के गर्न बाँकी रह्यो र किन साथ दिइयो’ भन्ने प्रश्नले भने डा. कोइरालालाई पछ्याई नै रहनेछ ।
मुलुकले कुशल नेतृत्व पाउँदा ब्रिटिस साम्राज्यको सामुद्रिक भूमि सिंगापुर आज कहाँ पुग्यो ! दक्षिण–पूर्वी एसियाको उच्च प्रविधियुक्त मुलुक सिंगापुर प्रतिव्यक्ति आम्दानीका हिसाबले विश्वको तेस्रो नम्बरमा पर्छ । माओको निधनपश्चात् चीनले समेत ली क्वान युकै सहयोगमा ‘चिनियाँ आर्थिक विकासको मोडल’ लागू गर्ने योजना तय गर्यो । नेपालमा भने हरेक राजनीतिक परिवर्तनपश्चात् आर्थिक क्रान्तिको चर्चा हुने तर कार्यान्वयन त कता हो, निश्चित जिल्लामा मात्र पहुँचका आधारमा बजेट खन्याएर बजेट विनियोजनमा समेत अनमेल देखिएपछि सत्तापक्षबाटै बजेट पास हुन नदिने आश्चर्यजनक अभिव्यक्ति बाहिर आइरहेका छन् । बेथितिको योभन्दा ठूलो उदाहरण अरू के होला ? तसर्थ, यतिवेला देश निर्माणको खाका बनाउन तल्लीन हुन तयार राजनेतालाई देशले खोजिरहेको छ । जसलाई जनताले विश्वासको साथ पत्याउन सकून् ।
तसर्थ, भोलिको कांग्रेससहित देश हाँक्न देशका सामु देखिएका मुद्दाको निर्क्योल आजको ‘भिजनरी पुस्ता’ले गर्न जरुरी छ । आज प्रदेश संरचना महँगो भयो । मिश्रित निर्वाचन प्रर्णालीले देशलाई राजनीतिक स्थिरता दिन सकेन । पटक–पटक यो वा त्यो नाममा निर्माण हुने ‘मोर्चा वा गठबन्धन’ केवल सत्ता निर्माण वा सत्ताको बार्गेनिङका निम्ति मात्र कामयाब सावित भए । तसर्थ, मुलुक एकपटक संविधान संशोधनको एजेन्डामा पुगेर राजनीतिक स्थिरता दिने तहमा नपुगी सुखै छैन । त्यसका निम्ति समग्र कांग्रेसले संविधान संशोधनको एजेन्डासहित मुलुक र नेतृत्व परिवर्तनको झन्डा उचालेर आफूलाई परिवर्तन गर्न सक्दा मात्र मुलुकमा राजनीतिक स्थायित्व सम्भव छ ।