नेपालमा विदेशी पर्यटक आगमन कोभिड महामारीअघिकै अवस्थामा फर्किएको छ । मे २०२३ मा विभिन्न देशबाट ७७ हजार सात सय तीन पर्यटक भ्रमणका लागि आएका छन् । कोभिडअघि सामान्य अवस्था रहेका वेला मे २०१९ पनि ७८ हजार तीन सय २९ पर्यटक भित्रिएका थिए ।
कोभिडले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई मे महिनाको तथ्यांकले उत्साह थपेको पर्यटन बोर्डले जनाएको छ । कोभिडका कारण मे २०२० मा भने ३१ जना मात्रै पर्यटक नेपाल भ्रमणमा आएका थिए ।यस्तै, मे २०२१ मा १५ सय ३१ र मे २०२२ मा ५३ हजार ६ सय आठ पर्यटक नेपाल आएका थिए ।
मे महिनामा पनि सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । एक महिनामा भारतबाट ३६ हजार पाँच सय ७५, अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार ६ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अस्ट्रेलियाबाट दुई हजार एक सय ८४, बंगलादेशबाट दुई हजार एक सय ८४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७, साउथ कोरियाबाट एक हजार ३९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।