१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Saturday, 21 September, 2024
अल जजिरा
२o८o असार ६ बुधबार o६:५२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानको नयाँ मिसाइलबाट चिन्तित अमेरिका

Read Time : > 1 मिनेट
२o८o असार ६ बुधबार o६:५२:oo

इरानले गत जुन ६ मा ‘फताह’ नामक हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्रको अनावरण ग¥यो । इरानको शक्तिशाली सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कार्प (आइआरसिजी)’ले गत वर्ष नोभेम्बरमा पहिलोपटक आफूहरूसँग हाइपरसोनिक मिसाइल भएको घोषणा गरेको थियो, त्यसको अनावरण भने अहिले आएर भयो । यो मिसाइल जुनसुकै मिसाइल प्रतिरक्षा प्रणाली तोड्न सक्षम रहेको उसको दाबी छ, जुन इरानसँग तिक्त सम्बन्ध रहेका पश्चिम र इजरायलका लागि थप चिन्ताको विषय बनेको छ । 

हाइपरसोनिक मिसाइल ती क्षेप्यास्त्रलाई भनिन्छ, जो कम्तीमा ‘म्याच ५’ अर्थात् ध्वनिभन्दा पाँच गुणा तीव्र गतिमा उड्न सक्छन् । यिनले १.७ किलोमिटर प्रतिसेकेन्ड अर्थात् एक घन्टामा कम्तीमा ६ हजार एक सय ७४ किलोमिटर उडान भर्न सक्छन् । इरानले उसको हाइपरसोनिक मिसाइलको दायरा एक हजार चार सय किलोमिटरसम्म पर्ने दाबी गरेको छ । साथै यसले ‘म्याच १५’ ( प्रतिसेकेन्ड ५.१ किलोमिटर )को गतिमा आफ्नो लक्ष्यमा मार हान्न सक्ने दाबी गरेको छ ।

विश्वमा हालसम्म रुस र चीनले हाइपरसोनिक हतियारका विभिन्न शृंखला प्रदर्शन गरिसकेका छन् । युद्धक्षेत्रमा समेत प्रयोग गर्न मिल्ने हाइपरसोनिक मिसाइल परीक्षण भने मस्कोले मात्र गर्न सकेको छ । अमेरिकाले पनि हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ, तथापि ऊ यस प्रविधिमा आफ्ना दुई प्रतिद्वन्द्वी चीन र रुसभन्दा केही पछि छ । इरान अहिले आफूले विकास गरेको हाइपरसोनिक मिसाइल अमेरिकाको भन्दा उन्नत भएको दाबी गरेको छ ।

मिसाइलको अनावरणको समाचार प्रसारण गर्दा इरानले आफ्नो स्थायी शत्रु मानेको इजरायलका मिडियाले मिसाइल चार सय सेकेन्डभित्रै इजरायलमा पुग्ने प्रचार गरेका थिए । तीव्र गतिका कारण त्यसलाई इजरायलको चर्चित ‘आइरन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले पनि पहिचान गर्न र नष्ट गर्न सक्दैन ।

वासिंटनले हाइपरसोनिक क्षेप्यास्त्रबारे सीधा टिप्पणी त गरेको छैन, तथापि राष्ट्रिय सुरक्षा परिषद्का अधिकारी जोन किर्बीले बाइडेन प्रशासन ‘मध्यपूर्वमा इरानको अस्थिर गतिविधिलाई तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमको स्तरोन्नतिलाई रोक्न दृढ रहेको’ बताए । जुन ६ को हाइपरसोनिक मिसाइल अनावरणलगत्तै अमेरिकाले तेहरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ, जसमा ब्यालिस्टिक मिसाइल कार्यक्रमका सम्बन्धित प्रतिबन्ध समावेश छन् ।