१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हिमालयनसँग जावलाखेल स्तब्ध

रेलिगेसन क्षेत्रको हिमालयन शेर्पासँग २–१ ले स्तब्ध हुँदा जावलाखेलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने अवसर गुमायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३१:oo

सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थान दौडमा रहेको जावलाखेल युथ क्लब रेलिगेसन क्षेत्रको हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएको छ । दशरथ रंगशालामा बुधबार जित निकाल्दा जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने थियो । जावलाखेलको योजनामा हिमालयन बाधक बन्यो । हिमालयनको जितमा विदेशी खेलाडी पिस्टोन मुताम्बाले पहिलो हाफमै दुई गोल गरेका थिए । जावलाखेलका एन्कोटो मासोआबीले एक गोल फर्काएका थिए । 

जितसँगै ११ खेलमा १३ अंक जोडेको हिमालयन १३औँ स्थानमै छ । न्युरोड टिम (एनआरटी) र खुमलटारसँग हिमालयनले अंक बराबरी गरेको छ । १२औँ खेलमा तेस्रो हार बेहोरेको जावलाखेल २३ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । थ्री स्टार २२ अंकसहित दोस्रो स्थानमा छ । सातदोबाटो युथ क्लबले उपाधि दाबेदार प्रस्तुत गरेको संकटालाई ४–० ले हरायो । यसैगरी, साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारले गोलरहित बराबरी खेले । 

हिमालयनका प्रशिक्षक सुमन श्रेष्ठ टोली कठिन अवस्थामा रहेको वेला तीन अंक प्राप्त हुँदा राहत मिलेको बताए । ‘हामीलाई जसरी पनि जित्नैपर्ने थियो, जावलाखेलसँग तीन अंकका लागि खेल्यौँ,’ श्रेष्ठले भने । जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले राम्रो प्रदर्शन गर्दागर्दै तीन अंक गुमेको बताए । ‘खेलाडीले मैदानमा निकै मिहिनेत गरेका थिए, तर हामीले अंक गुमायौँ,’ श्रेष्ठले भने, ‘अंक तालिकाको पुछारमा रहेको टोलीसँग हारेका छौँ,’ उनले भने, ‘उपाधिमा पहिले पनि सोच बनाएका थिएनौँ, अहिले पनि छैन ।’

खेलको दशौँ मिनेटमा केन्याका स्ट्राइकर मुतम्बाले हिमालयनलाई १–० को अग्रता दिलाए । कर्नरबाट प्राप्त बललाई मुतम्बाले बक्सभित्रबाट सहज गोल गरेका थिए । खेलको १९औँ मिनेटमा खामिर गिल्सानको पासमा मुतम्बाले बक्सभित्रबाट आकर्षक गोल गरे । खेलको ७२औँ मिनेटमा मासोआबीले जावलाखेललाई २–१ को स्थितिमा ल्याए । जारी लिगमा उनको यो दशौँ गोल हो । संकटाविरुद्ध दुई गोल गरेका दीपकले पनि १० गोल पूरा गरेका छन् । ११ खेल खेलेका मुतम्बा र दीपक उच्च गोलकर्ताको दौडमा सँगै छन् । मासोआबी र दीपकपछि खुमलटारका मेसुके ओलोमोउले नौ गोल गरेका छन् । मच्छिन्द्रका आफिज ओलावाले र ओलादिपोको नाममा समान आठ गोल छ । 

मच्छिन्द्र र थ्री स्टारले अंक बाँडे
मच्छिन्द्र र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा मच्छिन्द्र र थ्री स्टारका खेलाडीले काउन्टर एट्याकमा जोड दिएका थिए । दुवै टोलीका खेलाडीले बल पोसेसन बनाउँदै एकअर्काविरुद्ध दबाब राख्न कोसिस गरेका थिए । बराबरीपछि थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । मच्छिन्द्र समान खेलबाट १७ अंक जोड्दै सातौँ स्थानमा रह्यो । 

थ्री स्टारको प्रशिक्षक मेघराज केसीले खेल प्रतिस्पर्धात्मक भए पनि फिनिसिङमा चुकेको प्रतिक्रिया दिए । ‘खेल प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीलाई तालिकामा माथि जाने अवसर थियो,’ केसीले भने । मच्छिन्द्रका प्रशिक्षक किशोरकुमार केसीले तीन अंक प्राप्त गर्ने लक्ष्य सफल नभएको बताए । ‘तीन अंक लिन आएका थियौँ, तर हामी एक अंकमै सीमित भयौँ,’ उनले भने, ‘हामी फिनिसिङमा चुक्यौँ । 

सातदोबाटोको सानदार जित
सातदोबाटोले उपाधि दाबेदारी प्रस्तुत गरेको संकटा क्लबविरुद्ध ४–० को जित निकालेको छ । च्यासल मैदानमा सातदोबाटोको जितमा विदेशी खेलाडी विलियम अपोकु असाइडु र नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य दीपकराजसिंह ठकुरीले समान दुई गोल गरेका थिए । सातदोबाटोले १२ खेलबाट २१ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ हार बेहोरेको संकटा समान खेलबाट १५ अंक जोडेर नवौँ स्थानमा झर्‍यो । 

ad
ad