
बागलुङमा जारी कालिका कप खुला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा गलकोट घुम्टे क्लबलाई ३–२ सेटमा हराउँदै पुलिसले जित हात पारेको हो ।
चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेल २–२ सेटमा बराबरी भएको थियो । अन्तिम सेटमा गलकोटले नाै स्कोर प्राप्त गर्दा पुलिसले १५ पुर्याउँदै उपाधि चुमेको हो । पुलिसले बिहीबार हिललाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा तय गरेका थिए ।
पहिलो सेमिफाइनलमा पुलिसले ३–१ सेटमा जित हात पारेको हो । त्यस्तै, दोस्राे खेलमा गलकोट घुम्टे क्लबले पनि हिललाइट निलोलाई ३–१ कै सेटमा पराजित गरेको थियो । दुवै खेल बेस्ट ५ मा खेलाइए पनि दुवै खेल ४ खेलमा टुंगिएका थिए ।
त्यसअघि भएका क्वार्टरफाइनलको खेलमा हिलसाइट निर्माण सेवा निलोले निर्माण व्यवसायी संघ बागलुङलाई सोझो दुई सेटमा जित निकालेको थियो । चैतेदसैँ मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १३ टिमले भाग लिएका थिए ।
खेलमा पहिलो भएको पुलिसले तीन लाख, दोस्राे गलकोट घुम्टेले एक लाख ५० हजार, तृतीय हिलसाइड निलोले ७० हजार र सान्त्वनास्वरुप हिलसाइड सेतोले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।