मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ १२ शुक्रबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यार्सा टिप्न लेक जानेको लर्काे 

Read Time : < 1 मिनेट
२०८० जेठ १२ शुक्रबार १०:२३:००

मनाङका स्थानीय यार्सा संकलन गर्न खर्क पुगेका छन् । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा र लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका छन् ।

यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान अनुमति दिइएको  प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । । जिल्लाभित्र यार्सागुम्बाको सिजन सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यार्सा संकलनका लागि नारफु, नाम्ग्य खर्क, खाङ्सार खर्क पुगेका छन् ।

यार्सागुम्बा संकलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।  मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपयुक्त सिजनको रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सातजनाको स्थानीयले हत्या गरिदिएपछि मनाङको साबिकको नार र फु गाविसमा यार्सा संकलन रोकिएको थियो । नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।