
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए।
कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए। पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने उनको तर्क थियो।
उनले भने, ‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरै कुरा जोडिएको छ । बागमती सभ्यता जोगाउन खोज्दै छौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसका लागि हिजो मात्रै अनुरोध गरेकाे थिएँ, पहिला भएका सम्पत्ति जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
मेयर साहले न्याय माग्न ११ दिन हिँडेर काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभूति जनतालाई दिन सक्नुपर्ने बताए।