सुडानमा गत शनिबारदेखि मुख्य सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सबीचको संघर्ष अन्त्य हुन सकेको छैन । संघर्षको केन्द्रमा छन्, कुनै वेला उँट व्यापारी रहेका लेफ्टिनेन्ट जनरल मोहम्मद हमदान । अर्धसैनिक फौजको बलमा हमदानले पछिल्लो दुई दशकभित्र ठूलो प्रभाव र सम्पत्ति हासिल गर्न मात्रै सफल भएनन्, सत्ताको शिखरमा पुगेका थिए ।
अहिले देशको सेनासँगको प्रत्यक्ष भिडन्तलाई धेरैले उनले हालसम्म सामना गरेको सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको छ । शक्ति हासिल गर्ने महत्वाकांक्षाका लागि उनी कुनै वेलाका आफ्नै संरक्षक राष्ट्रपति ओमर हसन अल–बासिरविरुद्ध उभिन तयार थिए । कुनै औपचारिक शिक्षा हासिल नगरेका भए पनि हमदानमा ठूलो राजनीतिक चातुर्य देखिन्छ, जुन कुरा उनले अल–बासिरविरुद्ध उभिँदा पनि देखाइसकेका थिए ।
जघन्य मानव अधिकार हननमा संलग्न क्रूर मिलिसिया समूहको नेतृत्वबाट उदाएका हमदानले पछिल्लो समय आफूलाई प्रजातन्त्रको प्रखर समर्थक देखाउन थालेका छन् । यसका पछाडि पश्चिमा शक्तिको समर्थन हासिल गर्ने उद्देश्य लुकेको विश्लेषक बताउँछन् । उनले रुस र त्यहाँको शक्तिशाली वाग्नर सैन्य कम्पनीको सहयोग लिइरहेका छन् । वाग्नरले हमदानको व्यापारिक स्वार्थ जोडिएको सुडानका सुनखानीको सुरक्षा दिनेदेखि उनको फौजलाई सैन्य उपकरणको आपूर्ति गर्दै आएको छ ।
सुडानभित्र हेमेद्ती भनेर चिनिने हमदान सुरुमा देशको पश्चिम क्षेत्रस्थित डार्फरमा व्यापार गर्थे । उनको व्यापारिक वाहनमाथि विद्रोहीहरूले आक्रमण गरेर परिवारका सदस्यसहित झन्डै ६० जनाको ज्यान लिएपछि हेमेद्तीले हतियार उठाएको उनका पूर्वसहायक मुहम्मद साद बताउँछन् ।
बहुसंख्यक अरबीभाषी रहेको सुडानमा अन्य भाषाभाषीले पहिलेदेखि समान अधिकारको माग गर्दै आएका थिए । आफ्नो माग पूरा नभएपछि डार्फर क्षेत्रका गैर–अरेबिकहरू सन् २००३ देखि विद्रोहमा उत्रिए । केन्द्रस्थित खार्तुमको सरकारले विद्रोह दबाउन स्थानीय अरेबिक मिलिसियालाई प्रयोग र समर्थन गर्ने नीति लियो । यसमा सबैभन्दा सफल बनेर उदायो, हेमेद्ती नेतृत्वको मिलिसिया समूह ‘जन्जाविद’ ।
सुडानमा झन्डै ३० वर्ष तानाशाही शासन चलाएका राष्ट्रपति अल–बासिर मोहम्मद हमदानको युद्धकौशलबाट यति प्रभावित भए कि राष्ट्रपतिले उनलाई दाहिने हातका रूपमा काखी च्यापे । अल–बासिरले डार्फर द्वन्द्वपछि राज्यका अन्य क्षेत्रमा उठेका विद्रोह दबाउन पनि हमदान र उनको फौजको सहयोग लिन थाले । यसबाट हमदानको शक्ति बढ्न थाल्यो । समयसँगै उनले नेतृत्व गरेको फौजको संख्या र शक्ति बढ्दै गयो ।
सुडानभित्र हेमेद्ती भनेर चिनिने हमदान सुरुमा देशको पश्चिम क्षेत्र डार्फरमा व्यापार गर्थे । उनको व्यापारिक वाहनमाथि विद्रोहीहरूले आक्रमण गरेर परिवारसहित झन्डै ६० को हत्या गरेपछि हेमेद्तीले हतियार उठाएको उनका पूर्वसहायक मुहम्मद साद बताउँछन् ।
राष्ट्रपति बासिरले हमदानको मिलिसिया जन्जाविदलाई सीमा क्षेत्रमा हुने अनधिकृत क्रियाकलाप नियन्त्रण गर्ने अधिकारसहितको सीमा सुरक्षा बलको रूपमा प्रयोग गर्न स्वीकृति दिए । सन् २०१३ मा विधिवत् रूपमा ‘जन्जाविद’ र्यापिड सपोर्ट फोर्सेस(आरएसएफ) गठन भयो । अल–बासिरले यस फौजलाई सन् २०१७ मा सरकारको एक सैन्य दस्ताको दर्जा दिए । र, फौजका प्रमुख हमदानलाई लेफ्टिनेन्ट–जनरल पदवी दिए ।
सुडान एकपछि अर्को आर्थिक संकटमा पर्दा जनरल हमदान भने सुन व्यापारबाट देशकै सबैभन्दा धनीमध्ये एक बनेका छन् । ‘म पहिलो व्यक्ति होइन, जसको सुनखानीहरू छन् । हामीसँग सुनखानी भएको कुरा सही हो । हामीलाई सुनमा काम गर्न कुनै तागतले रोक्न सक्दैन,’ जनरल हमदानले बिबिसीसँगको एक अन्तर्वार्तामा भनेका थिए ।
पछिल्लो समय जनरल हमदानले यमन युद्धमा साउदी अरब र युएईको पक्षमा लड्न आफ्नो फौज पठाएपछि उनले थप शक्तिशाली मित्र बनाउन सफल भएका थिए । वर्षौंसम्म राष्ट्रपति अल–बासिरलाई समर्थन गरेका जनरल हमदानले आम जनमत बासिरविरुद्ध भएसँगै चटक्कै उनलाई छाडिदिए । अल–बासिरको बहिर्गमनको माग गर्दै प्रदर्शन भइरहँदा उनले राष्ट्रपतिविरुद्ध सेनाले गरेको ‘सफ्ट कु’लाई सघाए ।
सुरुमा सुडानी सेनाले हमदान नेतृत्वमा अर्धसैनिक बलको गठनलाई शंकाको नजरले हेरेको थियो । तर, सन् २०१९ मा आरएसएफले सुडानी सेनालाई पहिले बासिरविरुद्ध र पछि संक्रमणकालीन सरकार अपदस्थ गर्न सघायो । दुई सैन्य बल नजिकिए । सेनाकै स्वीकृतिमा जनरल हमदान सत्ता बाँडफाँडमा देशको दोस्रो वरीयताको पदमा राखिए ।
तर, पछिल्लो समय आरएसएफलाई देशको सेनामा समायोजन गर्ने विषयमा सेना र आरएसएफबीच विवाद पुनः सतहमा आयो । विवाद त्यतिबेला चर्कियो जतिबेला जनरल हमदानले आफ्नो फौजलाई राजधानीमा परिचालन हुन आह्वान गरे । यही कार्यबाट बढेको तनाव दुई सैन्य समूहबीच भिडन्तमा बदलिएको छ ।
देशको सेनासँगको प्रत्यक्ष भिडन्तलाई अहिलेसम्मकै ठूलो चुनौतीको रूपमा हेरिएको छ । ‘यो मान्छे अपराधी हो,’ सुडानी सेना प्रमुख तथा देशका वर्तमान शासक जनरल अब्देल फताह अल–बुरहानले जनरल हमदानबारे टिप्पणी गरे । सुडानका पहिलो र दोस्रो वरीयतामा रहेका यी दुई सैन्य अधिकारी अब शत्रुमा बदलिएका छन् । सेनाले हमदानलाई ‘विद्रोही’को संज्ञा दिएको छ ।
शनिबारको भिडन्तअघि हमदानले प्रजातन्त्रको धेरै उल्लेख गर्न थालेका थिए । यहाँसम्म कि उनले सन् २०२१ को अक्टोबरमा तत्कालीन संक्रमणकालीन नागरिक सरकारविरुद्धको कुलाई समेत गल्ती भन्न थालेका थिए । तर, उनको पछिल्लो बोली परिवर्तनका बाबजुद डार्फर क्षेत्रमा विद्रोहीविरुद्ध उनको फौजले गम्भीर मानव अधिकार हनन गरेको आरोप छ । सन् २००३ मा सुरु भएको द्वन्द्वमा झन्डै तीन लाखको ज्यान गएको थियो ।
सन् २०१९ मा सेनाको हस्तक्षेपले अल–बासिरको बहिर्गमन भएपछि पनि पूर्ण नागरिक सरकारको माग गर्दै आन्दोलन चलिरह्यो । दुई महिनापछि जुन २०१९ मा जनरल हमदानको फौजले तत्काल नागरिक शासनको माग गर्ने प्रदर्शनमाथि बल प्रयोग गर्यो । घटनामा कम्तीमा ११८ जनाको हत्या भयो । यी विगतका आधारमा धेरैले आरएसएफ र सुडानी सेनाबीचको पछिल्लो संघर्षलाई प्रजातन्त्रका लागि नभएर हमदानको व्यक्तिगत महत्वाकांक्षाका लागि भएको द्वन्द्व मानेका छन् ।