१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत १६ बिहीबार १२:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवाका व्यवसायीको चेतावनी- अब पनि विमानस्थल नियमित सञ्चालनमा नआए भैँसी चराउँछौँ 

Read Time : > 1 मिनेट
२०७९ चैत १६ बिहीबार १२:१८:००

भैरहवाका उद्याेगी–व्यवसायीहरूले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

गत २ जेठमा प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेको विमानस्थल १० महिना बितिसक्दा पनि सञ्चालनको तप्परता नदेखाउँदा यहाँका पर्यटन व्यवसायी आक्रोशित बनेका छन्। 

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई आधार मानेर विश्वका बौद्धमार्गीहरूलाई लुम्बिनीसम्म ल्याउने उद्देश्य राखेर निर्माण गरिएको विमानस्थलमा अहिले जजिरा एयरलाइन्सले मात्रै उडान गर्दै आएको छ । जजिराले पनि नियमति उडान गर्न सकिरहेको छैन। 

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन तथा पर्यटन प्रवर्द्धनका लागि छलफल कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले नागरिक उड्यन प्राधकिरण र नेपालका एयरलाइन्सहरुले भैरहवा विमानस्थल सञ्चालनमा असहयोग गरेको आरोप लगाए। 

अब पनि नियमित सञ्चालनमा नआए आन्तरिक उडान अवरुद्ध हुने गरी रनवेमा सुत्नेदेखि लिएर विमानस्थलको खाली जग्गामा भैँसी चराउनेसम्मका आन्दोलनका कार्यक्रम गर्ने उदोग व्यापार संगठनका निर्वतमान अध्यक्ष नारायण भण्डारीले चेतावनी दिए। 

कार्यक्रममा पर्यटन व्यवसायी सञ्जय बजिमयले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक थिएन भने अर्बौँ लगानी किन गरेको ? भन्दै प्रश्न गरे। विमानस्थल सञ्चालनमा नआउँदा रुपन्देहीका व्यवसायी सडकमा आउने वेला भएको उनले बताए। यदि सरकार अझै पनि मौन बसेमा भैरहवामा ठूलो आन्दोलन हुने उनले चेतावनी दिए।
 
नागरिक उड्यन प्राधिकरणले नै विमान अभावका कारण भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्नु हास्यापद भएको पर्यटन व्यवसायी सागर अधिकारीले बताए। प्राधिकरणका केही पदाधिकारी र एयरलाइन्सहरूले भैरहवाबाट उडान गर्नै नचाहेको अधिकारीले बताउँछन्। 

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानेर पर्यटन व्यवसायीहरूले अर्बाैँ लगानी गरेका छन्। सरकार मौन छ। अब यस्तै रहे सरकारले नसोचेको क्षति व्यहाेर्नेछ,’ सिद्धार्थ होटेल एसाेसिएसनका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले भने। 

विभिन्न बहाना बनाएर विमानस्थल सञ्चालनमा आउन नसक्नु सरकारको कमजोरी भएको होटल तथा रेस्टुरेस्ट व्यवसायी  संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले बताए। 

‘सरकारले जग्गा बिक्री गर्दा त चारकिल्ला तोकेर मात्रै बिक्री गर्छ भने अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा छिमेकी मुलुकसँग समन्वय नगरी कसरी बन्यो ?’ भन्दै उनले प्रश्न गरे। अब पनि विमानस्थल सञ्चालनमा नआए विमानस्थलको गेट खोलेर भैँसी चराउने स्थानीय समाजसेवी कमला थापाले चेतावनी दिइन्।  

विमानस्थललाई आधार मानेर रुपन्देहीमा अर्बौँ रुपैयाँ पर्यटन क्षेत्रमा लगानी भएको बताउँदै उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले अब कुरेर बस्ने अवस्था नरहेको बताए। उनले भने, ‘कति समय कुर्ने ? एउटा आशा त हुन्छ नि !  सबै आशाहरू मरेपछि अन्तिम विकल्प भनेको सडक नै रहेछ।’ 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेयले स्वदेशका विमान कम्पनीहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न नचाहेको बताए।

‘आफ्नै देशको प्रचार पहिला स्वदेशी विमान कम्पनीहरूले गर्नुपर्ने हो। तर, उनीहरूले चाहेका छैनन्,’ उनले भने, ‘स्वदेशी विमान कम्पनीहरूले राम्रो सन्देश दिने हो भने विदेशी कम्पनीहरू आफैँ आउँछन्। बरु काठमाडौंको आकाशमा सात फन्का घुमाउन तयार छन्, दिल्ली फिर्ता लगेर ल्यान्ड गर्न तयार छन्, तर भैरहवा आउन चाहेका छैनन्।’ 

कार्यक्रममा रुपन्देहीेका विभिन्न संघसंस्थाका प्रमुख, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, मर्निङ वाक समूहका संस्थापक अध्यक्ष ओमकार गौचन, इँटा व्यवसायी संघका अध्यक्ष अजय गुप्ता, लुम्बिनी होटेल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवाली, होटेल तथा रेस्टुरेस्ट व्यवसायी संगठनका महासचिव राजेश मलहोत्रालगायतले विमानस्थल सञ्चालनमा नआउँदा परेको समस्याबारे धारणा राखेका थिए।