मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १४ बिहीबार ०७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १४ बिहीबार ०७:१२:००

रातो मत्स्येन्द्रनाथको रथमा प्राविधिक समस्या आएपछि रथयात्रा रोकिएको छ । रथको देब्रेपट्टिको भाग बांगिएर ढल्किएपछि मर्मतका लागि बुधबार रथ तान्न रोकिएको हो ।

गुठी संस्थान ललितपुरका अनुसार सोमबारदेखि तान्न थालिएको रथ देब्रेतर्फ ढल्किएपछि थप धनजनको क्षति नहोस् भनेर मर्मतका लागि रोकिएको हो । ‘रथमा देखिएको प्राविधिक समस्याबारे सरोकारवाला निकायलाई मंगलबार नै बोलाएर छलफल गरेका थियौँ । सोही छलफलका आधारमा आज रथ नतान्ने निर्णय गरेका हौँ । रथ निर्माण मानिसले नै गर्ने भएकाले कहिलेकाहीँ गडबड त भइहाल्छ । मर्मत सकिएपछि बिहीबारदेखि फेरि रथ तान्न सुरु हुन्छ,’ संस्थान प्रमुख लछुना काफ्लेले भनिन् ।

रथ ढल्किन थालेकै कारण गाःबहालसम्म रथ पुर्‍याउन दुई दिन लागेको थियो । अघिल्ला वर्षहरूमा एकैदिनमा गाःबहाल पुग्ने गथ्र्यो । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्रा सोमबारदेखि सुरु भएको हो ।

बिहीबारदेखि फेरि तानिने
संस्थानका अनुसार बुधबार एक दिन रोकिएको रथ बिहीबारदेखि फेरि तानिनेछ । रथयात्रा रोकिँदा कार्यतालिकामा कुनै पनि असर पर्नेछैन । ‘हामीले बुधबार मर्मत गरिसकेका छौँ । भोलिदेखि फेरि रथयात्रा निरन्तर हुनेछ ।’ काफ्लेले भनिन् । दुई महिनासम्म चल्ने यो जात्रा उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । रथजात्राको अन्तिम दिन भोटो देखाइन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएकोे रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्र्रनाथलाई खटमा राखेर बुंगमती मन्दिरमा ६ महिना राखिन्छ ।