पाकिस्तानको पोलियो खोप अभियान देख्ने जो कोहीले एक असाधारण कुरा देख्नेछन्, अर्थात् घर–घर गएर पक्षघाती पोलियो रोग नियन्त्रण गर्न खोप लगाउने अधिकांश स्वास्थ्यकर्मी महिला छन् । मुलुकका हरेक कुनामा बालबालिकालाई जीवनदान दिने खोप र अन्य आवश्यक सेवा उपलब्ध गराउने अग्रपंक्तिका यी कर्मचारीबाट कहिल्यै स्वास्थ्य नीतिका मामिलामा राय लिइँदैनथ्यो । यो वर्ष पाकिस्तान ‘वाइल्ड पोलियो’लाई सधैँका लागि उन्मूलन गर्न तत्पर छ । तर, यस तत्परताको योजना सफल बनाउन भुइँतहमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाको योगदान र रायमाथि ध्यान पु¥याउनुपर्छ । यदि यसो गरिन्न भने सफलाताको सम्भावना निकै न्यून छ ।
अपरिवर्तनीय पक्षघात वा मृत्यु नै निम्त्याउने कुनैवेलाको विश्वव्यापी विपत्ति वाइल्ड पोलियो अहिले अफगानिस्तान र पाकिस्तानमा मात्रै प्रकोपका रूपमा बाँकी छ । पोलियो भाइरसलाई निमिट्यान्न गर्ने एक मात्र उपाय खोप हो र खोप अभियानको सफलता धेरै हदसम्म महिला स्वास्थ्यकर्मीमा निर्भर गर्छ ।
धेरै समुदायमा महिलाले घरमा प्रवेश गर्न सक्छन्, जब कि पुरुषले सक्दैनन् । नतिजा महिला परिवारसँग दिगो विश्वास निर्माण गर्न सक्षम हुन्छन् । पाकिस्तानमा वाइल्ड पोलियोका मामिला हालसम्मकै सबैभन्दा कम छ । पोलियोको प्रकोप अब भौगोलिक रूपमा केवल सात जिल्लामा सीमित छ र सन् २०२० मा फैलिएको ११ भाइरस स्ट्रेनमध्ये दश स्ट्रेन उन्मूलन हुने अवस्था दशकौँको प्रगतिपछि मात्रै सम्भव भएको हो, जहाँ हजारौँको श्रम खर्च भएको छ ।
पोलियोमुक्त पाकिस्तान धेरै टाढा छैन, किनभने अग्रपंक्तिमा रहेका महिला स्वास्थ्यकर्मीले पोलियोको अन्तिम पंक्ति पार गर्न मद्दत गर्नेछन् । यसकारण देशको पोलियो उन्मूलन कार्यक्रमले न्यून प्रतिनिधित्व भएका महिला स्वास्थ्यकर्मीलाई सुन्न र उनीहरूलाई पाकिस्तानमा पोलियो अन्त्य गर्ने समाधानको खाका कोर्न सह–साझेदारका रूपमा संलग्न गराउने अभूतपूर्व पहल सुरु गरेको छ ।
पोलियोमुक्त पाकिस्तान धेरै टाढा छैन, किनभने अग्रपंक्तिमा रहेका महिला स्वास्थ्यकर्मीले हामीलाई पोलियोको अन्तिम पंक्ति पार गर्न मद्दत गर्नेछन्
पहिलो चरणमा सबैभन्दा बढी जोखिममा रहेका जिल्लामा काम गर्ने दुई हजार ६ सयभन्दा बढी महिला प्रतिनिधिको नमुना सर्वेक्षण गरेर ठुलो संख्यामा तथ्यांक संकलन गरिएको थियो । यी स्वास्थ्यकर्मीले यस क्षेत्रका आफ्ना अनुभव र चुनौतीबारे उठेका प्रश्नको जवाफ दिएका थिए, जसमा अभियानका क्रममा बालबालिकासम्म पुग्दा तेर्सिने अवरोध र घरधुरीमा खोप व्यवस्थापन गर्ने, इच्छाशक्ति र सुरक्षा चिन्ता समावेश थिए । सर्वेक्षणको नतिजाका आधारमा १४ वटा व्यक्तिगत कार्यशाला देशभर आयोजित गरिएका थिए, जसले सुनुवाइ सत्रमा सयौँ अग्रपंक्तिका महिला स्वास्थ्य कार्यकर्तालाई एक ठाउँमा ल्याइदिएको थियो ।
स्वास्थ्य कार्यकर्ताले कथा र अनुभव आदानप्रदान गर्नुका साथै आआफ्ना जिल्लामा पोलियो अन्त्य गर्न सबैभन्दा ठूलो अवरोध पन्छाउन सुझाबसमेत दिएका थिए र पोलियोइतर भविष्यको जीविकोपार्जनका लागि आफ्ना आशा पनि साझा गरेका थिए ।
पाकिस्तानको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (एनइओसी), जसले देशको पोलियो कार्यक्रमलाई हेर्छ, त्यसले यी सुनुवाइ सत्रबाट संकलन गरिएका प्रतिक्रियाको समीक्षा र लागू गर्ने वाचा गरेको छ । एउटा कार्यशालामा मैले पनि सहभागिता जनाउने मौका पाएकी थिएँ । त्यहाँ उत्साहको भावना स्पष्ट झल्किन्थ्यो । ज्ञानले खारिएका तर लामो समयदेखि उपेक्षित महिलाले अन्ततः मञ्च पाएका थिए र आफूले हरेक दिन सामना गर्ने वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने प्रभावकारी कार्यक्रमको खाका कोर्न उत्सुक थिए ।
समयमै काममा पुग्न घन्टौँ पैदल हिँड्ने वा निजी यातायात भाडामा लिने जस्ता व्यावहारिक चुनौतीलाई सम्बोधन गर्ने उनीहरूको रचनात्मक विचार सम्प्रेषणले सुनुवाइ जस्ता अभ्यासको महत्वलाई स्पष्ट पारेको थियो । यसबाहेक खोप लगाउने बालबालिकाका अभिभावकले आफ्ना बच्चालाई सुरक्षित राख्ने उपायबारे पालेको गलत बुझाइ र धेरै समुदायमा पोलियो कार्यकर्ताप्रति व्यापक विद्वेषलाई चिर्दै महिला स्वास्थ्यकर्मी अगाडि बढेका छन् । यी स्वास्थ्यकर्मीले अभिभावकको खोप प्रतिरोधलाई हटाएको अनुभव पनि साझा गरेका थिए ।
पाकिस्तान सरकारको सहसाझेदार योजनाले महिलालाई जनस्वास्थ्य कार्यक्रममा सहभागी हुन उत्साहित बनाएको छ । त्यसका लागि एनइओसीले राष्ट्रिय लैंगिक समूहको निर्माण गरेको छ, जहाँ उन्मूलन अभियानमा लागेका महिलाको आवाजलाई समेटिएको छ । यस्तो कार्यक्रम सुरु गर्ने वैश्विक पोलियो उन्मूलन पहलमा पाकिस्तान सरकार पहिलो हो र अहिले हामी एक्लै छैनौँ भन्ने देख्दा म उत्साहित भएकी छु । महिला स्वास्थ्यकर्मीको अनुभव सुन्ने र त्यसबाट सिक्ने कार्यक्रम अहिले सोमालिया, नाइजेरिया र अन्य मुलुकमा फैलिएर विश्वव्यापी रूप लिइरहेको छ । कतिपय ठाउँमा त महिला पहिलोपटक निर्णय गर्ने ठाउँमा पुगेका छन् ।
विश्वभर जलवायु परिवर्तनदेखि महामारीसम्म कहिल्यै नटुंगिने द्वन्द्व एकैपटक आइरहँदा नीतिगत तहमा महिलाको भूमिका अपरिहार्य बनिसकेको छ । महिला अब स्वास्थ्य सुधारमा मात्रै सीमित छैनन् । पोलियो संक्रमण नियन्त्रण गर्न समुदायसँग काम गरेका र अत्यावश्यक सेवा प्रवाह गरेका महिला स्वास्थ्यकर्मीको भूमिका पोलियो उन्मूलनमा मात्रै सीमित छैन ।
पाकिस्तानको हाम्रो पोलियो कार्यक्रमको राष्ट्रिय लैंगिक समूहले गर्नुपर्ने धेरै काम बाँकी छ । देशभरका महिला स्वास्थ्यकर्मीले आफूले सामना गर्ने मुख्य चुनौतीलाई सम्बोधन गर्न सयौँ समाधान प्रस्ताव गरेका छन् । पोलियो कार्यक्रमको राष्ट्रिय लैंगिक समूहले यी समाधानको समीक्षा एवं परिमार्जन गर्दै अर्को वर्ष लागू गर्ने निर्णय गर्दै छ ।
हजारौँ महिलाले आवाज उठाएका छन् र तिनको सम्बोधन गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ । कैयौँ कार्यशालामा मैले पाकिस्तानको भविष्य यी महिला स्वास्थ्यकर्मीको हातमा रहेको पाएकी थिएँ । पाकिस्तानको पोलियो उन्मूलन प्रयासलाई पछ्याउँदा अन्यत्र पनि यो प्राणघातक रोगलाई निमिट्यान्न पार्न सकिन्छ ।
(आबु्र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयकी उपनिर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट