मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २२ सोमबार १०:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता मच्छिन्द्र उपाधि दौडमा कमजोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २२ सोमबार १०:१७:००

साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उपाधि दौडमा कमजोर देखिएको छ । नेपाल पुलिस क्लबसँग २–१ ले पराजित भएपछि मच्छिन्द्रको लगातार तेस्रोपटक उपाधि जित्ने अभियानमा धक्का लागेको हो । २४ खेलबाट मच्छिन्द्रले ३९ अंक जोडेको छ ।

मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग पाँच अंकले पछि परेको छ । उपाधि रक्षा गर्न मच्छिन्द्रले लगातार दुई खेल जितेर मात्र पुग्दैन, शीर्ष स्थानको चर्च ब्वाइजले बाँकी अन्तिम खेलमा हारको सामना गर्नुपर्ने हुन्छ । नवप्रवेशी चर्च ब्वाइजलाई भने पहिलोपटक उपाधि जित्न अब एक अंक खाँचो छ । 

अबको समीकरणअनुसार मच्छिन्द्रले दुवै खेलमा जित निकाल्दा ४५ अंक बटुल्नेछ । चर्च ब्वाइजले दुईवटै खेलमा जित निकाल्दा ५० अंक पुर्‍याउनेछ । चर्च ब्वाइजसँग समान अंक बनाउँदा पनि मच्छिन्द्रको उपाधि जित्ने सम्भावना रहनेछैन । हेड टु हेडमा चर्च ब्वाइज मच्छिन्द्रभन्दा अगाडि छ । 

चर्च ब्वाइजले लिगको दोस्रो लेगमा मच्छिन्द्रलाई २–१ ले हराएको थियो । यी दुई क्लबबीच पहिलो लेग गोलरहित बराबरी भएको थियो । पुलिसलाई सानदार जित दिलाउने क्रममा घानाका स्ट्राइकर मोसेसले सात मिनेटको अन्तरमा दुई गोल गरेका थिए । मच्छिन्द्रका ओलावाले अफिजले सुरुवाती गोल गरेका थिए । च्यासल मैदानमा आइतबार खेलको २७औँ मिनेटमा ओलावालेले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । मच्छिन्द्रले आफ्नो अग्रता मध्यान्तरपछि रक्षा गर्न सकेन । 

दोस्रो हाफपछि पुलिसले मच्छिन्द्रविरुद्ध पुनरागमन गोल मात्र गरेन, महत्वपूर्ण तीन अंकसमेत बटुल्यो । खेलको ७५औँ मिनेटमा मोसेले पुलिसलाई १–१ को बराबरीमा पुर्‍याए । मोसेले खेलको ८१औँ मिनेटमा पुलिसलाई २–१ को जित दिलाउन गोल गरे । यस जितसँगै पुलिस चौथो स्थानमा यथावत् रह्यो । पुलिसले २४ खेलबाट ३७ अंक जोडेको छ । ३७ अंकका साथ जावलाखेल तेस्रो स्थानमा छ ।

हिमालयन र एनआरटी बराबरी
न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । बराबरीसँगै हिमालयनले २४ खेलबाट ३१ अंक जोडेर सातौँ स्थान बलियो बनायो । एनआरटी ३० अंकका साथ नवौँ स्थानमा छ । हिमालयन र एनआरटीबीच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको ५२औँ मिनेटमा दिवस उराउले हिमालयनलाई १–० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा दिपेश आलेमगरले एनआरटीलाई १–१ को बराबरीमा पुर्‍याए ।

यसैबीच, मनाङ मस्र्याङ्दी र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा मनाङले अग्रता रक्षा गर्न सकेन । मनाङले खेलको ५२औँ मिनेटमा १–० को अग्रता लिएको थियो । नीराजन धामीले मनाङलाई १–० को अग्रता दिलाए । खेलको ८५औँ मिनेटमा अमित तामाङले फ्रेन्ड्सका लागि १–१ को बराबरी गोल फर्काए ।