१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार o६:४८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार o६:४८:oo

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् । राष्ट्रपति कार्यालयले नयाँ राष्ट्रपतिको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको छ । सोही समारोहबाट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । भण्डारीको पाँचवर्षे कार्यकाल आइतबार सकिएको छ । 

पौडेल २५ फागुनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै देशको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । पौडेलको स्वागत तथा भण्डारीको बिदाइको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता सागर आचार्यले बताए । ‘नयाँ सम्माननीयज्यू आउनुहुन्छ । त्योभन्दा अगाडि बिग सिक्स (६ जना अति विशिष्ट व्यक्ति) मञ्चमा बसिसक्नुभएको हुन्छ ।

नवनियुक्त राष्ट्रपति आएपछि २१ तोपको सलामी दिइन्छ । त्यसपछि शपथग्रहणको कार्यक्रम सुरु हुन्छ । निवर्तमान राष्ट्रपतिज्यूसँग कुर्सी साटासाट गर्नुहुन्छ । निवर्तमानले बधाई दिनुहुन्छ । नवनिर्वाचितले बिदाइ गर्नुहुन्छ । बिदाइमा निवर्तमान राष्ट्रपतिज्यूलाई पनि २१ तोपकै सलामी हुन्छ । त्यसपछि उहाँ आफ्नो निवासतर्फ लाग्नुहुन्छ । सम्माननीयज्यू आफ्नो पदबहालीतर्फ लाग्नुहुन्छ,’ आचार्यले भने । उनका अनुसार निवर्तमान राष्ट्रपतिको बिदाइपछि सम्माननीयको प्रोटोकलमा स–सम्मान निवाससम्म छोडिन्छ । 

कार्यक्रममा पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, दलका नेता, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, विदेशी कूटनीतिक नियोगका राजदूतलगायत १५ सयभन्दा बढीलाई आमन्त्रण गरिएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले बताइन्  ।