१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

साढे तीन वर्षअघि सम्पन्न हुनुपर्ने पक्की पुलको निर्माणले अझै गति लिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२५:oo

काभ्रे र मकवानपुर जोड्न बागमती नदीमा बन्ने पुलको निर्माण अति सुस्त, ६ वर्षमा एउटा पिलर बन्यो

सम्झौताअनुसार समयमै काम सकिएको भए साढे तीन वर्षअघि नै काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्की पुल बनिसकेको हुन्थ्यो । तर, काममा ढिलासुस्ती हुँदा साढे तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने पुलको प्रगति करिब १० प्रतिशत मात्रै छ । निर्माण थालिएको ६ वर्षसम्म जम्मा एउटा पिलर मात्रै ठड्याइएको छ । समयमै पुल नबन्दा स्थानीयले दुःख पाएका छन् । 

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ र मकवानपुर जिल्लाको बागमती गाउँपालिका–५, सिक्रेदोभानको पक्की पुल निर्माणका लागि ३० असार ०७४ मा ठेक्का सम्झौता भएको थियो । जम्मा एक सय १५ मिटर लम्बाइको पक्की पुल निर्माणका लागि महावीर÷शिखर÷तामाकोसी जेभी कम्पनीले ठेक्का पाएका थिए । उक्त पुल ३० भदौ ०७६ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरबाट ०७३ मा बोलपत्र आह्वान भएर पुल निर्माण कार्य अगाडि बढेको थियो । 

‘तत्कालीन जिविसबाट ठेक्का आह्वान गरेर पुल निर्माण सुरु गर्दै गर्दा ठेकेदार थाहा नगरपालिकामा उपमेयर उठे र जिते पनि । त्यसपछि केही दिन विजयजुलुस र शुभकामना थाप्दैमा ठिक्क भयो,’ खोनीखोलाका स्थानीय रमेश तिमल्सिनाले भने, ‘त्यसपछि ठेक्का लगाउने जिविस खारेज भएर जिल्ला समन्वय समिति बन्यो । ठेक्काको पैसा कसले दिने भन्नेमा अन्योल भयो । करिब १० प्रतिशत काम भएको छ, तर अहिलेसम्म रकम नपाएको सुन्नमा आएको छ ।’

भुक्तानीका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी महावीर÷शिखर÷तामाकोसी जेभीले जनाएको छ । माटो परीक्षण गर्दाको वस्तुगत स्थिति र इन्जिनियरको डिजाइन मेल नखाँदा पनि काम गर्न असहज भएकाले पुल निर्माण कार्य ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिए । 

सिक्रेदोभानमा बागमती खोलाको किनारसम्म दुवै जिल्लातर्फबाट कच्ची सडक पुगेको छ । तर, पुल नबन्दा त्यहाँका स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल नबन्दा खानीखोला गाउँपालिकाको समृद्धि नै रोकिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले बताए । उक्त पुल खानीखोलाका स्थानीयको दैनिक जीवनसँग जोडिएकाले तत्काल निर्माण हुनुपर्नेमा थिङको भनाइ छ । ‘सिक्रेदोभानको बागमतीको पुलसँग खानीखोला गाउँपालिकाको दैनिक जीवन जोडिएको छ । यहाँका स्थानीयले नुनदेखि सुनसम्म हेटौँडाबाट ल्याउने गर्छन् । यहाँका जनतालाई सुख दिन पुल बन्नुपर्छ,’ पालिका अध्यक्ष थिङले भने, ‘तत्काल समस्याको समाधान गरेर पुल निर्माणमा लाग्नुपर्छ ।’

उक्त पुल बन्दा खानीखोला मात्र नभएर महाभारतका गाउँपालिकाका स्थानीयलाई पनि सहज हुने पालिका अध्यक्ष थिङले बताए । उक्त पुल बनेपछि स्थानीय उत्पादनलाई बजार लान पाउने र बजारबाट उपभोग्य वस्तुहरू आयात गर्न पाउँदा स्थानीयको जीवनस्तर उक्सने थिङले बताए । उक्त पुलले प्रदेश राजधानी हेटौँडा दुई घन्टामै पुग्ने उनले बताए । पुल बनेमा स्थानीय उत्पादनले बजार पाउने, खाद्यान्न ढुवानी, आकस्मिक उपचार सेवालगायतमा सहज हुनेछ । 

ad
ad