फोब्र्सले सन् २०२२/०२३ मा सर्वाधिक आर्जन गर्ने खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ । फुटबल, बक्सिङ, गल्फ र बास्केटबलका खेलाडी शीर्ष दशभित्र परेका छन् । एसियन भूमिमा फुटबल करिअर बनाउन आएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने सूचीको शीर्ष स्थानमा छन् । आश्चर्यजनक रूपमा दोस्रो तथा तेस्रो स्थानमा फुटबलकै खेलाडी छन् । लियोनल मेसी दोस्रो तथा केलियन एम्बाप्पे तेस्रो स्थानमा छन् । गत वर्ष टेनिसबाट सन्न्यास लिएका रोजर फेडेरर नवौँ धेरै कमाइ गर्ने खेलाडी बने । फोब्र्सको सूचीअनुसार गत वर्ष धेरै कमाइ गर्ने खेलाडी यस्ता छन् :
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
कमाइ : १३६ मिलियन अमेरिकन डलर
गत वर्षको नोभेम्बरसम्म पोर्चुगलका रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग आबद्ध थिए । युनाइटेडसँगको सम्झौता नवीकरण नभएपछि रोनाल्डोले फुटबल करिअर फरक किसिमले लैजान साउदी अरेबियाको अल नासेरसँग जनवरीमा आबद्ध भए । अल नासेरले पाँचपटकको फिफा वर्ष खेलाडी भएका रोनाल्डोलाई भित्र्याउन कीर्तिमानी रकम खर्चियो । अरबी राष्ट्रमा पुगेपछि मालामाल भएको रोनाल्डो यस वर्षकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोब्र्र्सले धेरै कमाउने खेलाडीको १० सूची बनाउँदा रोनाल्डो पहिलो स्थानमा छन् । रोनाल्डोको वार्षिक आम्दानी १३६ मिलियन अमेरिकन डलर रहेको छ । रोनाल्डोले अन फिल्डमा ४६ मिलियन र अफ फिल्डमा ९० मिलियन अमेरिकन डलर आर्जन गरेको फोब्र्सले जनाएको छ ।
लियोनल मेसी (अर्जेन्टिना)
आम्दानी : १३० मिलियन अमेरिकन डलर
अर्जेन्टिनी कप्तान मेसी आफ्नो पुरानो क्लब बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । तीन वर्षअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भएका मेसीलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना पछि लागेको छ । यसैगरी, मेसी यस सिजनमा अमेरिकन क्लबमा जान सक्ने मिडियाहरूले जनाएका छन् । रोनाल्डोका समकक्षी मेसी यस सिजनको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । मेसीले अन फिल्डमा ६५ मिलियन तथा अफ फिल्डमा ६५ मिलियन अमेरिकन डलर आर्जन गरेका छन् । पिएसजीबाहेक मेसीको मुख्य आम्दानी विश्व चर्चित ब्रान्डको आबद्धता रहेको छ । एडिडास तथा पेप्सीजस्ता कम्पनीसँग उनको आबद्धता छ ।
केलियन एम्बाप्पे (फ्रान्स)
कमाइ : १२० मिलियन अमेरिकन डलर
फोब्र्सले सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची सार्वजनिक गर्दा फुटबलका तीनजना शीर्ष तीनभित्र समावेश भएका छन् । तेस्रो स्थानमा फुटबलकै खेलाडी परेका छन् । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेको कमाइ १२० मिलियन अमेरिकन डलर रहेको छ । केलियनले रोनाल्डो र मेसीलाई पछ्याइरहेका छन् । विश्वकै खर्चिलो क्लब पिएसजीका मुख्य खेलाडीसमेत रहेका केलियन अन फिल्डमा सर्वाधिक कमाइ गर्ने खेलाडीसमेत बनेका छन् । उनले अन फिल्डमा सय मिलियन अमेरिकन डलर आर्जन गरेका छन् । अफ फिल्डमा उनको कमाइ २० मिलियन अमेरिकन डलर रहेको छ ।
लेब्रोन जेम्स (अमेरिका)
कमाइ : ११९.५ मिलियन अमेरिकन डलर
अमेरिकामा बास्केटबल निकै चर्चित छ । यस खेलका खेलाडी लिब्रोन जेम्स विश्वकै चौथो कमाइ गर्ने खेलाडी हुन् । जेम्स र केलियन एम्बाप्पेबीच थोरै रकम अन्तर रहेको छ । जेम्सले अन फिल्डमा ४४.५ मिलियन तथा अफ फिल्डमा ७५ मिलियन अमेरिकन डलर आर्जन गरेका छन् । लस एन्जलसबाट बास्केटबल खेल्ने जेम्स अमेरिकामा उत्पादन हुने विभिन्न सामग्रीका सद्भावना राजदूत हुन् । जेम्सले विभिन्न खेलकुद सामग्री तथा कम्पनीमा लगानी गरेका छन् । वर्तमान समयमा एनबिएकै महँगा खेलाडीको सूचीमा उनी एक नम्बर स्थानमा छन् ।
कार्लोस अल्भारेज (मेक्सिको)
कमाइ : ११० मिलियन अमेरिकन डलर
मेक्सिकोका प्रोफेसनल बक्सर अल्भारेज विश्वकै पाँचौँ कमाइ गर्ने खेलाडीमा पर्छन् । फोब्र्सका अनुसार उनको अन फिल्ड कमाइ सय मिलियन अमेरिकन डलर रहेको छ । अफ फिल्डमा १० मिलियन अमेरिकन डलर मात्र रहेको छ । बक्सिङको चर्चित प्रतियोगितामा सहभागिता जनाउँदा र र च्याम्पियन भएपछि खेलाडीले मनग्य धन आर्जन गर्छन् । पछिल्लो समय अल्भारेज अन्तर्राष्ट्रिय बक्सिङमा चर्चित बनेका छन् । उनको प्रत्येक खेलमा लाखौँ डलर लगानी हुने गरेको छ ।
डस्टिन जोन्सन (अमेरिका)
कमाइ : १०७ मिलियन अमेरिकन डलर
सन् २०२२ को सिजनमा अमेरिकन गल्फर जोन्सनले एलआइभी गल्फ प्रतियोगितामा सहभागिता जनाए । जुन गल्फको धनराशि ३५.६ मिलियन अमेरिकन डलर थियो । प्रतियोगिताको विजेता हुँदै जोन्सनले १८ मिलियन अमेरिकन डलर आर्जन गरे । यो प्रतियोगिताअघिसम्म उनी सर्वाधिक कमाइ गर्ने खेलाडी सूचीको ५० भन्दा बाहिर थिए । एउटै प्रतियोगिताको च्याम्पियन बन्दा उनको कमाइ एकैपटक बढ्यो । फोब्र्सले सार्वजनिक गरेको धेरै कमाइ गर्ने खेलाडीमा उनी छैटौँ स्थानमा छन् । उनले अन फिल्डमा १०२ मिलियन अमेरिकन डलर कमाएका छन् । अफ फिल्डमा पाँच मिलियन अमेरिकन डलर जोन्सनले कमाएका छन् । गत सिजनमा जोन्सनले धेरै धनराशि भएका प्रतियोगितामा सहभागिता जनाएका थिए ।
फिल माइलन्सन (अमेरिका)
कमाइ : १०६ मिलियन अमेरिकन डलर
गल्फर माइलन्सनको गत वर्ष आम्दानी यति बढ्यो कि त्यसका खेलाडीमध्ये धेरै ट्याक्स तिर्नेमा परेका थिए । गत वर्ष आम्दानीकै कारण उनी विश्वकै सातौँ कमाइ गर्ने खेलाडी बने । एलआइभी गल्फमा आबद्ध भएपछि उनको वार्षिक आम्दानी बढेको फोब्र्सले जनाएको छ । गल्फका साथै उनले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । एलआइभीबाट उनले १.६ मिलियन अमेरिकन डलरको चेक हात पारे ।
स्टेफान करी (अमेरिका)
कमाइ : १००.४ मिलियन अमेरिकन डलर
गत वर्षको जुनमा चौथो एनबिए च्याम्पियनसिप उपाधि जितेका अमेरिकन बास्केटबल खेलाडी करीको आम्दानी पनि बढ्यो । गत सिजनमा उनी एनबिएको सबैभन्दा बढी कमाइ गर्ने खेलाडीसमेत बने । सन् २०२३–०२४ को सिजनमा उनले लिगबाट ५० मिलियन अमेरिकन डलर आर्जन गरेका थिए । यसैगरी, गोल्डेन स्टेटबाट पनि उनको आम्दानी बढेको थियो । अमेरिकन बास्केटबलकै चर्चित खेलाडी विभिन्न ब्रान्डसँग आबद्ध छन् ।
रोजर फेडेरर (स्विट्जरल्यान्ड)
कमाइ ९५.१ मिलियन अमेरिकन डलर
गत वर्ष नै स्विट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडेररले टेनिसबाट सन्न्यास घोषणा गरे । विश्व टेनिसलाई आकर्षक र प्रतिस्पर्धात्मक बनाउन फेडेररको योगदान महत्वपूर्ण मानिन्छ । टेनिसबाट टाढा रहे पनि फेडेररको वार्षिक आम्दानी घटेको छैन । गत वर्ष उनले ९५.१ मिलियन अमेरिकन डलर कमाए । यसैको आधारमा उनी नवौँ सर्वाधिक कमाइ गर्ने खेलाडी बने । सन्न्यास लिएका कारण उनको अन फिल्ड आम्दानी खासै छैन । अफ फिल्डमा उनले ९५ मिलियन अमेरिकन डलर कमाएका छन् । फेडेररको मुख्य आम्दानी स्रोत नै विभिन्न कम्पनीमा आबद्ध हुनु हो ।