आख्यानकार मीनराज बसन्त ‘नवोदित कृति अवार्ड–२०७६’ बाट सम्मानित भएका छन् । अनुराग साहित्य समाज नेपालले आयोजना गरेको रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रमका अवसरमा बसन्तलाई सो अवार्ड प्रदान गरिएको हो ।
कतारमा बसेर वा त्यहाँबाट फर्किएर नेपाली भाषा–साहित्यमा योगदान पुर्याउनेलाई नवोदित वाचनालय कतारले यो अवार्ड दिने गर्छ । यही क्रममा ०७६ को कृति अवार्ड बसन्तको आख्यान ‘पिपिरी’लाई दिने निर्णय गरिएको थियो । तर, कोरोना महामारीजस्ता विविध कारणले सम्मान प्रदान कार्यक्रम रोकिएको थियो ।
त्यस्तै, साहित्यकार रमेश हरिलट्ठको स्मृतिमा गठित रमेश स्मृति कोषले प्रदान गर्ने रमेश स्मृति सम्मान ०७६ बाट साहित्यकार बुँद राना, ०७७ बाट साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र ०७८ बाट साहित्यकार जितबहादुर क्षेत्रीलाई सम्मानित गरिएको छ । सोही अवसरमा अनुराग साहित्य समाजका संस्थापक अध्यक्ष निर्मल ढुंगाना पनि सम्मानित भएका छन् ।