पछिल्लो समय साइक्लिङ गर्ने सहरिया जमात बढ्दो छ । साइक्लिङले तपाईंलाई हृदयाघात, स्ट्रोक, डिप्रेसन, मधुमेह, मोटोपनलगायत रोगहरूबाट जोगाउँछ । साइक्लिङ गर्दा शरीरबाट पर्याप्त पसिना बग्छ र मस्तिष्कले पनि आराम महसुस गर्छ । सबै उमेरका मानिसले साइक्लिङ गर्न सक्छन् । तर, बालबालिकाका लागि साइक्लिङ अझै महत्वपूर्ण छ । उनीहरूको शारीरिक तथा मानसिक विकासमा साइक्लिङले ठूलो भूमिका खेल्छ । साइक्लिङ गर्दा खुट्टादेखि टाउकोसम्म अर्थात् समग्र शरीरको एक्सरसाइज हुने भएकाले उनीहरूको शारीरिक विकासमा सहयोग पुग्छ ।
आजकलका बालबालिका मोबाइल तथा ल्यापटपमा गेम खेल्न मात्रै व्यस्त हुन्छन् । एकै ठाउँमा बसेर मोबाइल हेर्दा आँखामा असर पुगिरहेको हुन्छ । आलस्य बढ्छ, त्यसैले बच्चालाई स्मार्ट राख्नका लागि साइक्लिङ सिकाउन जरुरी छ ।
बालबालिकालाई बिहान वा बेलुका कम्तीमा पनि सातामा दुईपटक साइक्लिङ गराउनु राम्रो हुन्छ । स्कुलबाट बच्चा घर आएपछि खाजा खुवाएर केही समयका लागि बाहिर खुला ठाउँ वा पार्कमा आफूसँगै साइक्लिङ सिकाउन लैजान सकिन्छ । यस्तो गर्दा उनीहरू प्रकृतिसँग घुलमिल हुन पाउँछन्, मानसिक रूपमा फ्रेस हुन्छन् । साइक्लिङ गर्ने ठाउँ भिडभाड नभएको, गाडीको आवतजावत नहुने र सुरक्षित भने हुनुपर्छ ।
विदेशमा बालबालिकालाई पाँच वर्षदेखि साइक्लिङ सुरु गराइन्छ । सुरुमा अभिभावकले हेन्डलिङ गर्न सिकाउँछन् । त्यसपछि उनीहरूकै साइजको साइकल किनेर साइड पांग्रा राखेर अभ्यस्त गराउँदै लैजान्छन् । बानी परिसकेपछि सुरक्षित स्थानमा बालबालिका आफैँले साइकल कुदाउन थाल्छन् ।
साइक्लिङ गर्दा निकै सचेत भएर गर्नुपर्ने हुन्छ । अन्य सवारी वा मानिस आए–गएको नियाल्नुपर्छ । खाल्डाखुल्डी हेरेर चलाउनुपर्छ । त्यसैले बच्चैदेखि साइक्लिङको अभ्यास गर्नु भनेको सचेत हुने कला सिक्नु हो । यो अभ्यासले भविष्यमा गएर बालबालिका हरेक कुरामा सचेत हुन्छन् । स्वस्थ बन्न सिक्छन् । आत्मनिर्णय लिन सक्छन् ।
बालबालिकालाई अभिभावकको निगरानीमा समूहमा राखेर साइक्लिङ सिकाउने गर्नुपर्छ । यसो गर्दा उनीहरूलाई अन्य मानिससँग घुलमिल हुने बानी पर्छ । साथी सर्कल बन्छ । बच्चाको दिनभरको आलस्य पनि हट्छ । स्मरणशक्ति पनि बढाउँछ । मांसपेशीलाई बोलियो बनाउँछ । बच्चालाई अझ बलियो बनाउन सहयोग पुग्छ ।
सानैदेखि बालबालिकालाई साइक्लिङ सिकाउँदा अरू नराम्रो कामतिर लाग्नबाट पनि रोक्न सकिन्छ । कुलतबाट टाढा राख्न सकिन्छ ।
साइक्लिङका फाइदा
बालबालिका मात्रै नभएर वयस्क र वृद्धवृद्धाले पनि साइक्लिङ गर्न सक्छन् । साइक्लिङले शरीरलाई फ्रेस राख्छ । यसका अन्य फाइदा यस्ता छन् :
रक्तचाप नियन्त्रण : साइक्लिङले रगतमा अक्सिजनको मात्रा बढाउने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । त्यस्तै, रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ ।
मांसपेशी मजबुत : साइक्लिङले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन सहयोग पुग्छ । शरीरको पछाडिपट्टिका हड्डी सक्रिय रहने भएकाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्छ ।
मोटोपन घट्छ : दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । त्यसैले साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि खासै फरक पर्दैन । मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन । तौल आफैँ नियन्त्रण भएर जान्छ ।
स्मरणशक्ति बढाउँछ : साइक्लिङ गर्ने व्यक्तिमा दिमागी शक्ति (ब्रेन पावर) बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने भएकाले मस्तिष्क विकासका लागि समेत यो निकै उपयोगी छ ।
(टमटा १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन्)