मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ११ शनिबार ०८:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपप्रधानमन्त्री र गृहसहित तीन मन्त्रालय र एक मुख्यमन्त्री एकीकृत समाजवादीको बटमलाइन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ११ शनिबार ०८:४१:००

एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा मुख्यमन्त्री पाउनुपर्ने विषय ‘बटमलाइन’ बनाएको छ । यसबाहेक १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रमध्ये एउटा आफ्नो दलले पाउने गरी छलफल गरिनुपर्ने समाजवादीको माग छ । 

सरकारलाई विश्वासको मत दिएका पहिलो, दोस्रो, तेस्रो र चौथो दलले पहिलो चरणमा सम्मानजनक शक्ति बाँडफाँट गरिसकेकाले अबको शक्ति बाँडफाँटमा मन्त्रालय रोज्ने आफ्नो पालो आएको एकीकृत समाजवादीको दाबी छ । आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री पाउँदा मात्र सम्मानजनक शक्ति बाँडफाँट हुने समाजवादीले तर्क गरेको छ । 

सत्तारूढ गठबन्धनभित्र कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, रास्वपाले उपसभामुख र जसपाले उपराष्ट्रपति पद लिएका छन् । अध्यक्ष माधव नेपालले यही सेरोफेरोमा केन्द्रित रहेर शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घन्टा छलफल गरेका छन् ।

‘अहिले हाम्रो जोड सरकारको न्यूनतम साझा कार्यक्रममा छ, पहिले हाम्रा प्रस्ताव कार्यक्रममा समेट्नुपर्‍यो, कार्यक्रममा कुरा मिल्यो भने त्यस आधारमा मन्त्रालय लिने हुन्छ, मन्त्रालय रोज्ने पालो हाम्रो हो भनिसकेकाले अध्यक्ष कमरेडले यही सेरोफेरोमा कुराकानी गर्नुभएको छ,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘कुरा मिले हामी सरकारमा जान्छौ,ँ तर प्रधानमन्त्रीको गृहकार्य हेर्दा सरकार विस्तारले एकदेखि दुई हप्ता समय लिने देखिएको छ ।’

उपमहासचिव खतिवडाले उपनिर्वाचनमा पनि आफ्नो पार्टीले एउटा क्षेत्र पाउनुपर्ने विषय उठेको बताए । ‘हाम्रोतर्फबाट हामीले त्यसमा अनौपचारिक छलफलमा जोड दिएकै छौँ,’ खतिवडाले भने । 

शुक्रबारै सम्मानित नेता झलनाथ खनालले गृहजिल्ला इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका कुनै एक क्षेत्र पाउनुपर्ने बटमलाइन प्रस्ट्याएका छन् । उपनिर्वाचन हुन लागेका बारा २, तनहुँ १ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाउँमा आफ्नो पार्टीले साझा रूपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उनको भनाइ छ । 

यी चासो हल नभए एकीकृत समाजवादी सरकारबाहिरै रहन सक्ने खनालको भनाइ छ । ‘संघीय सरकारमा तीन मन्त्रालय र संघीय संसद्मा रिक्त बारा २, चितवन २ र तनहुँ १ मध्ये एक सिटमा सहमति नभए सरकारबाहिरै रहन्छौँ,’ उनले भने । 

अध्यक्ष नेपालले पनि शुक्रबारको भेटवार्तामा आफूले केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि गठबन्धन नछाडेको स्मरण गराउँदै उपप्रधानसहित गृह मन्त्रालय र अरू दुईवटा मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । त्यस्तै, बागमती र प्रदेश १ मध्ये कुनै एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने प्रस्तावसमेत राखेका छन् ।