पाकिस्तानलाई एकपछि अर्को संकटको बानी परिसकेको छ । अधिनायकवादी प्रवृत्तिका लोकरञ्जन राजनीतिज्ञ इमरान खान र सेनाबीचको वर्तमान गतिरोधमा केही नयाँपन भए पनि यसको अन्त्यमा केही अभूतपूर्व घटना देखिँदैन । यसले पनि शासन परिवर्तन वा सेनाको राजनीतिक भूमिका थप कटौतीभन्दा बढी परिणाम ल्याउनेछैन । यो दीर्घकालका लागि भने महत्वपूर्ण हुन सक्छ, जुन तब मात्र सम्भव छ, जब रिक्त राजनीतिक स्थानमा प्रवेश गर्ने सामाजिक शक्तिहरूले पहिलेभन्दा भिन्न र कठिन कदम चाल्नेछन् ।
२२ करोड जनसंख्याको यस देशले अहिलेकोभन्दा ठुल्ठूला संकट झेलिसकेको छ । यसको सीमाभित्र र बाहिर लामा युद्ध लडिएका छन् । सत्तारुढ प्रधानमन्त्रीहरू फाँसीमा चढाइका वा मारिएका छन् । सन् १९७१ मा यसले उसको आधा पूर्वी हिस्सा (हालको बंगलादेश) गुमायो । तर, यी सबैबीच एउटा तथ्य कहिल्यै परिवर्तन भएको छैन । पाकिस्तानी अभिजात वर्ग र अन्तर्राष्ट्रिय विकास प्रतिष्ठानले यस मुलुकका लागि अघि सारेको विकासको दृष्टिकोण सन् १९६० देखि हालसम्म लगभग स्थिर छ । यो स्थायित्व र त्यसका विकल्पको अभावले हाल चलिरहेको कुलीन वर्गबीचको संघर्षभन्दा धेरै ठूलो संकटको प्रतिनिधित्व गर्छ ।
‘ग्लोबल साउथ’ (मुख्यतः पृथ्वीको दक्षिण गोलार्धमा रहेका विपन्न मुलुक) को इतिहास र राजनीतिसँग परिचितहरू यी मुलुकका विकास दृष्टिकोणसँग राम्ररी परिचित छन् । हरेकजसो विकोसोन्मुख मुलुकको अन्तिम उद्देश्य ‘ग्लोबल नर्थ’ (मुख्यतः उत्तरी गोलार्धमा रहेका सम्पन्न मुलुक) को नक्कल गर्नु हो । पाकिस्तानले लिएको ‘भिजन २०२५’ देशलाई अर्को ‘एसियाली बाघ’ (एकै पुस्तामा उच्च आय भएको मुलुक बनेका चार एसियाली भूमि दक्षिण कोरिया, सिंगापुर, हङकङ र ताइवानलाई जनाउन प्रयोग गरिने पदावली) बनाउने लक्ष्य राखेको छ ।
मूल रूपमा, यसको अर्थ उत्पादन र उपभोगको परिमाण र मूल्य दुवैलाई ‘टप–डाउन’ (माथिबाट तल), आधुनिकीकरणको दृष्टिकोणबाट बढाउने भन्ने हुन्छ । यस दृष्टिकोणमा स्रोतहरू ठूलो परिमाणमा दोहन गर्न, प्रशोधन गर्न र ढुवानी गर्न ठूलो पूर्वाधार निर्माण गरिएको हुन्छ । कृषिलाई उच्च उत्पादकत्वयुक्त, न्यून श्रमिक संलग्न, नगदे बाली क्षेत्रमा केन्द्रित गरिन्छ । आर्थिक वृद्धि र विदेशी मुद्रा आर्जनलाई जोड दिँदै निर्यातका लागि उत्पादनलाई प्राथमिकता दिइन्छ ।
विकासको यो मोडल खनिज इन्धनमा आधारित हुने भएकाले यसको सामाजिक र पर्यावरणीय प्रभाव निकै विनाशकारी रहन्छ । पाकिस्तानभित्रै सन् २०१० र २०२२ को बाढी यसको सबैभन्दा जल्दोबल्दो उदाहरण हो । पाकिस्तानको जलवायु परिवर्तनसम्बन्धी मन्त्रालय र यसले कन्फेरेन्स अफ पार्टीको २७औँ संस्करण (सिओपी२७) का प्रतिनिधिमण्डलले बाढीका लागि सम्पन्न मुलुकले उत्सर्जन गरेको कार्बन र त्यसले निम्त्याएको विश्वव्यापी तापक्रमलाई दोष दियो । यो आरोप सत्य भए पनि पाकिस्तान स्थापनायताका ७५ वर्षमा भएका भौतिक निर्माणले जलवायु परिवर्तनका असरलाई थप सघन बनाइदिएको छ ।
इमरान खान र साहबाज सरिफ दुवैले प्रतिनिधित्व गर्ने विकास मोडेलले अधिकांश पाकिस्तानीलाई नकारात्मक रूपमा प्रभावित बनाइरहेको छ
उदाहरणका लागि शोधकर्ताले लामो समयदेखि पाकिस्तानको जल प्रयोगसम्बन्धी इन्जिनियरिङले पानीसम्बन्धी शताब्दीयौँ पुरानो ढाँचा, तिनको प्राकृतिक प्रवाह, जलाधार, पहाडी झरना र नदीहरूको स्थानीय ज्ञानलाई बेवास्ता गरेको भन्दै त्यसको जोखिमबारे चेतावनी दिँदै आएका थिए । नदी र अन्य जलप्रवाहमा भएका लापरबाहीपूर्ण भौतिक निर्माणका कारण पहिले खेतमा सिँचाइ गर्ने मौसमी पानीले अहिले जीवन र जीविकोपार्जनमा खतरा उत्पन्न भएको छ । जस्तो, सन् २०१० र २०२२ को भीषण वर्षाले दक्षिण पन्जाब र सिन्धमा निम्त्याएको बाढीलाई तटबन्ध र नहरजस्ता पूर्वाधारले थप विषम बनाएको विज्ञ र स्थानीय मूल्यांकनले इंगित गरेका छन् ।
सन् २००४ मा एडिबीको निरीक्षण प्यानलले पनि जलपूर्वाधारमा कैयौँ त्रुटि फेला पारेको थियो । त्यस प्यानलले भविष्यमा उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न विभिन्न उपाय सिफारिस गरेको थियो । तर, पाकिस्तान सरकारले ती सुझाबलाई बेवास्ता गर्दा दुई दशकपछि पनि ती लागू भएनन् । यसको दुष्परिणाम भने आमपाकिस्तानी जनताको जिउधनको क्षतिबाट भोगिरहनुपरेको छ । पाकिस्तानसामु उसका २२ करोड जनतालाई गाँस, वास र जनजीविकाजस्ता आवश्यकता पूरा गर्नुपर्ने चुनौती छ । र यो देशको वास्तविक संकट पनि हो । तर, यसलाई कसरी हासिल गर्ने भनेर कसैले गम्भीरतापूर्वक सोचेको छैन । जिम्मेवार पदमा रहेका व्यक्ति, प्रगतिशील बुद्धिजीवी र पुँजीवादविरोधी वामपन्थीसँग विकासको सटिक आलोचना गर्ने क्षमता त छ, तर थप हिंसा र वञ्चितीकरणविरुद्ध बलियोसँग उभिन सक्ने क्षमता छैन ।
त्यसैले हालको पुँजीवादी औद्योगीकरण, ठूला परियोजना र अति उपभोगको विकल्पै नभएजस्तो देखिएको छ । ठुल्ठूला समाजलाई संगठित र व्यवस्थित गर्ने अझ राम्रो मार्ग हुने सम्भावना धेरै छ, हामीलाई ती के हुन् भन्ने मात्र थाहा नभएको हुन सक्छ । ल्याटिन अमेरिका विकल्पको कल्पना र तिनको प्रयोगमा अरू क्षेत्रभन्दा अगाडि छ ।
न्यूनतम केही उपाय अवलम्बन गर्न नसकिने भने होइन । नयाँ विकल्प सोच्दा स्थानीय समुदायको ज्ञान र अनुभवलाई साथ लिएर अघि बढ्नुपर्छ, तिनको विरुद्ध उभिने होइन । वृद्धि भनेकै विकास हो भन्ने मानसिकताले पारिस्थितिक र सामाजिक पतन यति गम्भीर बनाएको छ कि हरेक वर्ष सभ्य जीवन–निर्वाह थप कठिन हुँदै गइरहेको छ । त्यस अर्थमा पाकिस्तानको आगामी सरकार इमरान खानले बनाउँछन् कि साहबाज सरिफले त्यति महत्वपूर्ण हुँदैन, जति अहिलेको विकासको विकल्प छैन भन्ने सोचाइलाई भत्काउने कुराले फरक पार्छ ।
(बाथ विश्वविद्यालयकी पोस्ट–डक्टोरल अनुसन्धानकर्ता अमिराली पाकिस्तानमा मध्यम वर्गको राजनीति र जलवायु परिवर्तनसम्बन्धी विषयकी विज्ञ मानिन्छिन्)
अल जजिराबाट