
उपाधि दाबेदार सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोसी प्रदेशले ललितपुर मेयर राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा कोसीले बलियो सुदूरपश्चिमलाई नौ विकेटले पराजित गर्यो । जितसँगै तीन खेलबाट चार अंक जोडेको कोसी दोस्रो स्थानमा छ ।
चार खेलमा चार अंक जोडेको सुदूरपश्चिम नेट रनरेटमा तेस्रो स्थानमा झर्यो । सुदूरपश्चिमले सबै खेल खेल्यो । तीन खेलबाट शतप्रतिशत जित निकालेको एपिएफले ६ अंक बनाएको छ । एपिएफले शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिम र कोसीमध्ये एक टोली फाइनलमा पुग्नेछन् । अन्तिम खेलमा एपिएफले ललितपुर तथा कोसी र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । शनिबार फाइनल खेल हुनेछ ।
यसअघि, ललितपुर ११ लाई सात विकेटले हराएको कोसी एपिएफ क्लबसँग सात विकेटले पराजित भएको थियो । ललितपुरलाई ५१ रन तथा मधेस प्रदेशलाई सात विकेटले सुदूरपश्चिमले पाखा लगाएको थियो । सुदूरपश्चिम एपिएफसँग १५ रनले पराजित भएको थियो ।
काजोल र रुबिनाको बलियो साझेदारी
कप्तान रुबिना क्षेत्री र ओपनर काजोल श्रेष्ठले ७३ रनको साझेदारी गरेपछि कोसीले प्रतियोगितामा दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले प्रस्तुत गरेको ८३ रनको लक्ष्य कोसीले १५.३ ओभमा मात्र एक विकेट गुमाउँदै भेट्टाएको थियो । काजोलले ५० बलमा पाँच चौकासहित अविजित ४० रन बनाइन् । कप्तान तथा प्लेयर अफ दी म्याच रुबिनाले २८ रन जोडिन् । कोसीले अतिरिक्त ११ रन प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।