मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Thursday, 19 December, 2024
डा. पुकारचन्द्र श्रेष्ठ
२o७९ फाल्गुण २५ बिहीबार o६:४१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी बच्ने मिर्गौला रोगबाट ?

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल तथा मुटुका रोगीमा मिर्गौला रोगको उच्च जोखिम हुने भएकाले आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्नु जरुरी छ

Read Time : > 5 मिनेट
डा. पुकारचन्द्र श्रेष्ठ
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार o६:४१:oo

सदाझैँ यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाउने गरिन्छ । प्रत्येक १० जनामध्ये एकजनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांक छ । विश्वभर मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाउने गरिन्छ ।

 विश्व मिर्गौला दिवसको उद्देश्य मिर्गौलाको महत्व र यससम्बन्धी रोगहरूको रोकथामबारे जनचेतना जोगाउनु रहेको छ । यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशित रूपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । संसारमा आइपर्ने आपत्–विपत्, जस्तै– भूकम्प, बाढी, पहिरो, युद्ध, मौसमको चरम परिवर्तन तथा कोभिड–१९ जस्तो महामारीबाट समाजको जीवनस्तर तथा दिनचर्यामा ठूलो नकारात्मक असर पर्छ ।

यस्ता विपत्बाट मानवीय, भौतिक, आर्थिक र बातावरणीय क्षति तथा त्यसबाट पर्ने प्रभावबाट दीर्घरोगीमध्ये विश्वभरका करिब ८५ करोड मिर्गौला रोगीहरू स्वास्थ्य सेवाबाट प्रभावित भई उनीहरूको रोगको निदान र उपचारमै समस्या आउने गर्छ । नसर्ने रोगहरू, जस्तै– मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, फोक्सोका दीर्घकालीन रोग तथा मिर्गौलासम्बन्धी रोग अहिले संसारमै सबैभन्दा धेरै मृत्युको कारण तथा ठूलो स्वास्थ्य समस्याका रूपमा देखा परेका छन् । विशेषगरी यसको असर न्यून तथा मध्यम आय भएका देशमा बढी पर्ने गरेको छ । 

केही वर्षयता कोभिड–१९ को महामारीले स्वास्थ्य सेवा प्रवाहमा स्पष्ट चुनौती थपिएको छ । यसले आधारभूत स्वास्थ्य सेवालाई प्रभावित पारेको छ । विशेषगरी मिर्गौलासम्बन्धी रोगजस्ता नसर्ने रोगका कारण सम्पूर्ण समुदायमै धेरै असर परेको देखिन्छ । कतिपय दीर्घकालीन मिर्गौलाका रोगको निश्चित उपचार या निदान हुने र रोकथाममा खासै उपाय नभएका दीर्घकालीन मिर्गौलाका रोगीहरू अन्ततः मिर्गौला फेल भई अत्यन्त महँगो डाइलाइसिस र प्रत्यारोपण सेवामा जान बाध्य हुन्छन् ।

कोभिड–१९ जस्तो महामारीले गर्दा विश्वभरको स्वास्थ्य सेवा उथलपुथल ल्याएको छ । नसर्ने रोगमा आधुनिक जीवनशैलीले अझ चुनौती थपेको छ । राज्यको स्वास्थ्यमा न्यूनतम लगानीका साथै रोकथामभन्दा पनि उपचारमा बढी ध्यान जानु र मिर्गौला रोगभन्दा अन्य केही नसर्ने रोग, जस्तै– मुटुरोग, क्यान्सर आदिको मात्र उपचारमा विश्वले ५५ प्रतिशतभन्दा बढी ध्यान दिने गरेको पाइएको छ । मिर्गौला रोगका कारण यसमा अझ बढी भार थपिएको महसुस भएको छ । मिर्गौला रोगको रोकथामका लागि जनस्वास्थ्यको नीति निर्माणमा बढी महत्व दिनु आवश्यक छ ।

नियमित रूपमा हिँडडुल गर्ने, साइक्लिङ गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुन्छ । यसबाट उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा मद्दत पुग्छ र मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।
 

अप्रत्याशित रूपमा आइपर्ने आपत्–विपत्को तयारीमा मिर्गौला रोगीका लागि पनि महत्व दिनुपर्छ । बिरामीले पनि आपत्कालीन अवस्थाका लागि अत्यावश्यक सामग्रीका साथै खाद्य, पानी, औषधि तथा आवश्यक कागजात तयारी अवस्थामा राख्नु जरुरी छ । 

मिर्गौलालाई कसरी स्वस्थ राख्ने ? :  मिर्गौला अघोषित मृत्युको कारण हो, जसले तपाईंको जीवनस्तरमै गम्भीर असर पु¥याउन सक्छ । विभिन्न उपाय अवलम्बन गरेर आफ्नो मिर्गौला जोगाउन सकिन्छ । 

मिर्गौला बचाउन सबैभन्दा पहिले आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । जसले गर्दा सबैमा दीर्घकालीन मिर्गौला रोगको जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ । नियमित रूपमा हिँडडुल गर्ने, साइक्लिङ गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा तपाईंको तौल नियन्त्रण हुन्छ । यसबाट उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा मद्दत पुग्छ र मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ । 

हाम्रो खानामा नुन पर्याप्त हुन्छ । खानामा नुनको मात्रा पाँच–६ ग्रामभन्दा बढी हुनु राम्रो मानिन्न । आवश्यकताभन्दा बढी नुन थप्नु हुँदैन । प्रशोधित खानालाई सीमित गर्नुपर्छ । रेस्टुरेन्टको खाना कम गर्नुपर्छ । विश्वमा करिब आधाभन्दा बढी जनसंख्याले आफूमा चिनी रोग तथ्य नियमित चेकजाँच नहुँदासम्म थाहा पाएका हुँदैनन् । त्यसैले, हामीले आफ्नो शरीरको रगतमा चिनीको मात्रा कति छ भनेर जाँच गर्नु जरुरी छ । विशेषगरी ४० वर्ष पार गरेका र बुढापाकाका लागि यो जाँच महŒवपूर्ण छ । मधुमेह भएकामध्ये आधा जसको मिर्गौलामा समस्या हुने गर्छ । यसको रोकथामका लागि मधुमेह नियन्त्रणमा राख्नु जरुरी छ । मिर्गौलाको नियमित जाँचका लागि रगत र पिसाबको जाँच गर्नुपर्ने हुन्छ । 

उच्च रक्तचाप नियन्त्रणमा राख्नु पनि मिर्गौला रोगका लागि धेरै महत्वपूर्ण छ । विशेषगरी मधुमेह, उच्च कोलेस्ट्रोल तथा मुटुका रोगीमा मिर्गौला रोगको जोखिम उच्च हुन्छ । नियमित जाँच गर्दा रक्तचाप उच्च देखिएमा चिकित्सकसँग नियमित परामर्श गर्नु जरुरी छ र आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गरी आवश्यकताअनुसार औषधि सेवन गरेर उच्च रक्तचाप नियन्त्रण गर्न आवश्यक छ । 

शरीरलाई आवश्यक मात्रामा पानी पिउनु पनि मिर्गौला जोगाउने अर्को उपाय हो । आफ्नो शरीरको आवश्यकता शरीरिक व्यायाम, मौसम, गर्भावस्था तथा स्तनपान गराइरहेका व्यक्तिमा पानीको मात्रा घटबढ भइरहन्छ । साधारणतया दैनिक करिब दुई लिटर अर्थात् आठ कपजति पानी एउटा साधारण व्यक्तिका लागि जरुरी हुन्छ । 

धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले रगतको नसालाई साँघुरो बनाउँछ, जसले गर्दा विभिन्न अंग र मिर्गौलामा समेत रक्तसञ्चार कम हुने गर्छ । यसले गर्दा मिर्गौलाको कार्य क्षमतामा ह्रास आउने र क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशतसम्म वृद्धि हुन्छ । 

जथाभावी औषधिको सेवन विशेष गरेर नदुख्ने औषधिहरू (आइभोप्रोफिन समुदायका) औषधिले मिर्गौलालाई हानि पु¥याउँछन् । त्यसैले, चिकित्सकको सल्लाहविना यस्ता औषधि सेवन गर्नु हुँदैन । परिवारका कुनै सदस्यमा मिर्गौला रोगको इतिहास छ भने आफ्नो रक्तचाप, मधुमेह, मोटोपन आदिबाट टाढै रहनु बेस हुन्छ । साथै, प्रत्येक ६ महिनामा एकपटक मिर्गौला जाँच गरी स्वस्थ राख्ने बानी बसाल्नुपर्छ । अन्यले कम्तीमा वर्षको एकचोटि मिर्गौला जाँच गर्नु उपयुक्त हुन्छ । 

नेपालमा बर्सेनि करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको छ । हाल देशमा करिब पाँच हजारजनाको निःशुल्क तथा एक हजारजनाको सशुल्क हेमोडाइलाइसिस र तीन सयजनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा भएको करिब दुई हजार मिर्गौला प्रत्यारोपितमध्ये एक हजारभन्दा बढीको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा बाँकी एक हजारको देशका अन्य केन्द्र तथा छिमेकी मुलुकबाट प्रत्यारोपण भएको अनुमान छ । विपन्न नागरिकको औषधि उपचारअन्तर्गत राज्यले खर्च गर्ने तीन अर्ब रुपैयाँमध्ये झन्डै २० प्रतिशत रकम मिर्गौला रोगीका लागि मात्र खर्च हुने गरेको छ । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष अवधिमै एक हजारजनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ । तीमध्ये पनि ९९ प्रतिशत प्रत्यारोपणमा सफलता हासिल भएको छ । यो नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र नभई समस्त देशकै गौरव हो भन्दा अतिशयोक्ति नहोला । स्वास्थ्य सेवाको कुनै पनि विधामा सबैभन्दा जटिल, गहन, महँगो तथा चुनौतीपूर्ण कार्य भनेको अंग प्रत्यारोपणलाई मानिन्छ । 

यस अर्थमा यति छोटो अवधिमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपणको सुरुवात, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण, निःशुल्क डाइलाइसिस तथा मिर्गौला प्रत्यारोपणजस्ता कार्यका निम्ति नियम, कानुन, नीति योजना बनाउन नेपाल सरकारलाई सघाएकोबाट दीर्घकालीन फल प्राप्त हुँदै जानेमा दुई मत छैन । 

सन् २००८ तिर विश्व स्वास्थ्य संगठनको अध्ययनबाट नेपालजस्ता अल्पविकशित देशमा मिर्गौला फेल भएको व्यक्तिमध्ये ९० प्रतिशतभन्दा बढीले केही महिनामै मृत्यु वरण गर्छन् भन्ने प्रतिवेदनका बाबजुद आज केन्द्रमा भएको सेवाबाट मिर्गौला प्रत्यारोपण गरेकामध्ये ९८ प्रतिशत तथा डाइलाइसिसमा भएकामध्ये ९० भन्दा बढी बाँच्न सक्नु गौरवको विषय हो ।

नेपाली दाजुभाइ तथा दिदीबहिनी उपचारका नाममा विदेश जाँदाकोे भौतिक दुःख र महँगो सेवाबाट केही हदसम्म राहत पाउन सफल भएका छन् भने राष्ट्रको अर्बौं रुपैयाँ सञ्चित भएको छ । निःशुल्क मिर्गौला प्रत्यारोपण र डाइलाइसिस सेवा उपलब्ध हुँदा गरिब निमुखा दाजुभाइ तथा दिदीबहिनीको पहुँचभित्र यो सेवा पुग्न थालेको अनुभव हुन्छ । साथै, विदेशी नागरिकसमेत प्रत्यारोपण सेवाबाट लाभान्वित भइरहेको हुँदा संस्थाको विश्वसनीयतामा अभिवृद्धि हुँदै गएको आभास हुन्छ । 

देशमा मिर्गौला प्रत्यारोपणको आवश्यकता वार्षिक करिब तीन हजार भएको तथा केन्द्रले त्यसकोे करिब दुईतिहाइ अर्थात् दुई हजार जनाजतिको मात्र प्रत्यारोपण गर्न सक्ने क्षमता भएको हुँदा यसलाई तत्काल विस्तार गर्न तथा सातै प्रदेशमा प्रत्यारोपण सेवा सञ्चालन गर्न नेपाल सरकारले केन्द्रलाई जिम्मेवारी दिएको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र कर्णाली प्रदेशको सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु भइसकेको छ भने केही समयमा सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठनअन्तर्गत हेटौँडा अस्पतालमा प्रत्यारोपण सुरु गर्ने तयारी भइरहेको छ । पूर्वका कोसी प्रदेश तथा मधेस प्रदेशमा पनि क्रमशः प्रत्यारोपण सेवा विस्तार गर्ने योजना केन्द्रले बनाएको छ । 

स्थापनाकालदेखि एक सय बेडमा सञ्चालित यो केन्द्रको क्षमता हालै १५० बेडमा विस्तार गरिएको छ । सात सयजना बिरामी मिर्गौला प्रत्यारोपण र २० जना कलेजो प्रत्यारोपणको प्रतीक्षामा रहेका र मुटुको उपचारका लागि बेड नभएको हुँदा तत्काल विस्तार गर्न आवश्यक छ । 

केन्द्रको सेवा विस्तारका लागि स्थानको चरम अभाव भएको हुँदा नेपाल सरकारले उचित व्यवस्थापन गर्न पहल गरिरहेको भए पनि साकार हुन सकेको छैन । प्रत्यारोपण सीप हस्तान्तरण गर्न र सेवा विस्तार गर्न नेपाल सरकारले घोषणा गरेको यस केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अभियान जतिसक्दो छिटो कार्यान्वयन गर्नु आवश्यक छ । प्रत्यारोपण सेवाको विस्तार समयमै गर्न सके तीन करोड नेपाली दाजुभाइ, दिदीबहिनी तथा अंग फेल भएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिक र तिनका परिवार लाभान्वित हुन सक्छन् । 

(डा. श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन्)