मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Thursday, 19 December, 2024
मेलम्ची खानेपानी आयोजनाको मुहानमै पुगी शनिबार निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रासस
शिवहरि घिमिरे सिन्धुपाल्चोक
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o असार ३ आइतबार o८:१६:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यांग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याइने

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, सिन्धुपाल्चोक
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o असार ३ आइतबार o८:१६:oo

क्षतविक्षत मेलम्ची आयोजनाको प्रधानमन्त्रीले गरे निरीक्षण

काठमाडौं उपत्यकाको खानेपानीको संकट समाधान गर्न सरकारले मेलम्चीसँगै यांग्री र लार्के खोलाको पानी पनि ल्याउने कार्यलाई प्राथमिकता दिएको छ । मेलम्ची आयोजनाअन्तर्गत नै हुने गरी यी खोलाबाट थप दैनिक ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना छ ।

शनिबार मेलम्ची आयोजनास्थलको निरीक्षणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यांग्री र लार्के खोला आयोजनाका लागि उत्तिकै तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै सरकारको तर्फबाट उच्च प्राथमिकता दिइने बताए । मेलम्ची, यांग्री र लार्के खोलाको खानेपानी काठमाडौं लैजाँदा त्यस क्षेत्रमा स्थानीयवासीको माग सरकारले सुनुवाइ गर्ने प्रतिबद्धता उनले जनाए । 

प्रधानमन्त्री प्रचण्ड, खानेपानीमन्त्री महिन्द्रराय यादव, स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेश भौतिक पूर्वाधारमन्त्री युवराज दुलाललगायत स्थानीय जनप्रतिनिधि मेलम्ची खानेपानीको बाँध निरीक्षणमा निस्किएका थिए । 

सरकारले मेलम्ची आयोजनाअन्तर्गत नै रहने गरी दैनिक थप ३४ करोड लिटर पानी ल्याउने गरी एक वर्षअघि नै यांग्री र लार्के योजना अघि बढाएको हो । तर, हालसम्म काम अघि बढेको छैन । समयमै काम सकिए एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा अबको तीन वर्षभित्र लार्के–यांग्रीबाट थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । यो योजना सम्पन्न भएपछि उपत्यकामा खानेपानी फालाफाल हुने सरकारको दाबी छ । लार्के–यांग्री खोला मेलम्चीको बाँधदेखि करिब ११ किलोमिटर टाढा छ । लार्के–यांग्रीसम्मको ११ किमि टनेल, दुईवटा इन्टेक र दुईवटा बाँध निर्माणका लागि २० अर्ब रुपैयाँ लागत अनुमान सरकारले गरेको छ । 

बर्खामा डाइभर्सन टनेल थुनिने डरले खानेपानी बन्द गर्ने तयारी
मेलम्ची खानेपानी आयोजना यो वर्ष पनि बर्खाको समयमा बन्द हुने भएको छ । दुई वर्षअघि नै मेलम्ची खानेपानीको बाँधमा पुगेको क्षतिको समाधान नहुँदा र त्यसको विकल्पमा खोलिएको डाइभर्सन टनेल थुनिने डरमा यो वर्ष पनि बर्खाको वेला खानेपानी बन्द गर्ने तयारी गरिएको हो । १ असार ०७८ र सोही वर्षको १६ र १७ साउनमा मेलम्ची खोलामा बाढी आउँदा मेलम्ची खानेपानीको मुहान क्षेत्र क्षतिग्रस्त भएको थियो । तर आयोेजनाको बाँध क्षेत्र व्यवस्थित गर्ने काम नभएपछि बर्खायाममा खानेपानी बन्द हुने मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पद्म कँुवरले बताए । उनले अहिले मेलम्चीमा खानेपानी घटे पनि बर्खा सुरु भएसँगै लेदोसहितको पानी आएर टनेल नै थुनिने डर भएकाले ढोका बन्द हुने बताए । 

कुँवरका अनुसार दुई वर्षअघिको बाढीका कारण मुख्य बाँध पुरिएको थियो । बाँध अझै बनेको छैन । हाल काठमाडौंमा पानी पठाइएको बाँध सानो छ । यही बाँधबाट हाल मेलम्चीबाट दैनिक उपत्यकामा १७ करोड लिटर पानी आइरहेको छ । यो बाँध वैकल्पिक रूपमा निर्माण गरिएको हो । तर, बाढीका कारण क्षति पुगेको मुख्य टनेल नै निर्माण हुन नसकेपछि हाल वैकल्पिक टनेलबाट पानी पठाइएको छ । ‘वर्षाको पानी धमिलो हुन्छ, सानो टनेलबाट पठाउँदा झन् थुनिने डर हुन्छ,’ उनले भने, ‘त्यसकारण बर्खामा बन्द गर्नैपर्ने हुन्छ ।’ उनका अनुसार झरी पर्न थालेपछि बाँध बन्द गर्ने तयारी भएको छ । १ असार ०७८ मा हेलम्बुको शिर मानिने भेमाथाङबाट आएको बाढीले मुहानस्थलमा सम्पन्न हुने क्रममा रहेको हेडबक्समा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । मुख्य बाँधमा क्षति पुर्‍याएपछि त्यसको नजिकै रहेको डाइभर्सन टनेलबाट पानी पठाउन थालिएको थियो । 

सरकारले ०७८/७९ को बजेट भाषणका क्रममा मेलम्ची आयोजनाको संरचना निर्माण गर्दै आएको र सडकसमेत बनाउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना विकास समिति खारेज गरेको थियो । तर, आयोजनाको काम सम्पन्न नभइनसकेको भन्दै १५ जेठमा बजेट भाषणका क्रममा सरकारले आयोजना ब्युताएको छ । समितिका प्रमुख कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको काम नसकिँदै सरकारले समिति खारेज गर्दा एक वर्ष काम नभएको बताउँदै यसलाई सम्पन्न गर्न सरकारले चासो दिनुपर्ने बताए । ‘यो आयोजनाको काम अझै धेरै छ, सरकारले हिउँदमा पानी आएको देखेर मात्रै सबै काम सकिएजस्तै मान्यो,’ उनले भने, ‘समिति ब्युँताइएपछि धमाधम काम सुरु भइरहेको छ ।’ उनले एडिबीका प्राविधिक टोलीले पनि बाँध क्षेत्रमा काम गरिरहेको बताउँदै बर्खा सुरु भएपछि काम गर्न नसकिने अवस्था रहेको बताए ।  

ठुल्ठूला पहिरो पन्छाउन अझै बाँकी 
मेलम्ची खानेपानीको टनेल रहेको क्षेत्र बाढीपहिरोको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ । यसअघि बाढीले क्षतिग्रस्त हेडबक्सस्थल, इन्टेक, सुरुङ गेटको अवस्था अझै अस्तव्यस्त छ । मुहानस्थल अम्बाथाङ वरपर र भेमाथाङसम्म ठुल्ठूला १५ भन्दा बढी पहिरो छन् । आयोजनालाई चारैतिरबाट पहिरोले घेरेको छ । आयोजनास्थल जाने सडकको अवस्था पनि नाजुक छ । मेलम्ची खोलामा बाढी आउँदा वा खोलाको बहाव बढ्यो भने ओहोरदोहोर गर्न सकिने अवस्था छैन । बाढीपछि ओहोरदोहोर गर्न पुलसमेत निर्माण हुन सकेको छैन भने खोलामै बगरबाट सडक बनाइएको छ । सबैतिर बाढी पहिरोको जोखिम र बाँधभन्दा माथिबाट जुनसुकै वेला बाढी आउन सक्ने भएकाले सुरुङको गेट बन्द गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ । 

दुई वर्ष बित्यो ओहोरदोहोर गर्न झोलुङे पुलसमेत बनेन
बाढी आएको दुई वर्ष बित्दा पनि मेलम्ची खोला आसपासको अवस्था उस्तै छ । बाढीले कटान गरेको र क्षति पुर्‍याएको संरचना व्यवस्थित ठाउँमा सार्ने कार्य नभएपछि स्थानीयवासी बगरमै शरण पर्न बाध्य छन् । बाढीले घर लडाएर विस्थापित भएर अन्यन्त्रै आश्रय लिन पुगेका छन् । तर, मेलम्ची खोलाको माथिपट्टि रहेका गाउँगाउँबाट ओहोरदोहोर गर्न सडक तथा झोलुङे पुल निर्माण भएका छैनन् । बर्खायाम सुरु हुनै लाग्दा खोलाबाट वारपार गर्न पुल नबन्दा स्थानीयवासी समस्यामा परेका छन् । 

गाउँपालिकाका अनुसार केन्द्र सरकारले चासो नदिँदा खोला व्यवस्थित गर्ने, बाढीमा पुरिएका घरको भग्नावशेष हटाउने, जोखिम अवस्थामा रहेकाहरूलाई स्थानान्तरण गर्ने, आकासेपुल निर्माण गर्नेलगायत काम बाँकी छ । हेलम्बु गाउँपालिकाअन्तर्गत मेलम्ची खोलाआसपासका ३०९ वटा निजी आवासमा पूर्ण क्षति पुगेको थियो भने मेलम्ची आयोजनासहित २४ जनालाई बाढीले बगाएको थियो । खोला क्षेत्रमा रहेका १० वटा ट्राउट माछा फर्म, १८७३ रोपनी खोतीयोग्य जमिन बगरमा परिणत भएको थियो । बाढीसहित आएको ढुंगामाटोले घर तथा खेतीयोग्य जमिन पुरेपछि स्थानीयवासी विस्थापित भएका थिए । बाढीका कारण ६ वटा पुल, सातवटा झोलुंगे पुलमा क्षति पुगेको थियो । 

२५ प्रतिशत लेबी माग गर्दै प्रधानमन्त्रीसँग हेलम्बु गाउँपालिकाको ज्ञापन
प्रधानमन्त्री प्रचण्डलाई हेलम्बु गाउँपालिकाले विभिन्न १९ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको छ । राजनीतिक दलका नेता, जनप्रतिनिधि र हेलम्बुवासी ग्याल्थुमको चनौटेमा जम्मा भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालगायतले मेलम्ची आयोजनाले २५ प्रतिशत लेबी दिनुपर्ने माग राखे । यसका अलावा बाढीपीडितलाई राहत, सडक, हेलम्बु ग्रेट ट्रेल, खानेपानी प्रभावित स्थानीयको मागसम्बन्धी बुँदा ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय जनताको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

राष्ट्रिय गौरवको आयोजना आउने बाटो देख्दा चिन्तित छु : प्रधानमन्त्री
स्थलमार्गबाट मेलम्ची आयोजनाको बाँध तथा सडक निरीक्षणमा निस्किएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ पुग्ने सडककोे अवस्था सहज होला भन्ने सोचेका थिए । तर, आफैँ गाडी चढेर आयोजनास्थल पुगेका उनी राष्ट्रिय गौरवको आयोजना पुग्ने सडक देखेर चकित बने । मेलम्ची बजारदेखि आयोजनास्थलसम्म करिब २२ किमि सडक अस्तव्यस्त छ । अधिकांश सडकमा दुई वर्षअघि आएको बाढीले क्षति पुर्‍याएको थियो ।

पहिले बनिसकेको सडक अहिले बगर बनेको छ । बगरैबगर र खाल्डाखुल्डी हुँदै आयोजनास्थल पुगेका प्रचण्डले सडकको हालत देख्दा आफू चिन्तित बनेको बताए । ‘यति ठूलो परियोजना यति संवेदनशील राष्ट्रिय गौरवको आयोजनामा आउनका लागि बाटोलाई व्यवस्थित गर्न नसक्नु दुःखको कुरा हो,’ उनले भने, ‘बाटो नहुँदा बाँकी काम गर्न अप्ठ्यारो हुने म आफैँले पनि महसुस गरेँ, मेरो ध्यान अब बाटोलाई व्यवस्थित गर्नेतर्फ ध्यान हुनेछ ।’

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ र इन्जिनियरहरूले आयोजनाको अवस्थाबारे प्रधामन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । उनले आयोजना सञ्चालनका लागि सरकारको तर्फबाट अन्य आवश्यक सहयोग हुने आश्वासनसमेत दिँदै समितिलाई आयोजना व्यवस्थितको काम गर्नसमेत निर्देशन दिए । प्रधानमन्त्रीले यस क्षेत्रमा बाढीपहिरोको जोखिमसमेत रहेकाले भवितव्य बजेट छुट्याउनेसमेत बताए । उनले मुहानस्थल अम्बाथाङ पुगेर आयोजनाको क्षतिग्रस्त इन्टेक निरीक्षण गरेका थिए ।

आयोजनाका कार्यकारी निर्देशक श्रेष्ठले प्रचण्डलाई बाढीले क्षतिग्रस्त हेडवक्र्सस्थल, इन्टेक, सुरुङ गेटको अवस्था जानकारी गराए । मुहानस्थल अम्बाथाङवरपर र भेमाथाङसम्म ठुल्ठूला १५ वटा पहिरो रहेकाले जतिवेला पनि सुरुङको गेट बन्द गर्नुपर्ने हुन सक्ने प्रधानमन्त्रीलाई ब्रिफिङ गरे । इन्जिनियर र प्राविधिकको कुरा सुनेपछि प्रधानमन्त्रीले राजधानी पानी पठाइरहन गर्नुपर्ने सबै विधि पूरा गर्न र बर्खायाममा विपद् व्यवस्थापनको तयारी गर्न निर्देशन दिए । मुहान क्षेत्र अम्बाथाङ भौगोलिक रूपमा उच्च जोखिममा छ । चारैतिरबाट पहिरोले घेरेको र भेमाथाङमा थुप्रिएको ढुंगा, माटो र बालुवा वर्षात्मा जतिवेला पनि बग्न सक्ने अवस्था छ ।