प्रत्येक बलात्कारले समाजको संवेदनालाई भुत्ते बनाउँदै अर्काे बलात्कार स्विकार्न तयार पार्छ र यस्तो कुकर्म सामान्य हुँदै जान्छ
मुम्बईको खचाखच भरिएको सिनेमा हलमा मेरी भतिजीले मेरी भाउजूसँग पहिलोपटक सामूहिक बलात्कारबारे सोध्दै गर्दा ऊ चार वर्षकी मात्र थिई । हामी उक्त हलमा भिजिलान्ते न्याय, राष्ट्रवादको राप र सामूहिक बलात्कार वरिपरि बनेको नयाँ बलिउड ब्लकबस्टर हेरिरहेका थियौँ । फिल्ममा चारजना पुरुष पात्रले नायककी बहिनीलाई समातेर घिसार्दै लग्छन् । ‘उनीहरूले ‘दिदी’लाई कहाँ लगेको ?’, मेरी सानी भतिजीले ‘दिदी’लाई हिन्दीमा उच्चारण गर्दै सोध्छिन् । हलमा अँध्यारो छाएको थियो, तर पनि म उसको सानो टिकुले निधार चिन्ताले खुम्चिएको सहजै देख्न सक्थेँ ।
‘दिदी’को सामूहिक बलात्कार अफ स्क्रिन थियो, बलात्कार भएको बुझाउन सिन देखाउनै नपर्ने भएकाले । मृगको नवजात पाठोले स्यालबाट उत्पन्न हुने घातक खतरालाई सहजै महसुस गरेझैँ भारतका स–साना केटीलाई पुरुषहरू के गर्न समर्थ छन् भन्ने सहज एहसास छ ।
तपाईंलाई उदेक लाग्न सक्छ ‘एउटी चार वर्षकी बच्चीलाई किन त्यस्तो चलचित्र देखाउन लगेको’ भनेर । तर, भारतको बलात्कार संस्कृतिबाट उम्किने कुनै उपाय छैन । भारतमा यौन आतंकवादलाई आदर्शको रूपमा लिइन्छ । समाज र सरकारी संस्थाहरूले अक्सर पुरुषका यौनहिंसाजन्य कर्ततुमा तिनलाई जोगाउने र माफ गर्ने भूमिका निर्वाह गर्छन् । यौनहिंसाका लागि उल्टै पीडित महिलालाई नै दोषी करार गरिन्छ र व्यक्तिगत सुरक्षाको बदलामा तिनका स्वतन्त्रता र अवसरको बन्धकी मागिन्छ । यस्तो संस्कृतिले सार्वजनिक जीवनलाई नष्ट भ्रष्ट पार्छ । तब फिल्म तथा टेलिभिजन र बेडरुममा यौनमा महिलाको सहमति अज्ञात(अनुपस्थित) हुन्छ । चरम पुरुषप्रधान समाजबाट कलिला केटाहरूले बलात्कारकै भाषा सिक्ने हुन् । स्त्रीको सहमतिविना नै ऊसँग यौन सम्बन्ध राख्नु नै भारतीय नियति भएको छ ।
म के जान्दछु भने सामूहिक बलात्कारको त्रासदी भारतीय महिलामा सबैभन्दा भारी छ । तपाईंले महिलामाथिका सामूहिक बलात्कार, बलात्कारपछि अंगभंग एवं हत्या गरेर छोडिएका थुप्रै बीभत्स घटना सुनेकै हुनुपर्छ । जब कुनै घटनाले राष्ट्रिय ध्यान खिच्छ, तब आक्रोशको पारो उम्लिन्छ, कहिलेकाहीँ महिला विरोध प्रदर्शनमा उत्रिन्छन् पनि, तर सबै कुरा चाँडै सेलाएर जान्छन् । सम्पूर्ण भारतीय महिला पीडित छन् यसबाट । प्रत्येक महिला आहत छन्, हरेक महिला क्रोधित छन्, हरेकले आफू लुटिएको महसुस गर्छन् र प्रत्येक महिला आजित छन् । हामीमध्ये धेरैजना सामूहिक बलात्कारबारे अनुमानभन्दा बढी चिन्तित हुने गर्छौं ।
सन् २०११ मा भारतमा हरेक २० मिनेटमा एक महिला बलात्कृत भएको सरकारी तथ्यांकले देखाएको छ । सन् २०२१ मा आइपुग्दा बलात्कारको गति बढेर हरेक १६ मिनेटमा एक महिला बलात्कृत भए । सन् २०२१ मा ३१ हजारभन्दा बढी बलात्कारका घटना दर्ज भएका थिए, जुन सन् २०२० को तुलनामा २० प्रतिशतले बढी हो । सन् २०२१ मा सामूहिक बलात्कारका मात्रै दुई हजार दुई सय घटना दर्ज भए ।
यो अत्यासलाग्दो आँकडाले पनि कथाको केही अंश मात्र बताउँछ । एक अध्ययनअनुसार शारीरिक वा यौनहिंसाको अनुभव गरेका ७७ प्रतिशत भारतीय महिला घटनाबारे कहिल्यै कसैलाई बताउँदैनन् । उजुरी भए पनि अभियोजन बिरलै हुन्छ । भारतमा भ्रष्ट शक्तिलाई चुनौती दिने खालका पुरुष, मुसलमान, दलित वा जातीय अल्पसंख्यक हो भने मात्रै उक्त पुरुषले अभियोजनको सामना गर्नुपर्ने हुन सक्छ ।
जबकि भारतीय महिला, महिला भएकैले पीडित छन् । अनुसन्धाताका अनुसार भारतमा महिलाविरुद्ध हिंसाका घटना दशकौँदेखि निरन्तर बढेकाबढ्यै छन्, केही अनुसन्धाताले भने पीडितको उजुरी गर्ने प्रवृत्तिमा वृद्धि भएको पनि उद्धृत गरेका छन् । प्रत्येक बलात्कारले समाजको संवेदनालाई भुत्ते बनाउँदै अर्काे बलात्कार स्विकार्न तयार पार्छ र यस्तो कुकर्म सामान्य हुँदै जान्छ ।
सामूहिक बलात्कारलाई हतियारको रूपमा प्रयोग गरिन्छ, विशेषगरी तल्लो जात र मुसलमानविरुद्ध । मेरो उमेरका महिलाले सबैभन्दा पहिले सम्झिने दृष्टान्त सन् १९८० को हो । जब दलित किशोरी फुलन देवीलाई उच्च जातका आक्रमणकारीको समूहले अपहरण गरी पटक–पटक बलात्कार गरेको थियो । पछि फुलन आफ्नो समूहसहित गइन् र उनको समूहले २२ जना उच्च जातिका पुरुषको हत्या गर्यो । हिंस्रक बन्न बाध्य एक महिलाले बदला लिएको यो दुर्लभ उदाहरण थियो । यदि त्यो रक्तपातपूर्ण प्रतिशोध हुँदैन थियो भने सायदै उनको बलात्कारको घटना समाचार शीर्षक बन्ने थियो ।
फुलनले जातीय रंगभेदलाई उजागर गरिन् । मेरी पुस्ताकी सामूहिक बलात्कारपीडित बिल्किस बानोमाथिको अत्याचारले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको छत्रछायाका भारतीय संस्थामा मुस्लिम महिलाप्रति रहेको घृणालाई उजागर गरेको छ । सन् २००२ मा गुजरात राज्यमा भड्किएको हिन्दू–मुसलमानबीच भएको हिंसाले उग्ररूप लियो । १९ वर्षीया गर्भवती बानोलाई आक्रोशित हिन्दू युवाको भिडले सामूहिक बलात्कार गरेको थियो, जसमा उनकी तीन वर्षीया छोरीसहित उनका १४ जना नातेदारसमेतको हत्या भयो । आलोचकहरूले गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीले यो दंगाप्रति आँखा चिम्लेको आरोप लगाएका छन् । स्मरणर होस्, त्यस दंगायता उनले कुनै चुनाव हारेका छैनन् ।
बानोको जीवनले अर्कै बाटो लियो । यस आक्रमणपछि परिवारको सुरक्षाका लागि उनले पटक–पटक घर सरिरहिन् । गत अगस्टमा बलात्कार आरोपमा आजीवन काराबासको सजाय पाएका ११ अपराधी मोदीको सत्तारुढ दलका सदस्य सम्मिलित पुनरावलोकन समितिको सिफारिसमा रिहा भए, जसलाई जेलबाट बाहिरिएपछि हिन्दू दक्षिणपन्थीहरूले फूलमालाले स्वागत गरेका थिए ।
उनीहरूको रिहाईको समय शंकास्पद थियो । गुजरातमा केही महिनापछि महत्वपूर्ण चुनाव हुँदै थियो र मोदीको पार्टीलाई भोट चाहिएको थियो । उनको पार्टीका एक सदस्यले यस प्रकरणलाई लिएर उच्च जातका ब्राह्मणका रूपमा आरोपितहरूको चालचलन असल रहेकाले उनीहरू जेलमा राखिराख्नुपर्ने खालका नभएको तर्क गरे । यी नियम पुरुषलाई थाहा छ । यी कानुन उनीहरूले नै लेखका हुन् । सबैभन्दा डरलाग्दोचाहिँ के छ भने बलात्कारीलाई रिहा गर्नु भनेको भोट बटुल्नु भएको छ ।
बानोपछि सन् २०१२ मा फिजियोथेरापीकी एक छात्रालाई गुडिरहेको बसमा बलात्कार गरियो र फलामे रडले घोचेर उनको योनीलाई क्षतविक्षत् पारियो । पीडिताको नाङ्गो शरीरलाई नयाँदिल्लीको व्यस्त सडकमा फ्याँकियो । निर्घात चोटका कारण उनको मृत्यु भयो । महिलाहरूले धेरै दिनसम्म विरोध प्रदर्शन जारी राखे । पुरुषहरू पनि पानीको फोहोरा र अश्रुग्यासको सामना गर्दै प्रदर्शनमा सहभागी भए । बलात्कारविरुद्ध नयाँ कानुन ल्याइयो । समय फरक थियो, त्यसैले हामीले सहजै विश्वास गर्याैँ । तर, सन् २०१८ मा एक आठ वर्षीया मुस्लिम बालिकालाई नशालु पदार्थ खुवाई हिन्दू मन्दिरमा लगेर कैयौँ दिन सामूहिक बलात्कार गरी हत्या गरियो । सन् २०२० मा एक १९ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भयो, उनको मेरुदण्ड भाँचिएको थियो । घाउचोटकै कारण पछि उनको मृत्यु भयो ।
सामूहिक बलात्कारको भयले हामीलाई कहिल्यै पनि छोडेन । हामी समूहमा बाहिर जान्छौँ, आफूलाई ढाकेर हिँड्छौँ, खुर्सानीको स्प्रे बोक्छौँ, जिपिएस ट्याकिङ उपकरण बोक्छौँ, सूर्यास्तपछि सार्वजनिक स्थानबाट टाढा रहन्छौँ र पनि आक्रमण भइहाले गुहार होइन, आगो–आगो भनेर चिच्याउन आफँैलाई सम्झाउँछौँ । तर, हामीलाई थाहा छ यस्ता कुनै पनि सावधानीले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्दैन ।
मैले सामूहिक बलात्कारलाई बुझ्न सकेको छैन । के यो दमन एवं अपमानित गर्ने मध्ययुगीन इच्छा हो ? मलाई केचाहिँ थाहा छ भने यो दोष अन्य पुरुषलाई पनि जान्छ । किनकि अनगिन्ती दाजुभाइ, बुबा, छोरा, साथी, छिमेकी र सहकर्मी पुरुषले सामूहिक रूपमा नै महिलाहरूको शोषण प्रणाली खडा गरेका हुन् र यसलाई कायम राखेका छन् । यदि महिलाहरू डराउँछन् भने यी पुरुषकै कारण डराउँछन् । यो भयानक ‘संरक्षण र्याकेट’ हो ।
म केवल समानता मागिरहेको छैन । म क्षतिपूर्ति चाहन्छु, हर्जाना चाहन्छु । म कलिला केटीहरूलाई बानो र फुलन देवीका बारेमा पढाइयोस् भन्ने चाहन्छु । म उनीहरूका स्मारक बनाउन चाहन्छु । तर, पुरुषहरू हामीलाई सबै कुरा बिर्साउन चाहन्छन् । बानोका बलात्कारीको रिहाई हामीलाई पुगेको आघातको पुरुष इन्कारी थियो ।
त्यसैले हामी शब्द र सम्झनाहरूको स्मारक निर्माण गर्छाैं । हामी सामूहिक बलात्कारलाई आफ्नो जीवनको केन्द्रमा राख्दै यसबारे आपसमा कुरा गर्छाैं । हामी हाम्रो सबैभन्दा सानी सदस्यलाई यसबारे बताउने र उनीहरूलाई जोगाउने यत्न गर्छाैं । यसरी नै पराजितहरूको इतिहास अभिलिखित हुन्छ । यसको मूल कुरा बिर्सिने (प्रताडक) र सम्झिने (पीडित)बीचको लडाइँ हो ।
(कृष्णन स्वास्थ्य बिटमा विज्ञता हासिल गरेकी भारतीय पत्रकार हुन् । उनको पुस्तक ‘द फ्यान्टम प्लेग : हाउ ट्युबरक्लोसिस सेप्ड हिस्ट्री’ प्रकाशित छ ।)
न्युयोर्क टाइम्स