मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मेचीनगर– ६ स्थित मन्दिरपरिसरको डाँडाको अलपत्र भ्यु टावर 
२०७९ चैत १३ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

असफल भ्यु टावर योजना : कोसी सरकारले हात झिक्यो, मेचीनगरको ६५ लाख डुब्यो

Read Time : > 1 मिनेट
२०७९ चैत १३ सोमबार ०६:५५:००

भ्यु टावरका नाममा झापाको मेचीनगर नगरपालिको ६५ लाख रुपैयाँ खेर गएको छ । शिवालय मन्दिरपरिसरको डाँडामा ३३ मिटर अग्लो भ्यु टावर बनाएर विदेशी पर्यटक तान्ने महत्वाकांक्षी योजना तुहिएपछि नगरपालिकाको लगानी खेर गएको हो ।

 चार करोड ५३ लाख लागतको भ्यु टावर ०७८ असारमा शिलान्यास भए पनि कोसी प्रदेश सरकारले हात झिकिदिएपछि फाउन्टेसन र रडमा खिया लाग्न थालेको छ । भ्यु टावरको २० प्रतिशत काम गरेबापत मेचीनगरले कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिलाई ६५ लाख भुक्तानी दिइसकेको छ ।

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीका अनुसार नगरपालिकाले क्रमागत योजनाका रूपमा अघि सारेपछि प्रदेश सरकारले हात झिकेको हो । ‘प्रदेश सरकारले क्रमागत योजना हालेको रहेनछ । ०७७/७८ मा ठेक्का लगाउँदैमा समय सकियो । पछि बहुवर्षेमा प्रदेशले बजेट नदिएपछि भ्यु टावर योजना नै रोकियो,’ उनी भन्छन्, ‘अब मेचीनगरले मात्र यो टावर बनाउन सक्दैन ।’

मेची नगरका तत्कालीन मेयर विमल आचार्यको पालामा अघि सारिएको भ्यु टावर निर्माणमा नगरपालिकाको ३० प्रतिशत र कोसी सरकारको ७० प्रतिशत लगानी भनिएको थियो । सोहीअनुसार ०७८ मंसिरभित्र टावर निर्माण गरिसक्ने भन्दै ०७७ मंसिरमा कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिले ठेक्का पाएको थियो । तर, पछि भ्यु टावर क्रमागतमा सारिएपछि प्रदेश सरकारले बजेट दिएन ।

चार करोडको योजना नगरपालिका एक्लैले बनाउन नसक्ने भन्दै चालू आवमा बजेट विनियोजन भएको छैन । मेयर बुढाथोकी नीतिगत हिसाबले अर्कमन्यताको उपजका कारण रकम डुबेको बताउँछन् । ‘करोडौँ रुपैयाँ भ्युटावरमा लगाउने हाम्रो सामथ्र्य छैन,’ उनले भने, ‘पैसा नभएर विद्यालयका छाना फेर्न सकेका छैनौँ । किसानका साना समस्या समाधान गर्न सकेका छैनौँ ।’ अब प्रदेशले सहयोग गरेमा मात्र भ्यु टावर बन्ने उनी बताउँछन् ।

मेचीनगरका पूर्वमेयर विमल आचार्य भने भ्यु टावर निर्माणको निर्णय गलत नभएको जिकिर गर्छन् । ‘भ्यु टावर बनाएर त्यहाँबाट नेपाल, भारत, बंगलादेशको विभिन्न दृश्य देख्न सकिन्छ । पर्यटक आएर होटेलमा मात्र बसेर त हुँदैन । त्यहाँ पार्क पनि थियो । त्यही भएर भ्यु टावर निर्माण गर्ने निर्णय गर्‍यौँ,’ उनले भने, ‘सुरुमा केही प्राविधिक त्रुटि देखियो । त्यसलाई सच्याउन प्रदेशको अस्थिर सरकारका कारण समस्या भयो । प्राविधिक त्रुटिलाई मिलाएर फेरि निर्माणको काम अघि बढाइदिनुपर्छ ।’ स्थानीय दिलबहादुर थापा भ्यु टावर बन्ने विश्वास नभएको बताउँछन् । ‘भ्यु टावर हाम्रा लागि उपयोगी होइन, तर नगरपालिकाले खर्च गर्नकै लागि योजना अघि सारेको थियो, अब नबन्नेजस्तै भयो,’ उनले भने ।