Skip This
मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरका विभिन्न स्थानमा क्षति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o जेठ १० बुधबार १३:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरका विभिन्न स्थानमा क्षति 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १३:३२:oo

मंगलबार मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरमा ताण्डव नै मच्चाएको छ। मध्यरातमा आएको हावाहुरीले मजदुर घाइतेदेखि विद्यालय तथा घरको छाना उडाएको छ।

राति मानिसका गतिविधि कम हुने भएकाले मानवीय क्षति नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । बर्दिया घर भई भीमदत्त नगरपालिका– १८ सालघारी बस्दै आएका दुई मजदुर घाइते भएका छन् । रूखको हाँगा खस्दा गणेश चौधरी र हेलो चौधरी घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले हावाहुरीका कारण रुखको हाँगा खस्दा गणेश र हेलो घाइते भएको बताए। 

घाइते गणेशको थप उपचारका लागि धनगढी रिफर गरिएको र हेलोको महाकाली अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता डाँगीले रातिका वेला हावाहुरी आएपछि मानवीय क्षति नभएको बताए। हावाहुरीले घर, विद्यालय एवं अन्य व्यावसायिक प्रयोजनका घर संरचनामा क्षति भएको छ।

भीमदत्त नगरपालिका– १४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले हावाहुरीले विद्यालयको जस्ता नै उडाएर लगेपछि पठनपाठनमा प्रभावित भएको बताए। प्रअ विष्टले हावाहुरीले भवनको जस्तासहित अन्य शैक्षिक सामग्रीमा क्षति पुगेकाले कक्षाकोठा अभावमा पठनपाठन प्रभावित भएको बताए।

कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुनसिंह साउदले हावाहुरीले शान्तिटोलका प्रेमबहादुर रोकाया, लक्ष्मी भट्टको घरसहित गोठमा क्षति भएको बताए। ‘हामी थप क्षतिको विवरण अध्ययन गरेका छौँ,’ अध्यक्ष साउदले भने, ‘हावाहुरीले मानवीयबाहेक अन्य भौतिक क्षेत्रमा क्षति पुर्‍याएको छ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार दिउँसोसम्ममा भीमदत्त नगरपालिका– ५ बनगाउँस्थित दशरथ पेलाको कच्ची घरको जस्ता उडाएको, भीनपा– ७ खैरनी गणेश विष्टको कच्ची घरको जस्ता उडाएको, भीनपा– ४ महेन्द्रनगर राजन खतिवडाको कच्ची घरको जस्ता उडाएको, भीनपा– १७ बाँसखेडा जगदीश लावडको जस्तापाता उडाएको छ । ‘योबाहेक पनि हामी थप क्षति भएको भए विवरण संकलन  गछौँ,’ प्रवक्ता डाँगीले भने, ‘जिल्लाभरिको यकिन विवरण आउने क्रम जारी छ।’ 

हावाहुरीका कारण बेलडाँडी, बेलौरी, पुनर्वाससहितका स्थानमा विद्युतका पोल खस्दा विद्युत्समेत अवरुद्ध भएको छ। चर्को गर्मीमा विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। हावाहुरीले हरेक वर्ष फलफूल तरकारी, भौतिकदेखि मानवीय क्षति गर्दै आएको छ। एक्कासि आउने हावाहुरी तुफानका कारण क्षति हुने गरेको छ।