मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनिल यादव काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०८:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नजिकिँदै रास्वपा–जनमत : कार्यगत एकताको पहल सुरु

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०८:४४:००

लामिछाने–राउत समर्थनको शृंखला 

- नागरिकता विवादमा अदालतको फैसलापछि लामिछानेको समर्थनमा राउतको अभिव्यक्ति
- उपराष्ट्रपति निर्वाचनमा जनमतका उम्मेदवारलाई सघाउने रास्वपाको निर्णय 

गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको पहल सुरु भएको छ । प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपा र ६ सिट रहेको जनमतबीच राजनीतिक र विकाससँग जोडिएका मुद्दामा सहकार्य गरेर अघि बढ्ने गरी छलफल सुरु भएको हो ।

सिके राउत, अध्यक्ष, जनमत पार्टी
रविजी र मेरो भेटघाट भइरहन्छ । हामीबीच कसरी अघि बढ्ने, जनताका अपेक्षा कसरी पूरा गर्ने भन्नेतर्फ केन्द्रित भएर छलफल हुने गरेको छ । राजनीतिक र विकासका एजेन्डामा दुवै दलबीच सहकार्य गरौँ भन्ने हिसाबले कुरा भइरहेको छ ।

मंगलबारमा रास्वपा सभापति रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतबीच भएको भेटवार्तामा पनि यसबारे छलफल भएको थियो । जनताको अपेक्षा पूरा गर्न दुई दल मिलेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जनमतका अध्यक्ष राउतले बताए । ‘रविजी र मेरो भेटघाट भइरहन्छ,’ उनले भने, ‘हामीबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । जनताको अपेक्षा कसरी पूरा गर्ने भन्नेतिर हामी केन्द्रित छौँ । दुवै दल सहकार्य गरौँ भन्ने हिसाबले कुरा भइरहेको छ ।’

रास्वपा र जनमत दुवै अहिले सरकारबाहिर छन् । तर, दुवैले सरकारलाई दिएको समर्थन फिर्ता गरेका छैनन् । दुवै दलले अहिले सरकारमा जाने या समर्थन फिर्ता गरेर प्रतिपक्ष बस्ने भन्नेबारे सँगै निर्णय लिनुपर्ने पक्षमा रहेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । पुराना दलप्रति मतदातामा देखिएको वितृष्णका कारण नयाँ आशाका रूपमा उदाएका रास्वपा र जनमतबीच साथीजस्तो सम्बन्ध रहेको ढकालको भनाइ छ । 

‘जनमत र रास्वपाबीच नजिकको सम्बन्ध छ,’ उनले भने, ‘हामी साथी दल हौँ । अरू दलभन्दा पनि बढी जनमत पार्टीसँग हाम्रो सहकार्य हुने सम्भावना बढी छ । त्यसैले मुद्दाका हिसाबले सहकार्य गरेर अघि बढौँ भन्ने विषयमा छलफल भइरहेको छ । सभापतिज्यूसँग भेटघाटमा सरकारमा जाने–नजाने भन्ने निर्णय पनि सँगै गरौँ भन्ने कुरा भइरहेको छ । जनताले आशाका रूपमा हेरेका हामी दुवै मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

मुकुल ढकाल, महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
जनमत र रास्वपाबीच नजिकको सम्बन्ध छ, हामी साथी दल हौँ । दुवै दललाई जनताले आशाका रूपमा हेरेकाले मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा छौँ । सरकारमा जाने/नजाने भन्ने निर्णय पनि सँगै गरौँ भन्ने कुरा भइरहेको छ । 

मंसिरको निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको गठबन्धनमा सँगै सहभागी भएका रास्वपा र जनमतबीच त्यतिवेलादेखि नै हार्दिक सम्बन्धको रहँदै आएको छ । चाहे लामिछानेको एकसाथ गृहमन्त्री, सांसद र पार्टी सभापति पद जाँदा होस् या उपराष्ट्रपतिमा जनमतले उम्मेदवार खडा गर्दा, दुवैले एक–अर्कालाई समर्थन गरेका थिए । १३ माघमा लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले पद खारेज हुने फैसला गर्दा राउतले खुलेर लामिछानेको पक्षमा स्टाटस लेखेका थिए । उनले अहिलेको संसद् र सरकार लामिछाने आशाको केन्द्र रहेको भन्दै ‘हिरो’का संज्ञा दिएका थिए । ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन नहोस् र कतिपय राजनीतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोस र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याक हिरो,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

त्यस्तै, ३ चैतमा भएको उपराष्ट्रपतिको निर्वाचनमा रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको थियो । त्यतिवेला सत्तागठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादवले उम्मेदवार दिएका थिए भने एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी थियो । जनमत पनि सत्तागठबन्धनमै थियो, तर प्रदेशमा मुख्यमन्त्रीदेखि उपराष्ट्रपतिसम्म जसपालाई दिने निर्णयले सन्तुष्ट थिएन । त्यसकारण उपराष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो । त्यतिवेला जनमतलाई सघाउने एक मात्र दल रास्वपा बन्यो । 

जनमत पार्टीका नेता बिपी साहले पनि रास्वपासँग कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल भइरहेको बताए । ‘नयाँ शक्तिका रूपमा संसद् प्रवेश गरेयता नै रास्वपा र हामीबीच निरन्तर संवाद चलिरहेको छ,’ उनले भने, ‘कार्यगत एकता गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ, तर ठोस निष्कर्षमा पुगिसकेका छैनौँ । कहाँ–कहाँ सहकार्य हुन सक्छ भनेर पटक–पटक छलफल भइरहेको छ । खासगरी राजनीतिक र विकासका मुद्दामा मिलेर जाऔँ भन्ने छ । उपराष्ट्रपतिको निर्वाचनमा उहाँहरूले हामीलाई सघाउनुभयो । अहिले हामी पनि सरकार बाहिर छौँ, तर समर्थन फिर्ता लिएका छैनौँ । उहाँहरू पनि त्यही अवस्थामा हुनुहुन्छ । अहिले उपनिर्वाचनपछि राजनीति नयाँ कोर्सतिर जाने सम्भावना छ । त्यसैले जे निर्णय गरे पनि सँगै गरौँ भन्ने छ ।’