१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २२ शुक्रबार o७:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दूध आयात खोल्न बोर्डको सिफारिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार o७:५८:oo

भारतबाट दूध आयात खुलाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको छ । बार्डले तीन महिनाका लागि दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको सूचना अधिकारी डा. बालक चौधरीले बताए । गत वर्ष पनि जेठदेखि असोजसम्म दूध अभाव भएको भन्दै बोर्डले अभाव पूर्तिका लागि आयात गर्न सिफारिस गरेको हो । गत वर्ष कात्तिकमा दूध अभाव भएपछि दैनिक परिमाणात्मक बन्देजसहित आयात खोलिएको थियो ।

गत फागुनमा डेरी उद्योगी, दुग्ध संस्थानबीच मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गरेका थिए । मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई निर्देशन दिएको थियो । बोर्डले धुलो दूधको उत्पादन नेपालभित्रै बढेकाले तत्काल आयात गर्न आवश्यकता नरहेको बताउँदै तीन महिना मात्र दूध आयात खुलाउन निर्देशन दिएको हो ।

दुग्ध विकास संस्थान (डिडिसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ भने तुरुन्तै दूधको आयात खुलाइहाल्नुपर्नेमा जोड दिएका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जेठदेखि कात्तिकसम्म दूध उत्पादन कम हुने हुँदा आयातको विकल्प नभएको बताए । उनले भने, ‘यस सिजनमा करिब दैनिक दुई लाख लिटर दूध अभाव हुन्छ, त्यसका लागि आयात खुलाइदिन माग गरेका थियौैँ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता नवीन घिमिरेले आयात खुलाउने विषयमा छलफल हुन बाँकी रहेको बताए । उनले भने, ‘बोर्डबाट सिफारिस भएको छ, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्न बाँकी छ ।’  डेरी एसोसिएसनका अनुसार नेपालभर ६२ लाख लिटर दूध उत्पादन छ भने बजारमा ३१ लाख लिटर पुग्छ । तर, दैनिक माग ३३ लाख लिटर रहेको एसोसिएसनका अध्यक्ष दाहालले बताए । 

तर, किसान भन्छन्– स्वदेशमै पर्याप्त उत्पादन हुन्छ, आयात गर्नुपर्दैन
भरतपुर/ भारतबाट नेपाल दूध आयातको माग गर्नु नेपाली किसानको हितविपरीत भएको किसानहरूले बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले स्वदेशमा नै पर्याप्त उत्पादन भए पनि स्थानीय किसानलाई विस्थापित गर्ने उद्देश्यले दूध आयात विषय ल्याइएको बताए । उनले भने, ‘हामीसँग दूध डेरीहरूले पर्याप्त दूध छ, बरु बिक्री घट्यो, बजार छैन भनेका छन् ।

२० प्रतिशत दूध बिक्री घटेको डेरी उद्योगले सुनाउने अनि नेपाली दूधले पुगेन भनेर भारतबाट ल्याउने भन्ने कुरा गलत हो । यसले उद्योगीहरूको नियत नै प्रस्ट गरेको छ ।’ उनले भने, ‘नेपाली किसानले उत्पादन गरेको दूधको मूल्य घटाउने षड्यन्त्र हो । दूध आयात भएपछि कम मूल्यमा नदिए भारतबाट ल्याउँछौँ भन्नलाई उद्योगीहरूले चालेको कदममा सरकार फस्नुहुँदैन ।’ यदि भारतबाट दूध ल्याउने अवस्था आयो भने जस्तोसुकै आन्दोलन पनि गर्न पछि नपर्ने उनले चेतावनी दिए । ‘यहाँका दुग्ध सहकारीबाट डेरीहरूले तीन–चार महिनादेखि उधारोमा दूध लगेको छ । सहकारीहरूलाई दिनुपर्ने रकम डिडिसीले समेत भुक्तानी गरेको छैन ।’  

 दूध आयातको निर्णयले किसानलाई विस्थापित गराउने भन्दै जतिसक्दो चाँडो सच्याउन उनले माग गरे । चितवनका व्यावसायिक दूध उत्पादक किसान एवं केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भगीरथ तिमल्सिनाले बैठकबाट नै भारतबाट दूध ल्याउन हुन्न भनेर निर्णय गरेको बताए । उनले भने, ‘दूध बिक्री नभएर सहकारीहरूलाई तनाव हुने स्थिति छ, यही समयमा भारतबाट दूध ल्याउने विषय किसान र नेपालीकै विपक्षमा हुन्छ ।’ 

चितवनमा ६८ हजार ६ सय ११ वटा दुधालु गाई तथा भैँसीबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लामा उत्पादनको ४५ प्रतिशत अर्थात् करिब एक लाख ५७ हजार लिटर दूध दैनिक जिल्लाबाहिर जाने गरेको छ । ‘सिजनअनुसार नेपालमा दूधको माग घट्ने र बढ्ने भइरहन्छ,’ उपकार्यकारी निर्देशक चौधरीले भने, ‘अभाव चर्किएकाले दूध आयात गर्नुपर्ने उद्योगीहरूको मागमा तथ्यसहित छलफल गरेर कच्चा झोल दूध आयात खुला गर्नुपर्ने निचोड निकालिएको हो ।’

दुग्ध विकास संस्थान डिडिसी, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ भने तुरुन्तै दूधको आयात खुलाइहाल्नुपर्ने पक्षमा छन् । किसानहरूले भने ग्रामीण भेगसम्म पुगेर दूध संकलन गर्न नै उद्योगहरूले जाँगर नगर्दा यस्तो अवस्था आएको बताउँदै आएका छन् ।

ad
ad
ad
ad