मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०६:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको सेवा शुल्कमा थप एक वर्ष छुट

२९ जेठदेखि नेवानिको मलेसिया–भैरहवा उडान, भाडा साढे ११ हजार

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०६:१८:००

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले थप एक वर्षसम्म विभिन्न सेवा शुल्क छुट पाउने भएका छन् । सरकारले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा जाँच र ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा दिइएको छुट थप एक वर्षसम्म निरन्तरता दिने निर्णय गरेको हो । 

२ जेठ ०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न भन्दै ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा शुल्कमा शतप्रतिशत र ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिइँदै आएको छ । गत १४ जेठदेखि लागू गरिएको छुट सुविधा यही शनिबार सकिँदै थियो । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३ जेठ ०८१ सम्म छुट सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय वायुसेवालाई सेवा शुल्कमा दिइएको छुट सुविधा थप एक वर्षसम्म निरन्तरता दिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए । भैरहवामा सेवा शुल्क छुट दिए पनि अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित हुन सकेका छैनन् । विमानस्थल उद्घाटनकै दिनदेखि नै सातामा तीन उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले पनि अहिले उडान रोकेको छ । ३१ अर्बभन्दा बढी लगानी भएको विमानस्थल सञ्चालनको पहिलो वार्षिकोत्सव मनाइरहँदा एउटै अन्तर्राष्ट्रिय उडान छैन ।

नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठदेखि मलेसियाबाट भैरहवा नियमित उडान गर्न लागेको छ । न्यारोबडी एयरबस ३२० विमानबाट काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा चक्रिय उडान गर्न लागेको हो ।नेवानिले मलेसिया–भैरहवा–काठमाडौंका लागि टिकट बुकिङसमेत खुला गरेको छ । मलेसियाबाट भैरहवासम्मका लागि प्रतियात्रु भाडा ११ हजार चार सय ६१ र मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्मको प्रतियात्रु १२ हजार तीन सय ४६ रुपैयाँ भाडा तोकिएको छ । 

नेवानिले सुरुमा सार्वजनिक गरेको भाडा पनि घटाएर बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो । यसअघि मलेसिया–भैरहवा १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौं १४ हजार सात सय २० रुपैयाँ भाडा तोकिएको थियो । नेवानिको जहाज सोमबार साँझ ८ः५० बजे काठमाडौंबाट मलेसियातर्फ उड्नेछ भने मंगलबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्नेछ । 

 अस्ट्रेलिया सीधा उडानको तयारी
नेपाल वायुसेवा निगमले काठमाडौंबाट अस्ट्रेलिया सीधा उडानको तयारी थालेको छ । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा अवतरण गर्नका लागि स्लट पाइसकेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले बताए । ‘हप्ताको दुई दिन अस्ट्रेलिया उडान गर्न सिड्नी विमानस्थलमा स्लट पाइसकेका छौँ,’ उनले भने, ‘अब व्यावसायिक उडान सुरु गर्नका लागि थप प्रक्रियामा काम भइरहेको छ ।’

नेवानिले बुधबार र शनिबार काठमाडौंबाट अस्ट्रेलियाका लागि र बिहीबार र आइतबार अस्ट्रेलियाबाट काठमाडौं उड्नका लागि समय पाएको बताइएको छ । सिंगापुरमा टेक्निकल ल्यान्डिङ गरेर अष्ट्रेलिया उडानका लागि काम भइरहेको घिमिरेले बताए । ‘प्रक्रिया सुरु भइसकेको छ, उडान सुरु गर्न अझै केही समय लाग्नेछ,’ उनले भने ।