
कोसी प्रदेशको नामांकन विरोधमा चक्काचाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेकामध्ये दमकबाट आठ, बिर्तामोडबाट तीन र काँकडभिट्टाबाट दुई गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
कोसी प्रदेश नामांकन विरोध गर्दै पहिचानवादीले कोसी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजाति आन्दोलनमा उत्रिएका छन् ।
प्रदेश १ को पुनः नामांकन संघर्ष समितिले आइतबार चक्काजाम गरेको हो । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सडकमा बसेर यातायात बन्द गराउन खोजेपछि दमक चोकमा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।