१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
क्र्याक भएको काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ९ र १२ जोड्ने झिगुखोलाको निर्माणाधीन पुल
२०८० जेठ ११ बिहीबार ०८:४९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ वर्षदेखि बन्दै गरेको चार करोडको पक्की पुल ११ मिटर क्र्याक

Read Time : > 1 मिनेट
२०८० जेठ ११ बिहीबार ०८:४९:००

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ र १२ जोड्ने झिगुखोलाको पक्की पुल निर्माण सम्पन्न नहुँदै क्र्याक भएको छ । ६ वर्षअघिदेखि सुरु गरेको ४० मिटर लम्बाइको पुल निर्माण सम्पन्न नहुँदै क्र्याक भएको हो । संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालय भक्तपुरमार्फत निर्माणाधीन पुल समयमै नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल बन्ने भएपछि स्थानीय खुसी थिए । तर, निर्माण सुरु गरेको ६ वर्ष बितिसक्दा पनि पुल अधुरै छ । 

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर उपेन्द्र महर्जनका अनुसार १९ जेठ ०७४ मा पुल निर्माणका लागि सम्झौता भएको थियो । चन्द्रा एन्ड वसन्त एमएम जेभीले चार करोड पाँच लाख ५७ हजार रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता पाएको थियो । पुल निर्माण सम्झौता भएपछि केही समय काम गरेर रोकिएको थियो । दुईवटा पिल्लर मात्र बनाएर धेरै समय रोकिएपछि केही महिनाअगाडिबाट फेरि निर्माण सुरु भएको थियो । निर्माण गर्ने क्रममा ढलान सकेर लठ्ठा तन्काउने वेलामा एक छेउमा क्र्याक भएको इन्जिनियर महर्जनले बताए । ‘प्रिस्टेसको काम सकेर दुईतिरको वायरहरूलाई मेसिन राखेर तान्नेक्रममा अनब्यालेन्स भएर ४० मिटरको पुलको करिब ११ मिटरमा चर्केको हो,’ महर्जनले भने, ‘त्यसलाई फुटाएर रिकन्क्रिटिङ गराउँदै छौँ ।’ लोड टेस्ट गरेर फाइनल भएपछि मात्र ठेकेदार कम्पनीलाई भुक्तानी गर्ने उनको भनाइ छ । महर्जनका अनुसार पुल निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ । ठेकेदार कम्पनीलाई चार करोड तीन लाखमध्ये दुई करोड तीन लाख भुक्तानी भएको छ ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारले पटक–पटक ताकेता गरेपछि ठेकेदार कम्पनीले काम सुरु गरेको थियो । ‘झिगुखोलाको पुल अलपत्र अवस्थामा थियो । पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरेपछि निर्माण सुरु भएको थियो,’ उपप्रमुख दनुवारले भनिन्, ‘हामीले अनुगमनका क्रममा खिया लागेको रड किन प्रयोग गरेको भनेका थियौँ, तर इन्जिनियरहरूले परीक्षण गरेरै हालेका हौँ भन्ने गर्थे ।’ 

पाँचखाल नागबेलीस्थित खोलापारिका अधिकांश किसानको खेत खोलावारि छ । पुल नहुँदा खेतीपाती गर्न र लगाएको बाली संरक्षण गर्न नसक्दा किसानको मिहिनेत खेर जाने गरेको छ । वर्षायामका केही महिना विद्यार्थीहरू विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन् । त्यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा आजाद मावि पर्छ । तर पुल नहुँदा उक्त बाटो भएर विद्यार्थी र विद्यालय बस ओहोरदोहोर गर्नै सक्दैनन् । 

पुल निर्माणका लागि खोलाको सतह उठाएका कारण पुल वारिपारिका स्थानीयको बालीमा बाढी पसेर डुबानमा परेको उपप्रमुख दनुवारले जानकारी दिइन् । ‘पुलमुनि खोला बन्द गरेकाले वरपरको बालीमा बाढी पसेर नष्ट भएको छ, त्यसको क्षतिपूर्ति ठेकेदारले तिर्नुपर्छ,’ उनले भनिन्, ‘क्षतिपूर्तिको कुरा गर्ने थिएँ, तर ठेकेदारको मोबाइल अफ रै’छ ।’