घरेलु टोली गौरीगंगा ११ स्पोर्टस् क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा गौरीगंगाले डोटी क्लबलाई ३–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । खेलको ११औँ मिनेटमा हेरी सिंहले आयोजकलाई १–० को अग्रता दिलाए । डोटीले पहिलो हाफ सकिन पाँच मिनेटअघि खेल १–१ को बराबरी गर्यो ।
खेलको ४०औँ मिनेटमा गणेश लुहारले डोटीलाई बराबरीमा ल्याएका हुन् । खेलको ७६औँ मिनेटमा डिबक्सभित्र डोटीका खेलाडीले विपक्षीलाई फल गरेपछि गौरीगंगाले पेनाल्टी पाएको थियो । जसलाई दिनेश थापाले गोलमा परिणत गर्दै २–१ को अवस्थामा राखे । खेलको ८१औँ मिनेटमा जनक साउदले गौरीगंगालाई ३–१ को बलियो स्थितिमा राखे । उनी नै खेलका म्यान अफ दी म्याच भए ।
विजेताले दुई लाख पाउने
३० चैतसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस, एपिएफसँगै विभिन्न जिल्लाका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले मंगलबार प्रतियोगिताको उद्घाटन गरे ।