निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
सुदर्शन आचार्य
२०७९ असार २० सोमबार ०९:०३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

माननीय गगनकुमार थापालाई खुला पत्र

Read Time : > 3 मिनेट
सुदर्शन आचार्य
२०७९ असार २० सोमबार ०९:०३:००

माननीयज्यू, नमस्कार
तपाईंसँग मेरा केवल दुईवटा सवाल छन्, जसको सार्वजनिक रूपमै जवाफको अपेक्षा राखेको छु । हुन त, तपाईंबारे सार्वजनकि रूपमा कलम चलाउने विषय ‘सरल’ र ‘सहज’ नहुन सक्छ, तथापि तपाईंकै निर्वाचन क्षेत्रको मतदातासमेत भएकाले जवाफको अपेक्षासहित पहिलो ‘आर्थिक’ र दोस्रो ‘राजनीतिक’ सवाल उठाउने अनुमति चाहन्छु । र, तपाईंले वेलाबखत भनेझैँ ‘हाताहाती’ र ‘खनखनी’ जवाफको अपेक्षा छ । 

नेपालमा हरेक राजनीतिक परिवर्तनपश्चात् हरेक दल–सरकारले उठाउँदै आएका विषय हो– ‘आर्थिक क्रान्ति’ । नेपाल २००७ को परिवर्तनपश्चात् विश्व समुदायको सम्पर्कमा पुग्यो । निर्वाचनताका हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा उठाउन नछाडेको, तर पाइलो सार्नै नसकिएको ‘आर्थिक क्रान्ति’को विषयको घतलाग्दो उत्तर भने भेटिएन । मुलुककै राजधानीको चर्चित युवा सांसदको हैसियतले तर्क र तथ्यमा आधारित प्रश्न यहाँ राख्दै छु ।

आर्थिक सन्दर्भसँग जबर्जस्त जोडिएर आएको विषय हो– सार्वजनिक ऋणको भार । नेपाल अहिले करिब २० खर्बको हाराहारीमा वैदेशिक तथा आन्तरिक ऋणको भार बोकेर बसेको छ । २०७४ को आमनिर्वाचनपूर्व नौ खर्बको हाराहारीमा रहेको ऋणको अंक बढेर आजका मितिसम्म पुग्दा २० खर्बको हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ । यो भार भनेको ५३ प्रतिशत बाह्य र ४७ प्रतिशत आन्तरिक छ । विदेशी ऋण विदेशी मुद्रामै तिर्नुपर्ने हुँदा नेपाली मुद्राको निरन्तर अवमूल्यनकै कारण मुलुक आर्थिक रूपमा दैनिक ओरालो यात्रामा रहेको तथ्यले देखाउँछ । अर्कातिर ऋण लिएर गरिएको कामको प्रतिफलको आँकडा हेर्ने हो भने कहालीलाग्दो छ ।

पछिल्ला वर्ष वैदेशिक तथा आन्तरिक ऋणको दायित्व अस्वाभाविक रूपमा बढ्दै गएको छ । तर, ऋण लिएर सुरु गरिएका राष्ट्रिय गौरवको भनिएका आयोजनाका कामको प्रगति विवरण हेर्ने हो भने पट्यारलाग्दो अवस्था छ । संघीयता कार्यान्वयनदेखि भूकम्पपछिको पुर्ननिर्माण हुँदै कोभिड रोकथामका लागि चाहिने भ्याक्सिन खरिदसम्ममा वैदेशिक ऋणका लागि हात थापियो ! तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भ्याक्सिन खरिद प्रकरणबारे के भयो भन्ने सवाल यहाँ थप जोडिरहनु नपर्ला । हुँदाहुँदा संघीयता कार्यान्वयनपश्चात्को अनुदान र राजस्व हस्तान्तरणका रूपमा ‘प्रदेश’ र ‘स्थानीय’ तहसम्ममा पठाउने रकमसमेतमा वैदेशिक ऋण लिइएको छ । यही तथ्यले देखाउँछ– आन्तरिक तथा बाह्य ऋण व्यवस्थापनको चुनौती ।

सवाल ऋणको भारको मात्र नभई सवाल बग्रेल्ती उठेका छन्– राष्ट्रिय गौरवका भनिएका आयोजना समयमै किन पूरा भएनन् ? सरकार परिवर्तनसँगै किन ठूला आयोजनालाई हेर्ने नीतिमा समेत परिवर्तन ल्याइन्छ ? वैदेशिक ऋण लिँदा अनुदान नै सम्झेर लिने र खर्चसमेत अन्धाधुन्द गरिने परिपाटी नियन्त्रणका लागि किन बनाइन्न कानुन र किन लगाइन्न अंकुश ? किन तोकिन्न वैदेशिक ऋणको सीमा ? समृद्ध नेपाल निर्माणको एजेन्डामा राष्ट्रिय सहमति कायम गरी किन योजना छनोट गरिन्न ? कतै समृद्ध नेपाल निर्माण गर्ने इच्छाशक्ति भएको नेतृत्व राष्ट्रले नपाएको त होइन ? समृद्ध नेपाल निर्माण गर्ने भनियो, तर समृद्धिसँग नेपाली जनताको भेटसम्म भएन ! यसमा बाधक ‘वाद’ वा ‘विचार’ हो कि अन्य सन्दर्भ पनि छन् ? सरकारका तर्फबाट यसरी हुने गरेका आर्थिक अपारदर्शिता रोकेर नव नेपाल निर्माणमा तपाईंले अगाडि सार्ने र सार्न चाहेका सन्दर्भ के हुन् ?

दोस्रो सवाल हो– ‘राजनीति’ । राजनीतिक सन्दर्भमा तपाईंहरूले नै उठाएका केही सन्दर्भ जोड्न चाहन्छु । केही दिनअघि राजधानीमा तपाईंसहित प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहको भेला सम्पन्न भयो । भेलाको निचोड थियो– सरकारले जनजीविकाको विषय सम्बोधन गर्न सकेन, अर्थतन्त्रका सूचक सन्तोषजनक रहेनन्, जनतालाई राहत दिन सरकार पूर्ण रूपमा चुक्यो, नीतिगत भ्रष्टाचार व्यापक बढ्यो, परराष्ट्र नीति राम्रोसँग चल्न सकेन र सभापति देउवा कांग्रेसको भन्दा पनि गठबन्धनका सभापति भएको मात्र नभई पार्टीभित्रको फरक धारलाई ‘बाइपास’ गर्नुभयो ।

आगामी निर्वाचनमा काठमाडौं– ४ बाट विजयी बन्नासाथ तपाईंले पार्टीको संसदीय दलको नेताका रूपमा दाबी प्रस्तुत गरी सिंगो देशको प्रधानमन्त्रीका रूपमा आफूलाई उभ्याउने उच्च मनोबल देखाउन सक्नुहुन्छ वा हुन्न ?
 

देशलाई बालुवाटार, बालकोट, खुमलटार वा बुढानीलकण्ठबाट मात्र चलाउन खोज्ने नेतृत्व आजका मितिमा राजनीतिमा हाबी भए, तिनैले सुशासन कायम गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई निष्पक्ष ढंगले काम गर्न दिएनन्जस्ता थप सवाल तपाईंहरूको समूहगत बैठकमा छुट्न पुग्यो । आज राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्योगी–व्यवसायीले महिनौ प्रधानमन्त्रीलाई भेट्न नसक्ने तर, बिचौलियाको प्रवेश भने प्रधानमन्त्रीको बेडरुमसम्मै हुने परिपाटीले मुलुकको अवस्थाको प्रस्ट चित्रण गरेको छ । विचार र उमेरले ७७ पुगेका देउवा, ८० पुगेका महन्थ ठाकुर, ७१ पुगेका केपी ओली, ७० का माधव नेपाल र ६८ का पुष्पकमल दाहालसँग अझै तपाईंहरूले आशा राखेर मागपत्र तेस्र्याउनु आफैँमा हास्यास्पद छ । उहाँहरूसामु तपाईं र तपाईंको उमेर समूहले दबाबमूलक तरिकाले विश्राम दिलाउने कि मागपत्र लिएर ढोका ढकढक्याउन पुग्ने ?

 राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमसँगै आफ्नो  ‘विवेक’को मत राम्रैसँग प्रयोग गर्न सक्ने मतदाताको प्रतिनिधिसमेत हो तपाईं । सीधा प्रश्न गर्न चाहन्छु– आगामी निर्वाचनमा काठमाडौंं– ४ बाट विजयी बन्नासाथ तपाईंले पार्टीको संसदीय दलको नेताका रूपमा दाबी प्रस्तुत गरी सिंगो देशको प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्ने उच्च मनोबल प्रस्तुत गर्न सक्नुहुन्छ वा हुन्न ? यही प्रश्नको जवाफको सेरोफेरोमा तपाईंप्रतिको दृष्टिकोण हामी मतदाताले बनाउने हो । सुशासनदेखि ऋणको भारसम्मका विषयवस्तु मात्र नभई मुलुक निर्माणका महत्वपूर्ण योजना वृद्ध नेताबाट पूरा हुनै सकेनन् ।

जुन देशमा ५ बजे नै अर्थ मन्त्रालयमा बत्ती निभ्छ, त्यो देशले विकासको गति कसरी लिन सक्ला ? समृद्धिको चाहनास्वरूप पालैपालो कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपालगायतलाई जनताले पत्याएकै हुन् । हुँदाहुँदा दलका नेताप्रतिको वितृष्णाका कारण राजधानीजस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारको विजययात्रालाई तपाईं र तपाईंले प्रतिनिधित्व गर्ने दलले नजरअन्दाज पक्कै गर्न मिल्दैन । तसर्थ, दललाई सच्याएर सोही दलको नेतृत्व लिँदै सिंगो मुलुकको नेतृत्व लिने इच्छा त तपाईंमा पक्कै होला । अब त्यो आँट आगामी निर्वाचनमा तपाईंलाई मत दिने हामी मतदाताले तपाईंबाट देख्नेछौँ वा पुनः टालटुले जवाफमै हामीले चित्त बुझाउनुपर्नेछ ? यसको पनि ‘हाताहाती’ जवाफको अपेक्षा छ । 

वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा स्वतन्त्र नागरिक डाक्टर सन्दुक रुइतले एक टेलिभिजन अन्तर्वार्तामा तपाईंले स्वास्थ्यमन्त्रीको हैसियतमा गरेको कामका आधारमा तपाईंप्रति अत्यन्तै भरोसा मुलुकले राख्न सक्ने ठम्याइसहितको विचार प्रस्तुत गर्नुभयो । यसबाट समाजका विभिन्न तह र तप्काले तपाईंप्रति उच्च भरोसा राखेको ठम्याइ मेरो पनि छ । आजका मितिमा मुलुकको आँखा नै तपाईं र तपाईंको पुस्तामा अडिएको छ । लि क्वान युले सिंगापुर र देङ स्याओ पिङले आधुनिक चीन निर्माण गरे भनेर धेरै लेखियो, पढियो । ‘आधुनिक नेपालका प्रधानमन्त्री गगनकुमार थापाले नव नेपाल निर्माण गरे भनेर भावी पुस्ताले नभई हाम्रै पालामा हामीले नै लेख्ने र पढ्ने पात्र बन्न तपाईंभित्र मुलुकका लागि केही गरौँ भन्ने ‘हुटहुटी’ अवश्यै हुनुपर्छ । तर, त्यो हुटहुटी कार्यान्वयनका निम्ति ‘पाए लिन र नपाए खोस्न’ तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न ? र, वा, किन्तु, पर्यन्त आदि इत्यादिविनै यसको ‘हाताहाती’ र ‘खनखनी’ जवाफको अपेक्षासहित बाँकी तपाईंको जवाफपछि आवश्यकताअनुसार प्रतिप्रश्न गर्ने अनुमति चाहन्छु ।
उही तपाईंको निर्वाचन क्षेत्रको मतदाता सुदर्शन