मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २७ शनिबार o८:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘दिगो लक्ष्य प्राप्त गर्न बिमा क्षेत्रको भूमिका महत्वपूर्ण’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार o८:१७:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो विकासको लक्ष्यलाई सुनिश्चितता गर्नका लागि बिमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् । नेपाल बिमा प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एसियाली बिमा सम्मेलनको उद्घाटन गर्दै बिमा क्षेत्रको महत्वका बारेमा बताएका हुन् ।

प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइबर चुनौतीलगायतका नयाँ–नयाँ जोखिमहरूले बिमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यावसायिक सुरक्षामा समेत प्रभाव पारेको अर्थमन्त्री महतले बताए । ‘बिमा क्षेत्रका नियामक निकायहरूले परिवर्तित जोखिमहरूलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदान–प्रदान र सामूहिक सिकाइ आवश्यक छ ।’

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बिमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कृषि बिमाको प्रवद्र्धन, लघुबिमालाई प्रोत्साहन र बिमाको पहुँच वृद्धिका लागि समावेशी बिमाजस्ता नयाँ नीतिहरू कार्यान्वयनमा ल्याएको जानकारी गराए । बिमा क्षेत्रका नियामकले नयाँ प्रविधिको प्रयोग, बिमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बिमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरूको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने उनको धारणा थियो । 

सम्मेलनको दोस्रो दिनको सत्रमा जलवायु परिवर्तनका चुनौती र बिमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बिमक र पुनर्बिमकको भूमिका, भूकम्प बिमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषि बिमाको विकास र अभ्याससम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । बिहीबार पहिलो सत्रमा विभिन्न देशका बिमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेको थियो । पहिलो सत्रमा नेपाली बिमा क्षेत्र तथा नियामकीय ढाँचा, जोखिममा आधारित समाधान कार्यान्वयन, जोखिममा आधारित पुँजीगत ढाँचा, बिमा क्षेत्रमा नयाँ डिजिटल प्रविधि र बिमा व्यवसायको विकासका लागि नियामक निकायहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

शनिबारसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, कम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, थाइल्यान्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापानलगायत २० देशको सहभागिता छ । ती देशबाट बिमा क्षेत्रका नियामक निकायका पदाधिकारी, बिमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बिमा कम्पनी, पुनर्बिमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्ता, बिमांकी, बिमा ब्रोकर, बिमाविज्ञ र विभिन्न बिमा सेवाप्रदायक संघ–संस्थाका पदाधिकारीको सहभागिता रहेको छ ।