१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्री र युरोपियन युनियन राजदूत एमएस नोनीबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३२:oo

अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियनका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारे छलफल भएको हो । 

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ । युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए । युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले जानकारी दिए । 

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न युरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ । 

एनआरएनएसँग भेट
शुक्रबार नै अर्थमन्त्री डा. महतले गैरआवासीय नेपालीसँग पनि भेटवार्ता गरेका छन् । भेटमा एनआरएनएका प्रतिनिधिले ज्ञापनपत्रमार्फत आफ्ना समस्या राखेका थिए ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरू राखेका थिए । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यावहारिक कठिनाइ भएको बताए ।

भेटमा डा. महतले नेपालमा लगानीको समस्या रहेको र सरकार जहिल्यै एनआरएनएको साथमा रहेको बताए । उनले भने, ‘सरकारले एनआरएनएलाई निराश हुने गरी काम गर्दैन, लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन ।’ लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत सम्बोधन गरिने मन्त्री डा. महतले आश्वासन दिए । भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जनभन्दा बढी सहभागी थिए ।

ad
ad