मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ४ सोमबार o७:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश संसदीय दलका नेतालाई ओलीको निर्देशन– मुख्यमन्त्री र अर्थमन्त्रीको बजेट दुरुपयोगको सशक्त विरोध गर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ४ सोमबार o७:३४:oo

एमाले अध्यक्ष केपी ओलीले प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेर पैतृक सम्पत्तिजस्तै दुरुपयोग गरेकाले सशक्त विरोध गर्न निर्देशन दिएका छन् । पार्टी प्रदेश संसदीय दलका नेताहरूसँग आइतबार ‘भर्चुअल बैठक’मा उनले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर नबनाई प्रदेशहरूले स्वार्थप्रेरित बजेट ल्याएको भन्दै आपत्ति जनाए । 

‘बजेट विनियोजन पैतृक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक छ, त्यसैले बजेटका गलत कुरा सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्नुस्,’ ओलीले भने । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुरालाई परिवर्तन गर्ने गरी उठाउन उनले ध्यानाकर्षण गराए ।

एमाले प्रतिपक्षमा रहे पनि सही बजेट ल्याउन सहयोग गर्नुपर्ने उनको भनाइ थियो । ओलीले सातै प्रदेशका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेका थिए । त्यसपछि कोसी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्नलायक नरहेको भन्दै त्यसअनुसार नै अगाडि बढ्न निर्देशन दिएका थिए । 

कोसी प्रदेशमा प्रदेश सभाको दुईतिहाइले विधिवत् ढंगले निर्णय गरेको कोसी नामकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै कोसी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्ण रूपमा समेट्ने ओलीले दाबी गरे । उनले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

बैठकमा प्रदेश सभा संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए । उनीहरूले बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको जानकारी गराएका थिए । बैठकलाई सहजीकरण गर्दै पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारमा रहेको गठबन्धनले प्रदेशको औचित्य समाप्त गर्न चाहनेलाई सहयोग पुर्‍याउने काम गरिरहेको बताए ।