विरासतबाट ‘लोकतान्त्रिक आवरण’ निःशुल्क पाएको मात्र नभई नेपालको राजनीतिको सधैँ केन्द्रभागमा रहँदै आएको नेपाली कांग्रेस पछिल्ला घटनाक्रमपछि भने ‘कुहिरोको काग’ बनेको छ । कांग्रेसलाई यतिवेला ‘कुहिरोको काग’ बनाइदिने घटनाक्रम हुन्– उपनिर्वाचनको परिणाम र नक्कली भुटानी शरणार्थी प्रकरण । त्यसो त सभापति शेरबहादुर देउवाको कार्यकाल मुलुक र प्रजातन्त्रसँगै कांग्रेसको आन्तरिक जीवनका लागि पनि ‘फलदायी’ हुन सकेन ।
इतिहासका कालखण्डमा ठूला आन्दोलन तथा परिवर्तनको नेतृत्वसमेत सफलतापूर्वक गर्दै आएको कांग्रेस आज आफ्नै अस्तित्वको खोजीमा छ । कहिल्यै पुरानो नहुने ‘लोकतन्त्र, राष्ट्रियता र समाजवाद’को सिद्धान्त बोकेको तथा गौरवपूर्ण इतिहाससँगै सामाजिक न्यायको झन्डा उठाउँदै आएको कांग्रेस अहिले आमनिर्वाचन परिणामको समीक्षासमेत गर्न नसक्ने अवस्थामा पुगेको छ ।
विरासतबाट प्राप्त ‘गाथा’ गाएर मात्र भविष्य निर्माण सम्भव छैन । पुरानो भएकै कारण बहुमूल्य हुने भनेको ‘मूर्ति र थाङ्का’ मात्रै हो । यतिवेला कांग्रेसजस्तो जेठो पार्टीले जनताबीच आफूलाई टिकाइराख्न ‘युवा मनोविज्ञान’लाई आत्मसात् गर्न जरुरी छ । त्यसका लागि सामाजिक न्याय, समानता, विकास र समृद्धिको झन्डा भरपर्दाे तवरले उठाउन जरुरी छ । तर, कांग्रेस भने यतिवेला आफैँ बेथितिको ‘हेडक्वार्टर’ बन्न पुगेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत संस्थापनइतर समूहमाथि संस्थापन पक्षको ‘बलमिच्याइँ’ उत्कर्षमा पुगेको छ । न हिजो आफैँसँग पराजित डा. शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाएका छन् देउवाले, न त आज आफ्नै टिमबाट महामन्त्री लडेका प्रदीप पौडेललाई मन्त्री नै ! पार्टीमा मन परेकालाई ‘प्रकाशशरण’ र मन नपरेकालाई ‘प्रदीप’ बनाइन्छ भन्ने ‘मनोविज्ञान’ स्थापित गराइएको छ । त्यति मात्र नभई ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को छानबिनमा तानिएका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई सके निलम्बन गरेर कांग्रेस सुशासनको पक्षमा छ भन्ने सन्देश दिऊँ, त्यो पनि नभए खाणजीबाटै ‘राजीनामा’ लिएर पब्लिकमा पार्टीको ‘फेससेभ’ गरौँ भन्ने महामन्त्रीद्वयको धारणामा समेत पदाधिकारी बैठक एकमतमा पुग्न सकेन । यस घटनाले कांग्रेसलाई ‘नराम्रो क्षति’ पुर्याउने निश्चित छ ।
कांग्रेस संस्थापन पक्ष यथास्थितिमै रमाइरहेको छ भने संस्थापनइतर पक्षका नेता कोइरालाले पार्टीको आन्तरिक जीवनबारे मुख खोलेका छैनन् । उता कोइराला समूहकै महामन्त्री थापा तथा अर्का महामन्त्री शर्मा यतिवेला दरिलो रूपमा जनताको आवाज मुखरित गर्न नसके ‘कांग्रेस र आफू’ एकसाथ समाप्त हुने निष्कर्षमा पुगेका छन् । जुन कुराको छनक महामन्त्री थापाले ‘भ्रष्टाचारविरुद्धको अभियान र नक्कली शरणार्थी प्रकरणबारेको धारणा’ शीर्षकमा जारी ‘स्टेटमेन्ट’बाटै सहज अनुमान लगाउन सकिन्छ ।
बालकोट पुगेर प्रधानमन्त्री पद ‘हात पार्न’ सफल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालकोटबाट फिर्ता ल्याएर ‘राष्ट्रिय तथा सत्ता राजनीति’को केन्द्रभागमा आफ्नो पार्टीको उपस्थिति जनाउन सक्षम कांग्रेसका लागि अबको साढे चार वर्ष जनताको पक्षमा काम गर्ने हो भने यो ‘स्वर्णिम समय’ हो । तर, आफू पनि गर्न नसक्ने र गर्न सक्नेलाई पनि दिनै नचाहने ‘दीर्घरोग’ले आज कांग्रेस ग्रसित छ । तसर्थ, कांग्रेसका लागि आफू सच्चिन तयार नहुने हो भने उसका ‘शुभदिन’ पनि समाप्त भएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
कांग्रेस रुपान्तरणको बाटो : जनताको अपेक्षाअनुसार आर्थिक विकास, समाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति दिएरै जनतामा स्थापित भइराख्ने हो भने कांग्रेसको नेतृत्व परिवर्तन अवश्यंभावी छ । आजको नेतृत्वले समयको वेग बुझ्नै सकेन र सक्दैन पनि । सही ढंगले पार्टी चलाउन त देउवा सक्षम भएनन् नै, पार्टीलाई ‘विधि, विधान र पद्धति’मा चलाउन दबाब दिन संस्थापनइतर पनि ‘काबिल’ भएन । जसका कारण पार्टीले ‘दिन दुईगुणा, रात चौगुणा’ क्षति व्यहोरिरहेको छ ।
जनताबीच आफूलाई टिकाइराख्न ‘युवा मनोविज्ञान’लाई आत्मसात् गरी सामाजिक न्याय, समानता, विकास र समृद्धिको झन्डा उठाउनुपर्ने कांग्रेस यतिवेला आफैँ बेथितिको ‘हेडक्वार्टर’ बन्न पुग्नु दुःखद छ
बेथितिको विषय पनि यति उत्कर्षमा छ कि निर्वाचनमा टिकट वितरणका लागि संसदीय समितिसमेत बन्न सकेन ! महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गर्ने भनिएका विभाग गठन हुन सकेनन् । संगठन निर्माणका लागि ‘राजनीतिको नर्सरी’ मानिँदै आएका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दलजस्ता संगठनले आफ्नो ‘राष्ट्रिय महाधिवेशन’ देख्नै
नपाएको दशक बित्न लागिसक्यो । ‘टिका–टालो’ गरेर पनि जनस्तरमा पटक्कै प्रभाव छाड्न नसक्नेलाई छानी–छानी ल्याइएको छ । यस्तो बेथिति हुँदा पनि संस्थापनइतर पक्ष भने फड्के किनाराको साक्षी मात्र भएर बसेको छ ! बेथितिका यस्ता दर्जन उदाहरण प्रस्तुत गर्न सकिन्छ ।
हालै सम्पन्न उपनिर्वाचनमा व्यहोर्नुपरेको पराजय र नक्कली शरणार्थी प्रकरणयता कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको छ । कांग्रेसभित्रको इतर समूहभित्रको पनि इतर समूह ‘गगन–विश्व–प्रदीप’हरूले बल्ल विद्रोहको भाषा बोल्न थालेका छन् । उनीहरूको विद्रोहको भाषाकै कारण पनि कांग्रेस कार्यकर्तामा एक प्रकारको ‘आशा सञ्चार’ भएको पाइन्छ ।
विद्रोहको भाषा बोल्दा मात्रै पनि आशाको सञ्चार हुने टिठ लाग्दो अवस्थामा पुर्याइएको विषयमा पार्टीको संस्थापन पक्ष एक शब्द पनि बोल्न तयार छैन । अब कांग्रेस सच्चिनका लागि ऊ चारवटा बाटामा जानैपर्ने देखिन्छ । कांग्रेससामु रहेको पहिलो बाटो हो– सभापति शेरबहादुर देउवा स्वयं आफैँले ‘विशेष महाधिवेशन’ आह्वान गरेर नेतृत्व हस्तान्तरण गर्ने ।
दोस्रो बाटो हो– संसदीय दलका नेताबाट समेत बाहिरिएर ‘सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा’ गराई दलको नेता चयन गर्ने । तेस्रो बाटो हो– सरकारमा पठाएका मन्त्री फिर्ता बोलाएर ‘टेस्टेड’ नभएका व्यक्तिलाई सरकारमा पठाउने र अन्तिम बाटो हो– ‘सरकार र पार्टी’ हेर्न एक–एक महामन्त्रीलाई जिम्मेवारी तोक्ने । कांग्रेसले अझै क्षति नव्यहोरेसम्म कांग्रेस सभापति देउवाबाट आजका मितिमा यी चारवटै बाटा अवलम्बन हुने सम्भावना देखिँदैन । तर, कांग्रेस रुपान्तरणका लागि भने यी बाटाहरू नै अनिवार्य सर्त हुन् ।
कांग्रेसभित्र मजबुत रूपमा दुई धार देखिँदै आएकामा संस्थापनइतर धारभित्र पनि मजबुत दोस्रो धार निर्माण हुने सम्भावना देखिन्छ । संस्थापन धारमा भने एकले अर्कालाई नटेरे पनि बाहिरै विभाजनको बाछिटा देखिने गरी फुट देखिएको छैन । तर, संस्थापनइतर धारमा भने कालान्तरमा कोइराला एकातिर र ‘गगन, विश्व, प्रदीप’ अर्कातिर हुने सम्भावना टड्कारो देखिँदै छ । पार्टी सच्याउन कथं युवाले पार्टीलाई विशेष महाधिवेशनको तहसम्म पु¥याउन सके भने पनि सत्तरी वर्ष उमेर हद लगाएर युवा नेताले आफूहरूलाई पन्छाइदिने ‘खतरा’ दखेका छन् सत्तरी कटेकाले । त्यही कारण सत्तरी कटेका नेताहरू रामचन्द्र पौडेलकै लाइनमा लागेर ‘जो हात सो साथ’कै पक्षमा पुग्ने सम्भावना छ । तर, यसरी मात्र चल्यो भने २०८४ को निर्वाचमसम्म पुग्दा कांग्रेस ‘कार्यकर्ताविहीन’को अवस्थामा पुग्नेछ ।
पार्टीभित्रको एउटा सानो समूह ‘विद्रोहको झन्डा’ बोकेर गाउँ लागिसक्यो । देउवाको ‘बलमिच्याइँ’ र कोइरालाको ‘साथ’ नपाए पार्टीभित्रको ‘गगन, विश्व, प्रदीप’को अर्काे धार पनि अझै ठूलो स्केलको ‘विद्रोहको झन्डा’ बोकेर देश दौडाहामा निस्किने दिन टाढा छैन । किनकि, आफूलाई अप्ठ्यारो पर्दा अधिक झुक्ने र स्वार्थ पूरा भएपश्चात् ढोका नै बन्द गराइदिने ‘देउवाको बानी’ अब गगन–विश्वले चाल नपाउने कुरै भएन । हुन त, कांग्रेस चुकेको आज आएर होइन, देउवाको विकल्प खोज्नका निम्ति तयार नभएर जब रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले तिनै देउवासामु आफूलाई समर्पण गरे, त्यहीँबाट कांग्रेसको ओरालो यात्रा प्रारम्भ भयो । अहिले आएर बन्द कोठाभित्र चुकचुकाउनुको अर्थ छैन ।
सभापतिमा झन्डै ४० प्रतिशत मत ल्याएका कोइरालाले पनि बिस्तारै ‘गगन–विश्व’लाई भन्दा देउवालाई नै प्रिय ठान्दै आएको देखिन्छ । प्रचण्ड सरकारलाई विश्वासको मत पनि देउवाकै सल्लाहमा कोइराला समूहले दिन पुग्दा उक्त समूहभित्र ‘गगन’ कमजोर देखिन पुगे । तथापि, प्रचण्ड सरकारलाई विश्वासको मत मात्र ‘गगन’हरूले दिएनन्, उल्टै आवश्यकताभन्दा ज्यादा ‘प्रचण्ड सरकार’को पैरवीसमेत गर्न पुगे ।
त्यहीँनेर देउवाले महामन्त्रीद्वयलाई ‘एक्सपोज’ गराइदिए । जसका कारण ‘पार्टी र सरकार’ दुवैले गरेका अलोकप्रिय कामको भारी आजका मितिमा महामन्त्रीद्वयलाई महँगो पर्दै आएको छ । समग्रमा खासगरी कांग्रेस आज यस्तो मोडमा पुगेको छ, जहाँ उसले आफूलाई जीवन्त राख्न ‘ठोस निर्णय’ लिनैपर्ने हुन्छ । त्यो ठोस निर्णय भनेको कांग्रेसको विशेष महाधिवेशन नै हो । यतिवेला पर्खनै नसक्ने गरी कांग्रेसका प्रौढ नेतालाई धेरै पछाडि छाडेर समयको वेग निकै अगाडि पुगिसक्यो । अब कांग्रेसको वेगको नेतृत्व ‘उमेर र विचार’ले युवा ठानिएकाबाट मात्र सम्भव छ । जसका निम्ति ‘हस्तक्षेपकारी’ भूमिका देखाउन कांग्रेसभित्रका गगन, विश्व र प्रदीप मात्र होइन, एनपी साउद, नैनसिंह महर र राजीव ढुंगानाहरूसमेत तयार नहुने हो भने कांग्रेसलाई ‘वैकल्पिक राजनीतिक शक्ति’ले निष्प्रभावी बनाइदिने निश्चित छ ।