
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने बताएका छन्। मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालू अधिवेशनबाट नै सरकारले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनुपर्ने बताएका हुन्।
‘भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्तासम्पन्न संसद्मा सांसदहरूको माग मात्रै हो कि चालू अधिवेशनबाटै कठोर कानुन निर्माण ?’ महरले सोमबार सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। उनले भ्रष्टाचार निवारणजस्तो गम्भीर विषयमा सरकार अकर्मण्य बन्न नहुने टिप्पणी गरे।
‘भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो? जवाफ खोजेका छन् जनताले,’ नेता महरले भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै जिम्मेवार व्यक्तिहरू मुछिनु र देशमा भ्रष्टाचार मौलाउँदै जानुले खतराको संकेत गरेको उनको भनाइ छ।
‘भ्रष्टाचारले मुलुकको विकासमा मात्र प्रभाव पार्ने नभएर जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठिरहेको छ। यसले हामीलाई विश्व जगतमा नै लज्जित हुनुपर्ने अवस्था छ। त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानुन किन नबनाउने ? यसमा हामीलाई केले रोकिरहेको छ ?’ उनको प्रश्न छ। यसतर्फ नेताहरू समयमै सचेत नभएपछि यही विषय नेताहरूलाई भारी पर्ने महरले चेतावनी दिए।